
काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले विवादित पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको पेन्सनसम्बन्धी निर्णय सार्वजनिक गर्न माग राखेका छन्।
आइतबार ललितपुरस्थित निजामती किताबखाना पुगेर एक पत्र बुझाउँदै प्रा.डा. केसीले पूर्व प्रधानन्यायाधीश पराजुलीले पेन्सन पट्टा लिएकोसम्बन्धी विवरण सार्वजनिक गर्न माग गरेका हुन्।
आफ्ना सहयोगी र अधिवक्तासँग त्यहाँ पुगेका केसीले वि.सं. २०७४ फागुन ३० गते कायम गरी पराजुलीले अवकाश लिएको सम्बन्धमा भएको निर्णय तथा पत्राचार र त्यसको आधार, प्रमाणसहितको प्रतिलिपि तथा पराजुलीको पेन्सन पट्टाको प्रतिलिपि सार्वजनिक गर्नुपर्ने माग अघि सारेका छन्।
केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, प्रितम सुवेदी र सुरेशकुमार मुडभरीले संयुक्त रुपमा सूचनाको हकका आधारमा पराजुलीको अवकाशसम्बन्धी निर्णयको प्रतिलिपि माग गरेका छन्।
पत्रमा भनिएको छ, ‘विवादास्पद पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते कायम भइसकेकोमा त्यस विपरीत हालै मात्र दुषित आधार प्रमाण खडा गरी गराई यस कार्यालयमा निजले अवकाश मिति २०७४ फागुन ३० गते कायम गरी पेन्सन पट्टा लिएको जानकारी हुन आयो, उक्त कार्य गम्भीर सार्वजनिक सरोकारको विवाद हो।’
तर, न्याय परिषदले वि.सं. २०७४ फागुन ३० गते नै राष्ट्रपतिको शपथग्रहणका क्रममा पराजुली साउन २१ गतेबाटै अयोग्य भएको भन्ने पत्र जिम्मा लगाएको थियो। तर, पराजुलीले पुरानै जन्ममितिका आधारमा पेन्सन पट्टा बुझिलिएको सार्वजनिक भएपनि उनी फेरि विवादमा मुछिएका छन्।