
भारत केरलाको सबरीमला मन्दिरमा सबै उमेर समूहका महिलालाई प्रवेशको अनुमति दिने गरी सर्वोच्च अदालतले गरेको निर्णयको विरोधमा आन्दोलन भइरहेको छ ।
सबरीमला मन्दिरमा १० देखि ५० वर्षका महिलामाथि प्रवेशमा रोक लगाउने गरिएमामा केही समय अघि भारतको सर्वोच्च अदालतले अवैध घोषणा गरेको थियो ।
सर्वोच्चको फैसलासँगै मन्दिरमा सबै उमेर समूहका महिला प्रवेश गर्न पाउने भएका थिए । तर त्यस विरुद्ध केरलामा प्रदर्शन भइरहेको छ । महिलालाई मन्दिरमा प्रवेश दिने सम्बन्धमा सर्वोच्चको फैसलाको विपक्षमा उभिनेमा राज्यका कलाकारदेखि नेतासम्म रहेका छन् ।
विपक्षमा रहेका अभिनेता कोल्लम तुलसीले मन्दिर प्रवेश गर्ने दुष्साहस गर्ने महिलालाई ‘दुई टुक्रा’ पार्ने चेतावनी दिएका थिए । उनको यो भनाईले हिंसा भड्काएको भन्दै प्रहरीमा उजुरी दर्ता भएको छ ।
उनी सन् २०१६ को चुनावमा भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए । शनिबार तुलसीले आफ्नो भनाईप्रति माफी मागेका थिए । उनले आफ्नो भनाई फिर्ता लिएको पनि बताएका छन् । विशेष गरी कोचीमा सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन भइरहेको छ ।