
नेपालगञ्ज – बाँकेमा गएको साउन यता ३३ जना मलेरियाका बिरामी देखा परेका छन् । ३३ मध्ये २१ जना भारतबाट फर्किएका नेपाली हुन् ।
कामको सिलसिलामा भारत गएका केही नेपालीहरु फर्किँदा मलेरियाबाट संक्रमित भएर आउने गरेको यो तथ्यांकले देखाएको छ । बाँकेका विभिन्न गाउँका २१ जना भारतबाट काम गरेर फर्किएको केही समयमा बिरामी परेका थिए । जसलाई जाँच गर्दा मलेरिया देखा पर्यो ।
बाँकेमा पछिल्लो वर्ष कडा खाले मलेरिया देखा परेको छैन । बाँकेमा दुई प्रकारका मलेरिया देखा परेको छ । अहिले प्लाजोडिएम भाइभेक्सका बिरामी देखा परेका छन् । कडा खाले मलेरिया मानिने प्लाजोडिएम फाल्सीपारमका बिरामी देखा परेका छैनन् । दशक अघि राप्तीपारी फाल्सीपारमको महामारी फैलिँदा तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका भेक्टर कन्ट्रोल अधिकृत रत्नलाल शर्माले भारतमा काम गरेर फर्किएका नेपाली धेरैमा मलेरिया देखा परेको बताए । कोहलपुर, रझेना, खजुरा, बेतहनी, नरैनापुरलगायत गाउँमा मलेरियाका बिरामी देखा परेका छन् । स्थानीय स्वास्थ्य केन्द्रमा आएका बिरामीलाई जाँच गर्दा मलेरियामा देखा परेको हो ।
विशेष गरेर साउनदेखि मंसिरसम्ममा मलेरियाका बिरामी देखिने गरेका छन् । गर्मी ठाउँ र लामखुट्टे बढी पाइने भएकाले बाँके मलेरियाको जोखिम जिल्ला मानिन्छ । त्यसमा पनि भारतीय सीमा र भारतबाट काम गरेर फर्किनेको चाप रहने हुँदा मलेरिया बोकेर आउने जोखिम रहँदै आएको छ ।
मलेरियाका बिरामी बढी देखिएको ठाउँमा स्प्रे र झुल वितरण गर्ने गरिएको छ । विगतमा जनस्वास्थ्य कार्यालय, बाँकेले आफैले यो काम गर्दथ्यो । स्थानीय निकाय शक्तिशाली भएपछि र जनस्वास्थ्यमा बजेट नआएपछि अहिले त्यो काम हुन सकेको छैन । यो वर्ष राप्तीसोनारी गाउँपालिका–३ ले स्प्रे गरेको थियो । मलेरियाका बिरामी धेरै देखिएकाले जनस्वास्थ्य कार्यालयसँग सहयोग लिएर स्प्रे गरिएको थियो ।
मलेरियाका बिरामी देखा परेपछि स्वास्थ्यकर्मीहरु त्यहाँ जाने र पहिला कहाँबाट आएकोदेखि आसपासमा ज्वरो आएका कोही छन् कि भनेर हेर्ने गर्दछन् । बिरामीको आसपासका ठाउँमा लामखुट्टे हेर्छन् । अर्को व्यक्तिलाई सर्न नदिन सचेत गराउँछन् ।
भारतबाट काम गरेर फर्किएका नेपालीलाई नाकामै स्वास्थ्य जाँच गर्ने व्यवस्था गर्न सकेमा मलेरिया नफैलिने एकथरीको भनाई छ । सरकारले विभिन्न रोगको महामारीहरु देखा पर्दा नाकामा स्वास्थ्य सहायता कक्ष राखेर त्यसप्रकारको जाँच गर्ने गर्दछ ।
नेपालगञ्ज नाकामा अहिले पनि स्वास्थ्य सहायता कक्षको बोर्ड झुण्ड्याइएको छ । जाँच भने हुँदैन । स्वास्थ्य सहायता कक्ष राखे पनि भारतबाट आउने नेपालीहरु रोकिएर आफ्ना समस्या र स्वास्थ्य जाँच नगर्ने देखिएको थियो ।
भेक्टर कन्ट्रोल अधिकृत शर्माका अनुसार, मलेरिया तत्काल नदेखिन पनि सक्छ । बेलाबेलामा ज्वरो आउँछ । त्यो यात्राका क्रममै देखिन्छ भन्ने छैन ।