
कन्काई – छठ पूजाका लागि कन्काई नदीमा बनाइएको घाट नपुग्दै शिवसताक्षी नगरपालिका–४ की चम्पा ठाकुर करिब दुई किलोमिटर सूर्यलाई साष्टांग गर्दै पार गरिसकेकी थिइन्।
घाट पुग्न केही मिटर बाँकी हुँदा उनले भोलि बिहानका लागि भनेर साष्टांग दण्डवत गर्ने काम बाँकी राखिन्। उनले भनिन्, ‘यो कठिन ब्रत मैले त्यसै गरेको होइन, मेरी छोरीको चर्म रोग निको होस् भनेर गरेकी हुँ।’
चर्म रोगले ग्रसित उनकी सानी छोरी कलश बोकेर आमासँगै रहेकी थिइन्।
मंगलबार अस्ताउँदो सूर्य र बुधबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्व पूर्वी तराईबासीले श्रद्धा भक्तिका साथ मनाइरहेका छन्।
जातीय सद्भाव र मित्रता बढाउने उद्देश्यका साथ झापाबासी यसवर्षको छठ पर्व मनाइरहेका छन्।
झापाका मेची, निन्दा, अदुवा, बिरिङ, कन्काई, कमल तथा रतुवा नदीमा छठ पूजा भइरहेको छ। प्रत्येक स्थानमा विशेष समारोह गरेर छठ पूजा भइरहेको छ।
एक नम्बर प्रदेशका झापा, मोरङ र सुनसरीमा बसोबास गर्नेहरुले मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। बुधबार बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ। मोरङको सिंघीया, केशलिया तथा सुनसरी मोरङ सिँचाई आयोजनाको नहरको तीरमा सर्वसाधारणले छठ पर्व मनाइरहेका छन्।
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्लपञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ। व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन् जसलाई खरना भनिन्छ।
षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ्य दिन्छन्।
व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन्। केही घरै फर्किन्छन्। तर शुद्धाशुद्धीको धेरै विचार गर्नुपर्ने भएकाले कहीँकतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ।