अ
+
अ
अ
-
धरान (सुनसरी) – धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ। मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन्। पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ।
निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन्। घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन्। फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने धरान उपमहानगरपालिका–१५ की दिलकुमारी तामाङले बताए।
हरेक बिहानको ७ बजे उनी घरबाट निकेतन गल्ली आइसक्नुहुन्छ। सोही गल्लीमा सुकुटी बेच्दाबेच्दै दिन बित्छ। बिहानदेखि बेलुका ८ः३० बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ।
तामाङले बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याउँछन् अनि आफैँ सुकुटी बनाउँछन्। त्यसलाई सुकाएपछि बेच्नका लागि तयार हुन्छ। आफूले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङ्कङ, बेलायतसम्म पुग्ने गरेको उनले बताए। निकेतन गल्लीमा सुकुटी बेच्दैँ भेटिएका उनले भने, “अलिक मेहनत गर्ने हो भने सुकुटीबाट मनग्ये फाइदा लिन सकिन्छ। धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरु पनि धेरै आउँछन्।”
तामाङले यसरी सुकुटीको व्यापार गर्न थालेको सात वर्ष बितिसक्यो। यही व्यापारबाट घरपरिवारको जीविकोपार्जन भइरहेको उनले बताए। सुकुटीको व्यापार हेर्दा सजिलो देखिए पनि बनाउन धेरै समय र मेहनत लाग्ने उनको अनुभव छ। मासु सुकाएर सुकुटी बनाउन दाउराको आगो प्रयोग गर्ने गरेको तामाङले बताए। पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उनको भनाइ छ। उनले भने, “मेहनतअनुसार कमाइ पनि राम्रै हुन्छ। दुःख गरेको खेर जाँदैन।”
ग्राहकले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुचिअनुसार अचार वा तरकारीका रुपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाइमा पर्ने गरेको तामाङले बताए। उहाँका अनुसार कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन्।
धरान–१५ की बिनिता गिरी सुकुटीसँगै सुकुटीबाटै बनेको अचार पनि बिक्री गर्छिन्। उनका अनुसार बजारमा अहिले सुकुटीको मूल्य प्रतिकेजी रु एक हजार छ सयदेखि तीन हजारसम्म पर्दछ। सुकुटीको गुणस्तरअनुसार मूल्य पनि फरक हुने गरेको उनको भनाइ छ।
सुकुटीको अचार प्रतिकेजी रु १२ सयदेखि १६ सयसम्ममा बिक्री हुने गरेको गिरीले जानकारी दिए। सुकुटीसँगै अचार बिक्री गरेर दैनिक रु २५ देखि ३५ हजारको कारोबार गर्दै आएको उनको भनाइ छ। सात वर्षदेखि सुकुटीको व्यापार गरिरहेकी गिरीले भनिन्, “मैले बनाएको सुकुटी धरान, झापा, काठमाडौँदेखि हङ्कङ, बेलायतसम्म पुगेको छ।”
धरानमा तामाङ र गिरी जस्तै सुकुटीको व्यापार गर्ने महिलाको सङ्ख्या बढिरहेको छ। पछिल्लो समय पुरुषको तुलनामा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन्। उनीहरुले राँगाको मासु किनेर घरमै सुकुटी बनाएर बेच्ने गरेका छन्। सुकुटीको व्यापारका लागि कतिले भानुचोक, निकेतन गल्लीमा पसल सञ्चालन गरेका छन् भने कतिपयले घरबाट पनि बिक्री गर्ने गरेका छन्।
धरानमा सुकुटीको व्यापार गर्ने महिला कति छन् र उनीहरुको कारोबारको स्तर कस्तो छ भन्ने यकीन विवरण पाउन मुस्किल रहेको स्थानीय बताउँछन्। धेरैले व्यक्तिगतरुपमा घरबाटै व्यापार गरिरहेका छन्। बजारमा बिक्री गर्न बसेका सँगको कुराकानीमा दैनिक धरानमा सुकुटीको लाखौँको व्यापार हुने गरेको बताउँछन्। सुकुटीको व्यापार गर्ने दिलकुमारी तामाङले भने, “एउटै पसलबाट रु २५र३० हजारको व्यापार हुन्छ। सबैको हिसाब गर्दा त लाखौँ पुग्छ नि!”
विगतका वर्षहरुको तुलनामा कोरोना महामारीपछि सुकुटीको व्यापार अलि कम भएको व्यापारीको भनाइ छ। व्यापारी गिरीले भने, “बजारमा सुकुटीको माग अलि खस्किए पनि अरु व्यवसाय जस्तो धेरै घटेको छैन। व्यापार गर्ने बढिरहेकाले सुकुटीको व्यापार फस्टाएकै छ।”
भर्खरै
लोकप्रिय
