नौरथा लागेदेखि भक्तपरको नेवार बस्तीको बिहान साँझ फेरिन्छन्। नौ रथामा दुर्गा भवानीको पूजा गर्ने चलन जताततै छ। पूजाको सामानले भरिएको थालि लिएर भगवती मन्दिर जानु, मन्दिरको चहलपहल त नौलो कुरा भएन। सँगै नौरथामा भक्तपुर विभिन्न बाजाले गञ्जिन्छ।
भक्तपुरको शहर अनि गाउँमा जहाँ जहाँ नेवारको बसोबास छ, त्यहाँ त्यहाँ मानिस भगवानको दर्शन गर्न त जान्छन् नै साथै आफूलाई बजाउन आउने बाजा पनि बजाउँछन्। नौरथामा हरेक दिन बिहान र बेलुका बाटो हिड्ने यात्रुले पनि बाजाको गुञ्जाहट सुन्न पाउँछन्।
बिहान सबेरै उठ्ने, आफ्नो बाजा बोक्ने अनि चोकमा भेला हुने। बाजा बजाउने सीप हातमा भएकाहरुको हिजोआजको दैनिकी यस्तै हो। यसमा युवक, वृद्ध, बालबालिका सबै पर्छन्। दत्रातयका चन्द्र लवजूले ४ वर्ष अगाडि बाँसुरी बजाउन सिकेका थिए, बिचमा बजाउने काम टुट्यो।
पहिला परम्परागत शैली सिकेको लवजू अहिले ३ महिनादेखि आधुनिक बाँसुरी बादन सिक्दैछन्। उनलाई उनलाई स्वेतभैरव बचत तथा ऋण सहकारीले तीन महिने बाँसुरी बजाउने तालिम दिएको हो। ‘हामी नयाँ व्याच हौ, हामी ३० जना जति छौँ।’ उनले भने, ‘बिहानदेखि सांगीतिक माहोलमा हिड्न खुब मज्जा आउँछ, बिहान हिँड्दा माइन्ड पनि फ्रेस।’ उनी २७ वर्षका भए, उनकी भाञ्जि पनिसँगै आएकी छन्। यो समूहमा ७ वर्षको बालबालिकादेखि ४५ वर्षसम्ममा मानिसहरु छन्।
यही टोलिकी सदस्य हुन् भक्तपुर जेला घरभएकी रुबिसा गाइजु। उनले ४ महिनामात्र भयो बाँसुरीमा सुर मिलाउन थालेको। १० वर्षकी रुबिसा बिहान ५ बजे उठेर जेलाको स्वेतभैरव बचत तथा ऋण सहकारीको आँगनमा भेला हुन पुग्छिन्। उनीजस्तै गरी अरु पनि त्यहाँ जम्मा हुन आइरहेका हुन्छन्। कोही बासुरी बोकेर, कोहि झ्याली बोकेर त कोही धिमे बाजा बोकेर।
भक्तपुर नगरको वरिपरि नौरथामा पूजा गर्ने देवीहरुको मन्दिर छन्। यस हिसाबले सबै मन्दिरमा बाजा बजाएर जानेले नौरथामा पुरै नगर घुम्छन्। मन्दिर जाने बाटोहरु नगरको बिचबाट भएकोले सबै नगरबासिले उनीहरुको चाल थाहा पाउँछन्।
किन गरिन्छ नौरथामा बाजा बजाउँदै नगर परिक्रमा?
संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘नवदुर्गा, अष्टमात्रिकाको कुरा आउँदा हामीले लिच्छवी राजाको शासनकाललाई सम्झनुपर्छ। राजा आनन्ददेवले नगरको स्थापना गर्दाखेरी नगरको चारैतीर देवीहरुको स्थापना गरेका रहेछन्।’ त्यो समयमा भक्तपुर एउटा सिङ्गो राज्य थियो।
‘नगरको छेउछाउमा मन्दिर बनाउनु भनेको आफ्नो सिमा जोगाउने युक्ति मान्न सकिन्छ,’ सँस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘धार्मिक आस्थाले नागरिकलाई सीमासँग परिचित गराउने र संरक्षणको अनुभूति गराउन राजाले खोजेको जस्तो देखिन्छ।’
बिहान जानु र बेलुका बाजा बजाउँदै जानुको पछाडि चाहिँ मानिसको अल्छिपना घटाउनु हो। धौभडेल भन्छन्, ‘जाडोमा घडीमा समय गए पनि उज्यालो हुँदैन, मानिसलाई ओछ्यान छोड्न मन लाग्दैन। तर भगवानको नाम आएपछि मानिस आस्थाले पनि बाहिर निस्कने भयो। मन्दिर जाँदा व्यायाम हुने र अल्छि भाग्ने भएकोले जाडो पनि महशुस हुन्न। साँझमा पनि चाँडै नसुत्न नवरात्रीमा बाजा बजाएर पुन शक्ति पीठमा पुग्ने गरिन्छ। मानिसको अल्छिपना भगाउनको लागि यो चलन ल्याइएको हो।’
भक्तपुरको टोल टोलमा बाजा छ। दाफा भजन गाउनेहरु, नयाँ पुस्ता जसले बाँसुरी, धिमे लगायतका अरु बाजा सिकेका छन्, उनीहरुले आफ्नो कला प्रर्दशन गर्छन्। पश्चिमा, हार्मोनियम, बेला लगायतका बाजा बज्छन्।
यो बाजा टोली घटस्थापनाको दिन बम्हायणी मन्दिर, दोस्रो दिन महेश्वरी मन्दिर, तेस्रो दिन कुमारी मन्दिर, चौथो दिन भद्रकाली, पाँचौ दिन बाराही मन्दिर, छैठौँ दिन इन्द्रयणी मन्दिर, सातौँ दिन महाकालीको मन्दिर, आठौँ दिनमा महालक्ष्मीको मन्दिर, नवौँ दिनमा त्रिपुरासुन्दरीको मन्दिर र दशौँ दिनमा फेरि ब्रहायणीमा पुग्छन्। यो दिन यहाँ जात्रा हुन्छ।
‘नेवारहरु जात्रा, पर्वको नाममा एकजुट हुन्छन्। कसैले कसैलाई पनि केही आउँ भन्न भर्दैन।’ धौभडेल भन्छन्, ‘नेवार संस्कृति जगेर्नामा लागि परेका छन्, त्यो पनि परम्परागत रुपमा नै।’