
मोरङ- मौसमी फेरबदलसँगै बालबालिकामा हातखुट्टा तथा मुखमा घाउखटिराको संक्रमण बढेर गएको कोशी अञ्चल अस्पताल विराटनगरले जनाएको छ।
विराटनगर महानगरपालिकामा अवस्थित अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. बिमल अग्रवालले केही समयदेखि बालबालिकामा ‘ह्यान्ड फुट एण्ड माउथ डिजिज’ देखापरेको जानकारी दिएका हुन्।
बालरोग विशेषज्ञ डा. अग्रवालका अनुसार प्रकोपको रुपमा बढेको रोगले १० वर्षमुनिका बालबालिकालाई बढीजसो प्रभावित गरेको छ। डा. अग्रवाल यसलाई नयाँ भाइरल संक्रमणका रुपमा लिन्छन्।
कोशी अञ्चल अस्पतालमा उपचारका लागि दैनिक आउने १ सय बालबालिकामध्ये १० जनामा यो संक्रमण देखिएको छ। बालचिकित्सकहरुका अनुसार यसले मुख वरिपरि, हत्केला, खुट्टा तथा पैतालामा रातो स–साना फोका तथा र्यास देखिने गरेको छ।
कोशीमा आएकामध्ये एक महिनाअघि दुई–चार जनामा देखिएको यस्तो संक्रमण पछिल्लो समय बढ्दै गएको डा. अग्रवालको भनाइ छ।
त्यसैगरी, अर्का बालरोग विशेषज्ञ डा. अरुण गिरीले संक्रमणका रुपमा बढ्दै गएको यसले बालबालिकामा केही समय समस्या उत्पन्न गराउने गरेको बताए।
एकैस्थानमा बालबालिका धेरै हुँदा चाँडै एक अर्कामा सर्ने वा संक्रमण हुने चिकित्सकहरुले जनाएका छन्। यसले गर्दा बालबालिकाको हत्केला, पैताला र मुखभित्र घाउ आउने, ज्वरो आउने, बालबालिकाले र्याल काढ्ने, खानेकुरा कम रुचाउने र रुने लक्षण रहेको डा. अग्रवालले बताए।
अग्रवालले संक्रमणका विषयमा भने, ‘यो संक्रमण एन्टोरो र कक्सिक नामक दुई वटा भाइरसका कारण बालबालिकामा सर्दछ, धेरैजसो बालबालिकाले खेल्ने खेलौना, लगाउने डाइपर सफा नहुँदा कपडासँगै सर्छ।’
यसका लागि विशेषगरी बालबालिकाको सरसफाईसँगै भीडभाडबाट अलग्गै राख्नुपर्नेमा ध्यान पुर्याउन उनीहरु जोड दिन्छन्। सामान्यता केहीदिन बालबालिकामा देखिने यस संक्रमण पछि आफैँ विस्तारै हट्दै जाने डा. अग्रवालले बताए।
‘यहा ठूलो रोग लाग्यो भन्दै अस्पताल, फार्मेसी पुगेर औषधि खुवाउनु पर्ने आवश्यकता देखिन्न,’ उनी भन्छन्। रातो–रातो दाग देखिनासाथ फार्मेसीमा परामर्श गर्दै अभिभावकहरुले ठेउला, दादुराझैँ औषधि खुवाउने गरेकोमा चिन्तित छन् डा. अग्रवाल। भन्छन्, ‘यो संक्रमण मौसममा देखिएको फेरबदलसँगै ८–१० दिनमा आफैँ हराएर जान्छ, त्यसैले आत्तिहाल्नु र औषधि खुवाइहाल्नुपर्ने स्थिति रहँदैन।’