काठमाडौं- भित्ताको घडीमा ९ बजेर ३० मिनेट जाँदा अस्ट्रेलियामा रहेका छोरालाई गणेशलाई प्रेमप्रसाद उप्रेतीले टीका लगाउने तयारी गर्दै थिए। बडादसैँको शुभ साइत ९ बजेर ५१ मिनेट जाँदा ल्यापटबाटै मन्त्र उच्चारण गर्दै छोरा बुहारी, नाति-नातिनालाई टीका र जमरा लगाइदिए उनले। छोरालाई स्काइपमै छोरी-बुहारीसहितका परिवारलाई दसैँको शुभ आशिर्वाद दिए। टीका लगाइसकेपछि उनी फ्रफुल्लित देखिन्थे।
उनी भन्दै थिए, ‘घरमा यसपटक छोरा-बुहारी टीका लगाउन विदेशबाट आएनन्। उनीहरु यहाँ आउन नपाए पनि हामीले त दसैँ स्काइपमै मनायौँ। नयाँ तरिकाको। खुसी नै छु। परिवारसँग बात मार्दै टीका लगाउन पाइयो। क्या गज्जब भयो। हामी त आनन्दित छौँ।’
यस्तै ठिमीका ऋद्धि बहादुर श्रेष्ठले पनि यसपालिको दसैँको टीका फेसबुकमार्फत यूकेमा रहेका आफ्ना छोरा बुहारीलाई लगाइ दिए। उनको टीका लगाउने सजिलो माध्यम बन्यो। फेसबुक उनी भन्छन्, ‘हामी त यसपाली फेकबुकमार्फत नै टीका थाप्यौ। छोरा-बुहारी र हाम्रो दसैँ यसपाला फेसबुक नै सहयोगी बन्यो। छोराको काम भएकाले आउन पाएनन्। त्यसकारण मोबाइ पठाइदिए। त्यही फोनबाट फेसबुक अन गरेर भिडियो कलिङ गरेर टीका लगाइदियौ।’
उनले भने ‘हामीले टीका लगाउँदा १२ बजिसकेको थियो। शुभ साइतमा त टीका लगाउन भ्यानौ। तर केही बेरको पर्खाईपछि हामीले छोरा बुहारीलाई टीका लगाइदियौ र आशिर्वाद दियौ।’