
काठमाडौँ – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर ज्यान गुमाएका ९ जनाको शव भेटिएको छ ।
आइतबार बिहान खोजी टोलीले सबै ९ जनाको शव खोँचमा भेट्टाएको म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले देश सञ्चारलाई जानकारी दिए ।
उनले भने, ‘सबैको शव भेट्टिएको छ । अहिले संकलन गरेर शव आधार शिविरबाट तल गुर्जा गाउँमा ल्याएको छ । अब शव पहिचान गरी कागजी प्रक्रिया पूरा गरेर ८ वटा शव काठमाडौँ पढाइने छ । एकजनाको शव भने म्याग्दीकै बासिन्दाको रहेकाले यहिँ राखिनेछ ।’
आइतबार बिहान हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौजनाको शव सङ्कलन गरेका हुन् ।
प्रहरीका अनुसार असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिमआँधीमा परेर दक्षिण कोरियाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको छ ।
यसैगरी धवलागिरि गाउँपालिका–१ गुर्जाका २९ वर्षका नेत्रबहादुर छन्त्याल, सङ्खुवासभाको हटियाका ३९ वर्षीय छिरिङ भोटे, सङ्खुवासभाकै भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पा साङबु भोटे र सोलुखुम्बू घर बताउने फुर्वा भोटेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रेकिङ्ग क्याम्पस नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरू असोज २४ गते रातिको हिमआँधीमा परेका थिए । आधार शिविर पुगेको टोली सम्पर्कबिहीन भएपछि शुक्रबार गुर्जाका बासिन्दा आधार शिविरतर्फ गएका थिए ।
स्थानीय बासिन्दाको टोली आधार शिविर पुगेर शुक्रबार राति फर्किएपछि शनिबार बिहान मात्रै दुर्घटनाको बारेमा जानकारी भएको हो ।
बेनीबाट चार घण्टा गाडी र आठ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा गाउँबाट थप पाँच घण्टा हिँडेपछि आधार शिविर पुगिन्छ । पर्यटन विभागबाट ६० दिनको अनुमति लिएर उनीहरु गुर्जा हिमालको पहिलोपटक आरोहण गर्न आधार शिविर पुगेका थिए ।