
काठमाडौँ – माछापुच्छ्रे बैंकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी छुट्टाछुट्टै सम्झौता गरेको छ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्की तथा नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको तर्फबाट कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलका सेवाहरुमा ७ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्। ओम हस्पिटलले उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सिटी स्क्यान, एक्सरे, म्यामोग्राफी, इसिजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज र ल्याब एण्ड रेडियोलोजी सेवामा ७ प्रतिशत छुट दिने भएको छ। ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी अर्का सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा ५ देखि १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्। नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याब्रटरी, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ प्याकेजमा १० प्रतिशत छुट दिने भएको छ।
साथै, अस्पतालको रेडिएसन थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकहरूले ५ प्रतिशत छुट पाउने भएका छन्। नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र क्यान्सर रोग सम्बन्धी सेवा प्रदान गर्ने नेपालकै उत्कृष्ट अस्पतालको रुपमा स्थापित भइसकेको छ।
बैंकले आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३७ शाखारहित बैंकिङ सेवा गरी जम्मा १ सय २५ स्थानबाट बैंकिङ सुबिधा प्रदान गरिरहेको छ। साथै, बैंकको देशभर १ सय ३ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।