
ठूलो आकारका मुसाका कारण समुद्री चराका केही दुर्लभ प्रजाति लोप हुने अवस्थामा पुगेको अनुसन्धानकर्ताले बताएका छन् ।
ठूला मुसाले दक्षिणी एटलान्टिकका ग्रामीण आइल्याण्डमा समुद्र चराका लाखौँ बचेरालाई मार्ने गरेको र यसले दुर्लभ समुद्री चराहरु लोप हुने अवस्थामा पुगेको उनीहरुको भनाई छ ।
बेलायतको रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्ड (आरएसपिबी) ले गरेको अनुसन्धानमा मुसाले चराका फुल तथा बचेरा खाने गरेकाले जोखिम बढेको हो ।
मुसाका कारण विशेष गरी गफ आइल्याण्डमा बस्दै आएका ट्रिस्टन अलबटरस प्रजातिका समुद्री चरा लोप हुने अवस्थामा पुगेको अनुसन्धानमा संलग्न टोलीले बताएको छ ।
सो क्षेत्रबाट सन् २०२० सम्ममा मुसा पूर्णरुपमा हटाउने अभियान सुरु गर्ने तयारी छ । गफ आइल्याण्ड समुद्री चराका लागि महत्वपूर्ण क्षेत्र हो । यहाँ एक करोड भन्दा धेरै चरा रहेका छन् ।
यो आइल्याण्डमा डुंगा चालकहरुले १९ औँ शताब्दीमा पहिलो पटक देखेका थिए । मुसाले पछिल्लो समय चराका फुल तथा बचेरा खान थालेका छन् । एक भिडियोमा नौवटा मुसाले चराको जिउँदो बचेरालाई खाँदै गरेको देखिएको छ । ती मुसाहरुको आकार बढ्दै गएको छ ।

ट्रिस्टन अलबटरसका बचेरा
गफ आइल्याण्डका मुसा घरमा पाइने मुसा भन्दा दोब्बर ठूला छन् । गफ आइल्याण्डमा रहेका अधिकांश समुद्री चराले जमिनमा रहेको दुलोमा गुँड बनाउने भएकाले पनि मुसाले उनीहरुका फुल तथा बचेरा खाने गरेका हुन् ।
हरेक वर्ष मुसाका कारण २० लाख भन्दा धेरै चराका बचेर मारिने गरेका छन् । अहिले गुफ आइल्याण्डमा ट्रिस्टन अलबटरसका दुई हजार जोडी मात्रै छन् ।