काठमाडौँ – काठमाडौँ डिल्लीबजार ओरालोको भित्री गल्लीमा नेपाली इतिहासमा महत्वपूर्ण भूमिका खेलेको एउटा पुरानो घर छ । अहिले पनि त्यो घरले आफूले जन्मने र हुर्किने ठाउँ दिएका व्यक्तिको सम्झनालाई जीवित राखिरहेको छ ।
वरपर नयाँ डिजाइनका घरहरु बने तर त्यो घर अहिले पनि आफ्नो पुरानो स्वरुपमा चम्किलो बनेर बसेको छ । पहेँलो रंगको यो घरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो जीवन बिताएका हुन् । उनी यहि घरमा जन्मिए र त्यहिँ आफ्नो बाल्यकाल हुँदै जीवन बताए । यहि घरमा बसेर उनले अजर अमर कृतिहरु लेखे ।
घर भित्र छिर्ने बित्तिकै भर्याङ छ अनि एक कुनामा ढिकी छ । ती भर्याङमा देवकोटा हिँडेका थिए । यो घरका प्रायः सबै चिज सय वर्ष भन्दा बढी उमेरका भइसकेका छन् । घरको सबै भन्दा माथिलो तला जहाँ देवकोटा परिवारको भान्छा थियो । त्यसमुनि रहेको अरु कोठा भन्दा अलि ठूलो कोठा देवकोटाको । जहाँ उनले आफ्ना कृति लेख्ने गर्थे । उनले प्रायः आफ्नो कोठाको झ्यालमा बसेर कृतिहरु लेख्ने गरेको उनका भाइकी बुहारी सन्तोष देवकोटाले बताइन् । उनले भनिन्, ‘मुवाँले भन्नु हुन्थ्यो, उहाँले लेख्दा केहि पनि पत्तो पाउनु हुँदैन थियो रे, यो झ्यालमा बसेर कृतिहरु लेख्नु हुन्थ्यो । एक दिन उहाँको छोरी भर्याङ नजिक रोइरहेको हुनुहुन्थ्यो रे उहाँ झ्यालमा बसेर कृति लेख्दै । तर उहाँले छोरी खसेको पनि थाहा पाउनु भएन रे ।’
नेपाली साहित्यका महान व्यक्तिलाई आश्रय दिएको यो घर अहिले आफै आश्रयको खोजीमा छ ।