अठोट र साधनाबाट आर्जित शक्तिपुञ्ज-९ : क्षमाकी प्रतिमूर्ति

‘वादी’ बाट सम्मानित नागरिक अनि प्रदेशसभा सदस्यसम्मको यात्रा

+
-

धनगढी— गरिबी, अशिक्षा र परम्पराका नाममा लादिएको यौन पेशाबाट ग्रस्त  समुदायका कुनै सदस्यलाई माथि उठ्न र मुक्तिका कुरा गर्न त्यति सहज थिएन।

ती रोगहरुले वास्तवमा समुदायलाई मूल्य, मान्यता र परम्पराका रुपमा जगडेका थिए। त्यसैले त्यसविरुद्ध आवाज उठाउन असहज र जोखिमपूर्ण दुवै थिए। र त्यो चुनौति थियो। तर उनको बालमस्तिष्कमा भरिएको चेतना, परिवार र पतिको निस्वार्थ अनि जोखिमयुक्त सहयोगले उनलाई सोचे भन्दा माथि पुर्‍यायाे ।

सभ्य समुदायको विकास भयो । लामो संघर्षपछि पहिले असहयोग गर्ने गाउँलेहरु सहयोगी बने । यौन पेशालाई छोडेरे महिलाहरु सीप मुलुक तालिम र कार्यमा संलग्न हुन थाले । महिलाले आफ्नो अधिकार उपभोग गर्न पाए।

बालबालिकालाई निःशुल्क शिक्षाको पहुँचमा पुर्‍याउने अभियानले तिव्रता पायो। विकासबाट सदियौँदेखि पछि परेको समुदायमा सरकारको ध्यान जान थाल्यो

यो समग्र संघर्ष र अभियानमा कैलालीकी उमा वादीका यस्ता धेरै परिचय स्थापित भएका छन्। त्यो पहिचानको मुलमा उनको अठोट र संघर्षको निरन्तरता छ।

अहिले उनी प्रदेशसभा सदस्य बनेकी छिन्। सुदूरपश्चिम प्रदेशसभाको बैठकपछि उनी भन्छिन्, ‘मेरो कर्तव्य र जिम्मेवारी अझै थपिएको छ। त्यसका लागि म तयार हुँदैछु।’

बाल्यकालमै विभेद

२०२० सालमा सल्यानमा जन्मिएकी उमा गरिबीका कारण दुई वर्षमा कैलाली छिरिन घरपरिवारसँगै । वादी समुदायकी उमाले छिमेकीसँगै विद्यालयमा विभेद सामना गर्नु पुर्‍याे। ‘म जिज्ञासु थिएँ, मनको कुरा पनि व्यक्त गर्न मन लाग्ने। तर मलाई कक्षा कोठामा पछाडि बसालिन्थ्यो। शिक्षकले वास्तै गर्नु हुन्थेन। वन भोजमा सहभागि हुन पाउँदैन थेँ। सरस्वती पूजामा टाढै राखिन्थ्यो । वादी भएकै कारण म अलगिएको थिएँ समाज र सबैतिरबाट ’, उमा आफ्नो अतीत सम्झिन्छिन्।

घर नजिकै सानो पसल थियो। सामान भन्दा पनि मानिसहरुका आँखा वादी युवती र महिलामा पर्थे । बिहानै गाउँमा माग्ने, नाचगान गर्ने र राती यौन पेशामा संलग्न हुनु पर्ने बाध्यता वादी महिलालाई थियो ।

त्यसलाई लिएर उमा बाल्यकालदेखिनै असन्तुष्ट थिइन्। वादी महिला किन यौन पेशामा ? किन उनीहरुले मात्रै इच्छा विपरित नाचगान गर्नु पर्ने ? किन उनीहरुले मागेर छाक टार्नु पर्ने ? किन विद्यालयमा हेपिनु पर्ने ? किन उनीहरुमाथि अछुत ? यस्ता प्रश्नहरुले उनलाई घोच्न थाले।

उनलाई लाग्यो वादी महिलामाथि अन्याय भइरहेको छ। त्यसविरुद्ध आवाज उठाउनै पर्छ, लड्नु पर्छ। उनले आफ्नो संर्घष यात्राको सुरुवाती चरण कोट्याइन्, ‘मलाई समाजिक कुरीतिविरुद्ध लड्न मन लाग्थ्यो। त्यसको नेतृत्व पनि मैले नै लिएँ । साथीहरुका अघि जर्वजस्ती धाराको पानी पिउँथे। त्यसपछि उनीहरुले कुरा लगाउँथे । अनि सबै मिलेर मलाई कुट्थे। आफुलाई चाही ठिकै गरेछु भन्ने लाग्थ्यो।’ मन्दिरमा पूजा गर्न खोज्दा पुजारीले लखेटेको पल उनको दिमागमा ताजै छ ।

युवाको साथ

तर ती सबै प्रयास बेकार भएनन्। विस्तारै उमाका पक्षमा आधा गाउँले उभिन थाले, खासगरी युवा। भारतमा काम गरेर फर्केका युवाले गाउँमा सामुदायिक सहयोग समिति स्थापना गरे, उपाध्यक्ष उमा भइन्। समितिले विभिन्न संघसंस्थासँग मिलेर स्थानीय महिलालाई सीपमूलक तालिम दिन थल्यो । हक अधिकारबारे सचेत गरायो।

सदियौँ देखिको यौन पेशा आफ्नो समुदायबाट विस्तापित गर्न थालेको आरोप उमामाथि लाग्यो। चेतनाको अभावमा र रुढीवादबाट ग्रस्त ‘वादी’ यौन पेशामा संलग्न कतिपय महिलाले नै उमाविरुद्ध षड्यन्त्र गर्न थाले । उमालाई गाउँ निकाला गर्नु पर्छ भन्ने आवाज उठाए ।

उमा किंचित विचलित भइनन्। उमाले वादी समुदायको विकासका लागि अन्य माग पनि उठाइन उनले। त्यसले आन्दोलनको प्रारुप बनायो। जन्म दर्ता नगर्ने र नागरिकता विहिन वादी समुदायलाई उमा संलग्न संस्थाले नागरिकता दिलाउने र जन्म दर्ता गराउने व्यवस्था मिलायो।

गाउँले कुरा काटिरहेका हुन्थ्ये उमाको । त्यसलाई छिचोलेर उनी अघि बढिरहिन्। आफ्नो गाउँका मात्रै हैन छिमेकी जिल्लाका वादी समुदायलाई एकत्रित गरिन । चेतनाको विस्तारसँगै आन्दोलनको आकार बढ्न थाल्यो।

समाजको बहिष्कार

अन्तरजातीय विवाह अहिले सहज बनेको छ। सरकारले अनुदानको घोषणा समेत गरेको यो विवाह गर्नेलाई। तर उमाका लागि त्यो सहज थिएन। संघर्षकै क्रममा बर्दियाका प्रेमराज भट्टसँग प्रेम गरिन्। परिवारले विवाह गर्न दिएन। भागेर विवाह गरे । प्रेमराजको परिवारबाट मात्रै होइन समाजबाटै लखटिए उनीहरु।

उमा र प्रेमराज कैलालीमै घर बनाएर बसे र संगै आन्दोलन गरे हरेक विषयमा। अन्तरजातीय विवाह गर्दा आफुले भोगेको पीडा उमाले अरुलाई भोग्न नदिने प्रण गरिन् र त्यसविरुद्ध पनि होमिन पुगिन उनी। सांसद भएपछि उनको परिवार धनगढीमा सरेको छ। ‘परिवारले स्वीकार नगर्दा लामो समय एक्लै बस्नु   पर्‍याे। अनेक संघर्ष गर्नु प¥यो ।’अहिले भने मैले बुहारीको दर्जा पाएको छु । छिमेकीले भने अझै कुरा काट्छन्’, उनी भन्छिन्।

आन्दोलनको नेतृत्व

कतिपय काम सरकारी तवरबाटै हुनु पर्ने थियो। कैलालीको लम्कीमा उनले चक्काजामको नेतृत्व लिइन् सरकारको ध्यान आफ्नो मागतर्फ तान्न। त्यसबाट सुनुवाइ भएन। २३ जिल्लाका वादी समुदायका प्रतिनिधि लिएर काठमाडौँ पुगिन्। राष्ट्रिय वादी अधिकार संघर्ष समिति गठन गरिन् ।

त्यसरी सुरु भयो करिब ५ सय वादीको सडक आन्दोलन। दिनहुँ प्रदर्शन, कहिले लाठी जुलुस त कहिले सिट्टी जुलुस निक्लियो उमाको नेतृत्वमा। कहिले धर्मशाला कहिले सडकमा बास थियो उनीहरुको। ४८ दिनको आन्दोलन निकै कष्टकर थियो।

अर्धनग्न भएर प्रदर्शन गरेपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शान्ति मन्त्री रामचन्द्र पौडेलले उनको टोलीलाई वार्तामा बोलाए। कोइरालाले भने, ‘तपाईहरुको क्षेत्रका वादीहरूलाई नेपालगन्जमा सार्छु।’ उनले भनिन’, नेपालगन्जमा मात्रै हैन, वादी समुदायको बसोबास देशभरी नै छ । सबैलाई अधिकार र समान सुखसुविधा दिनु पर्छ।’

त्यसपछि सरकार वादी समुदायले चाहेको थर र गोत्रको आधारमा आमाको नामबाट छोराछोरीलाई नागरिकता दिन, वादी समुदायका बालबालिकालाई उचित भरणपोषणसहित शिक्षाको व्यवस्था गर्न बाध्य भयो ।

अन्य समस्या समाधानका लागि अध्ययन टोलीले प्रतिवेदन बनाउन पनि सरकार र आन्दोलनकारीबीच सहमति भयो। सहमतिसँगै सरकारले आन्दोलनकारीलाई ३ लाख २९ हजार रुपैयाँ बस भाडा दिएर घर पठायो ।

‘काठमाडौँमा आन्दोलन गर्दा दुख पायौँ,’ उमा भन्छिन, ‘सरकार विरुद्ध आन्दोलन गर्नेलाई सरकारले नै भाडा दिएर पठाएको थियोे।’ सहमति पूर्ण रुपमा कार्यान्वयन भएको छैन। तर उमाको दबाव निरन्तर जारी छ।

प्रदेशसभा सदस्यको जिम्मेवारी

वादी समुदायको विकासका लागि उनले जे गर्न सक्थिन त्यो गरिन्। कतिपय काम नीतिनिर्माण तहमै पुगेर गर्नु पर्ने देखिन्। त्यसलाई कदर गर्दै नेपाली कांग्रेसले उनलाई समानुपातिक प्रदेश सभासद् बनायो।

‘म सांसद बन्छु भनेर आन्दोलनमा लागेकी थिइन। आफ्नै सर्त र सम्मानका आधारमा सबैको सेवा गर्ने प्रतिवद्धता मात्रै थियो उनको । तर, कांग्रेस पार्टीले त्यसलाई सकरात्मकरुपमा लिएर प्रदेश सभा सदस्य बनायो। समाचार पाउँला उनका आँसु झरे।

भन्छिन्, ‘सांसदको नाम टुङगो लागेको दिन र संसद् बैठकको पहिला दिन आफुलाई अझ बलियो महसुस गरे ।’ सांसद भएपछि उनको जिम्मेवारी झन बढेको छ र कार्यशैली झनै फराकिलो। मुलुकभरका वादी समुदाय र खासगरी महिलालाई अधिकार दिलाउने विषयमा उनले आवाज उठाइरहेकी छन्। सरकारले वादी समुदायका केही माग पुरा गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाई छ।

‘आमाको नामबाट नागरिकता दिन थालिएको छ । घरजग्गा आवास कार्यक्रम सुरु भएको छ । यी लगायत अन्य माग पुरा भए अझै बाकी छन्’, उनले भनिन, ‘अझै पनि कतिपय वादी समुदाय ओढारमा, खोलाको किनारमा, आरक्षमा बस्न बाध्य छन् । तिनको समस्या समाधानका लागि आन्दोलन जारी छ ।’

२०६५ पुस २३ गते मन्त्रिपरिषद् बैठकले यौन पेसामा लागेका वादी समुदायका महिलालाई आयआर्जन सहित पुनःस्थापित गर्ने निर्णय  गर्‍याे। तर निर्णय कार्यान्वयन अझै भइनसकेकोमा उनलाई चिन्ता छ । र त्यसका लागि उनको संघर्ष जारी छ । ‘संघर्ष गर्दा गर्दै कपाल फुल्यो, दाँत झर्न थाले ।’ उनले हाँस्दै भन्छिन्, ‘पहिले सडकमा आफुनो समुदायको विकासका लागि उत्रिए। सांसद बनेपछि सबैका समस्यामा ध्यान जान्छ।’ संघर्षले मानिसलाई परिपक्क बनाउँछ। आफ्ना लागि भन्दा अरुका लागि काम गर्न प्रेरित गर्छ। त्यो बुझाई र त्यसप्रतिको समर्पण नै उनको सबभन्दा ठूलो शक्ति बन्यो।

भन्छिन्’, मेरो संघर्ष जन्मेदेखिनै सुरु भयो विभेद विरुद्ध । वादी समुदायमा महिलामाथि जुन हिंसा र विभेद छ त्यो अरु समुदायमा पनि छ । अब म ती महिलाका लागि पनि लड्न चाहन्छु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?