
काठमाडौं– धादिङका ३९ वर्षिय रमेश दनैको उपचारमा लापरबाही भएर ज्यान गएको भन्ने समाचारको ग्राण्डी अस्पतालले खण्डन गरेको छ।
गत असोज १२ गते शनिबार हिप फ्र्याक्चर डिस्लोकेशन (पुठ्ठाको हाड भाँचिएको र खुस्किएको) हुनाले त्यसको शल्यकृया गरिएको ग्राण्डीले जनाएको छ । अस्पतालका अनुसार ११ गते राति अस्पतालको आकस्मिक उपचार कक्षमा ल्याइएका रमेश दनैलाई डा बिनोद बिजुक्छेको टिमले १२ गते शनिबार शल्यकृया गरेको थियो।
शल्यकृया पश्चात राम्ररी हिड्न सुरु गरेका रमेशको स्वास प्रशवासमा आएको समस्याका कारण पल्मोनरी इम्बोलिज्मको शंका गरी अस्पतालको सघन कक्षमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।
त्यसपश्चात मल्टिपल अर्गान फेल्युयरका कारणबाट आश्विन १९ गते शुक्रवार राती निधन भएको ग्राण्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले विज्ञप्ति मार्फत दाबी गरेका छन्।
रमेशको उपचारमा अस्पतालका तर्फबाट हर सम्भव प्रयास भएपनि बचाउन नसकेको र अस्पतालले बिरामी पक्षलाई कुनै क्षतिपुर्ति नतिरेको तर, मानवीय आधारमा उपचारमा लागेको खर्च मिनाहा गरिएको जानकारी गराएको छ।
जटिल अवस्थाका बिरामीहरुको उपचारकालागि समेत सक्षम रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले दाबी गरेको छ।