
नेपालगञ्ज – खोप लगाएको भोलिपल्टै बालकको मृत्यु भएको घटनाको अनुसन्धान गर्न विशेषज्ञसहितको टोली नेपालगञ्ज आइपुगेको छ।
विश्व स्वास्थ्य संगठनका डा. रामु शर्मा, सामाजिक विकास मन्त्रालय प्रदेश कार्यालयका गणेश भट्टराई, बाल रोग विशेषज्ञ विनोद खेतान, जिल्ल जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दको टोली घटनास्थल पुगेको छ।
गाउँपालिकाका प्रमुख रामनिवास यादव, उपप्रमुख भूमिसरा धिताल, पीडित परिवार र स्थानीयबासीसँग टोलीले कुराकानी गरेको छ।
बिहान साढे १० बजे खोप लगाएका ५० दिनका साजन अलि नाउको भोलीपल्ट विहान चार बजे मृत्यु भएको थियो। घटना १० गतेको हो।
खोप लगाएकै कारण बालकको मृत्यु भएको आरोप लगाउँदै शव जिम्मा नलिएर पीडित परिवार तथा स्थानीयबासी आन्दोलनमा उत्रिएपछि केन्द्रबाट अनुसन्धान गर्न टोली आइपुगेको हो।
स्थानीयले इन्द्रपुर स्वास्थ्य चौकीमा तालासमेत लगाएका छन्। दुई दिनदेखि बालकको शव भेरी अञ्चल अस्पतालमा राखिएको थियो। सोमबार नै पोष्टमार्टम गरेर परिवारले जिम्मा लिएका छन्।
अनुसन्धान टोलीले खोप या खोप लगाउन केही त्रुटी भएर बालकको मृत्यु भएको हो भन्नेबारेमा अनुसन्धान जनस्वास्थ्य अधिकृत चन्दले बताए।
‘आज गाउँपालिका प्रमुख, उपप्रमुख, पीडित परिवार र स्थानीयबासीको उपस्थितिमा छलफल गरियो, अब के कारणले बालकको मृत्यु भएको हो भन्ने कुरा टोलीले अनुसन्धान गर्छ,’ जनस्वास्थ्य अधिकृत चन्दले भने, ‘पोष्टमार्टम रिपोर्ट, खोपको अवस्था, लगाउने व्यक्तिको त्रुटी थियो कि भन्ने कुरा टोलीले बुझ्छ।’ उनका अनुसार, खोप राख्ने ठाउँ, राखेको अवस्था, बनेको कम्पनीसमेतको अनुसन्धान हुनेछ।
इन्द्रपुर स्वास्थ्य चौकीबाट खटिएका स्वास्थ्यकर्मीले त्यो दिन डीपीटी, एफआइटीभी, पीसीबी खोप र ओपिभी अर्थात् पोलियो थोपा खुवाएका थिए।
खोपको असर भए तत्काल देखिनु पर्नेमा बालकको साढे १७ घण्टापछि मृत्यु भएको थियो। अनुसन्धानमा आएको टोलीले यहाँबाट अनुसन्धान गरेर गएपछि केन्द्रमा १२ जना सदस्य रहेको विशेषज्ञको बोर्डमा प्रतिवेदन बुझाउने छ।
सोमबारको छलफलमा स्थानीयले स्वास्थ्यकर्मीको व्यवहार नै रुखो रहेको आरोपसमेत लगाएका थिए। स्थानीयको यस्तो आरोपपछि त्यहाँको टीम नै परिवर्तन गर्ने तयारी भएको छ।
बालकलाई खोप लगाउने अनमी सन्ध्या धिमाललाई प्रहरीले सोधपुछ र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ।