विराटनगर- मोरङ जिल्लाको सुनवर्षी नगरपालिकामा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गर्दै यातना दिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनवर्षी–४ का स्थानीय देवनारायण बहरदार र चाँदनी बहरदारलाई सोही वडा निवासी २५ वर्षीया महिलालाई बोक्सी भन्दै यातना दिएको आरोपमा सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले जानकारी दिएका हुन्।
धामी झाक्रीसँग मिलेर देवनारायण र चाँदनीले पाँच दिनयता निर्घात कुटपिट गर्दै आएको प्रहरी निरीक्षक कार्कीले बताए। कुटपिट गर्ने दुवै जना पीडित महिलाकी जेठाजु र आमाजु हुन्।
पक्राउ गरिएका दुवै जनाविरुद्ध प्रहरीले बोक्सी आरोपको कसुरमा मुद्दा चलाउन सोमबार नै म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। त्यसैगरी, धामी झाँक्रीको काम गर्दै आएका जहदा गाउँपालिका–४ का २५ वर्षीय महादेव सहनी फरार छन्। उनको पनि खोजी थालिएको प्रहरीले जनाएको छ।
पीडित महिलामाथि विभिन्न तरिकाबाट दुर्व्यवहार गर्ने र यातना दिने काम भएको निरीक्षक कार्कीले बताए। उनका अनुसार गएको असोज १७ गते साँझ चाँदनीको घरमा धामी सहनीलाई बोलाएर चिन्ता राखिएको स्थानमा पीडित महिलालाई लगिएको थियो।
सोही क्रममा धामीले चिन्ता बस्ने क्रममा ती महिलालाई बोक्सी भएको बताएपछि, बहरदारको परिवारले निर्घात कुटपित गरेको प्रहरी निरीक्षक कार्कीले बताए। सो समय पीडित महिलामाथि बोक्सी हटाउने नाममा लाठी तथा हातखुट्टाले जथाभावी कुटपिट गरिएको बताइएको छ।
कुटपिटबाट पीडित महिलाको पाखुरा, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई जिल्ला अस्पताल रंगेलीमा उपचार गराएर तत्काललाई संरक्षणका लागि माइती पक्षको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
स्थानीय रतुवामाई नगरपालिका गोविन्दपुर माइती भएकी महिलाको ६ वर्ष अघि विवाह भएको थियो। दुई छोरा र एक छोरी रहेकी पीडित महिलाका श्रीमान् दैनिक ज्याला मजदुरीको काम गर्ने प्रहरीले जनाएको छ।
घटनाका बारेमा माइती पक्षले थाहा पाएर जानकारी गराएपछि प्रहरीले पीडित महिलालाई उद्दार गरेर उपचारका लागि रंगेली अस्पतालमा भर्ना गरेको प्रहरीले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































