मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडा अहिले समाजिक सञ्जाल चलाउँदैमा व्यस्त छन्। प्रतिनिधिसभाका सदस्य खतिवडा आफ्नो काम गर्दै फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकमा पोस्ट हेर्छन्। अनलाइनहरुमा समाचार हेर्छन्। उनलाई लत लागेको त होइन, तर उनी छोरीको बारेमा सानो भन्दा सानो कुरा पनि छुटाउन चाहँदैनन्।
१६ नोभेम्बरमा युट्युबमा एउटा भिडियो पोस्ट भयो। सुन्दर युवतीले आफ्नो परिचय सहित नयाँ चुनौतीमा सहभागी हुन लागेको जानकारी दिएकी छन्। उनी हुन् मिस नेपाल २०१८, श्रृंखला खतिवडा। चीनको सान्या शहरमा भइरहेको मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उनी अहिले व्यस्त छिन्। उनको लागि सबैले भोट गरिरहेका छन्, मागी पनि रहेका छन्। सामाजिक सञ्जालमा उनका भिडियो, फोटो शेयर भइरहेको छ। उनका बुवा विरोध खतिवडा पनि जोडतोडले छोरीका लागि भोट मागिरहेका छन्।
श्रृंखलालाई भोट हाल्ने तरिका
यो भन्दा अगाडि नोभेम्बर २८ सम्म मात्र भोट गर्न पाइन्थ्यो तर अहिले त्यो समय २ दिन बढेको छ।
१. श्रृंखलाको आधिकारिक पेजमा लाइक गरी फोटोमा लाइक अनि कमेन्ट गर्ने,
२. मिस वर्ल्र्डको वेवसाइडमा गएर भोट गर्ने,
३. मोब स्टारको पेजमा श्रृंखलाको एकाउन्टमा लाइक र कमेन्ट गर्ने,
४. मोडल पावर लाइभमा भोट गर्ने
पत्तै नपाई छोरी यति अगाडि पुगेको देखेर विरोध दंग पर्छन्। ‘ममात्र हैन देश नै खुशी छ’, उनी भन्छन्, ‘देशले गर्व गरेको छ जस्तो लाग्छ।’ उनका अनुसार श्रृंखला अब देशको सम्पत्ति भइन्। उनलाई धेरै मायाको खाँचो छ।
उनी छोरीका स्वाभाव केलाउन थाले,
हरेक मानिसले आफूले आँटेको काम पूरा गर्न खोज्छ, श्रृंखलाले आँटेको हरेक काममा उनी सफल भएकी छन्। उनले आत्मविश्वाससहित कामका हरेक पक्षलाई हेर्ने गरेकी छन्।
चीन जाने बेलामा उनले भनेको सम्झिन्छन् विरोध, ‘म नेपालको गौरव बढाएर फर्कन्छु।’ आजसम्म आत्मविश्वास सहित गरेको मेहनतको परिणाम राम्रै आएको बताउने विरोध धेरै आशावादी छन्।
उनी सबैलाई भोट हाल्न अनुरोध गर्छन्। ३० तारिखसम्म भोट हाल्न पाइन्छ। मोबस्टार एप्लिकेशनमा गएर श्रृंखलाको प्रोफाइलमा जाने र उनको फोटोलाई दाँयाबाट बायाँ सार्ने, उनको फोटोमा लाइक कमेन्ट गर्ने आदि। २८ नोभेम्बर पछि उनको प्रस्तुतिले निर्भर गर्छ।
उनी आफ्नो छोरीलाई परफेक्ट देख्छन्, ‘उनी हुर्कदै जाँदा उनमा जे जे गुण हुनुपर्ने हो, त्यो सबै विकसित भएको छ।’ उनी जे गरिरहेकी हुन्छिन्, सम्पूर्ण ध्यान त्यसमा नै केन्द्रित हुन्छ।
मिस नेपालमा छोरी जानु, जित्नु मिस वर्ल्डमा जानु विरोधका लागि असामान्य हुन्। बाबुआमाले आफ्नो सन्तान जहिले पनि सानो देख्छन्। श्रृंखला जतिजति सफल हुँदै गइन्, त्यति विरोध चकित हुँदै गए।
‘पढाइमा फर्स्ट हुने, मिस नेपालमा सहभागी हुँदा उनले हामीलाई सर्प्राइज दिइन्।’
श्रृंखला सामान्य बच्चा थिइन्। सानैदेखि आफ्नो काम आफैँ गर्ने स्वाभावकी थिइन्। आफ्नो काम गम्भीर भएर काम गर्ने थिइन्।
श्रृंखलाका दाजु दुई वर्ष जेठा छन् तर स्कूल दाइसँगै गइन्। विरोध भन्छन्, ‘दाइ भन्दा राम्रो नतिजा ल्याउँदै अगाडि बढिन्।’
उनले छोरा र छोरीलाई कहिले यो बन्नुपर्छ भन्ने सपना सुनाएनन्। ‘जे गर्छन्, त्यो सफल होस् भनेर सपोर्ट गर्ने हो।’ उनले श्रृंखलाले देख्ने गरेको सपना पनि सुनाए, ‘१२ पास गर्नु अगाडि पाइलट बन्ने सपना थियो। त्यसपछि इन्जिनियरिङमा आर्किटेक्ट बन्छु भनिन्।’ उनले जे गर्ने सोचिन्, त्यसैलाई समर्थन गर्दै, हौसला बढाउँदै गए। मिस नेपालमा सहभागी हुने कुरा पनि उनले धेरै गरेकै थिइनन्।
श्रृंखलाले आर्किटेक्टमा नै फर्कने निर्णयलाई स्वागत पनि गरेका छन्। उनलाई भविष्यमा विश्वका उत्कृष्ट ५० आर्किटेक्ट बन्नु छ।
विरोधले आफ्नो क्षमता अनुसार केही कुराको कमी हुन दिएका छैनन्।
उनी सांसद हुन्, उनको एक परिचय छ, हिजो आज त्यो भन्दा धेरै श्रृंखलाका बाबा भएका छन्। नेकपाका तर्फबाट सांसद विरोधकी छोरी मिस वर्ल्डमा गएकी छिन् भन्दा पनि हाम्रो नेपालकी चेली गएकी छन् भन्ने चर्चा छ र सबैको सहयोग पनि।
घर मकवानपुर भए पनि विरोध नखिपोट बस्छन्। हेटौडा एकेडेमीबाट एसएलसी दिएपछि श्रृंखला पनि यतै छिन्।
मिस वर्ल्डमा जानुअगाडि बनाइएको परिचयात्मक भिडियोमा श्रृंखलाको बोलीको पनि प्रशंसा भयो। ‘बोल्ने शैली राम्रो छ, कन्फिडेन्ट छिन्।’ विरोध छोरीको प्रशंसा गर्न थाले, ‘उनलाई साहित्यमा रुचि छ, ठाडो अंग्रेजी अथवा नेपाली बोल्ने बानी छैन।’ छोरीको बोलीले प्रशंसा पाउनुमा उनी श्रृंखलाको साहित्यप्रतिको चासो नै मान्छन् जसले उनको भाषालाई समृद्ध बनाएको छ।
विरोधका अनुसार श्रृंखला पूर्वतयारी गर्छिन्। भोलि के कार्यक्रम हुँदैछ, कार्यक्रममा सम्भावित के प्रश्न आउन सक्छ, त्यसलाई तर्कसहित उदाहरण दिएर उत्तर दिने तयारी अगाडि नै हुन्छ। आफ्नो पोल्टोमा मान्छे ल्याउन पनि उनी जान्ने छिन्, मिस वर्ल्डको प्रतिस्पर्धामा आएका धेरैलाई नेपाली गीत गाउन पनि लगाएकी छन्। छोरीको हरेक क्रियाकलापमा उनी अन्जान छैनन्।
अहिले सामाजिक सञ्जाल, युट्युबमा विरोध सार्है सक्रिय भएका छन्, छोरीसँग सम्बन्धित सबै कुरामा अपडेटेड छन्। ‘मिस नेपाल परिचयको पहिलो भिडियो पोस्ट गर्दा एक दिनमा नै ७ लाख पुगेको थियो।’ उनले भने, ‘अहिले त जे कन्टेन्ट आएपनि धेरै पटक हेरिएको पाइन्छ।’ उनी कमेन्टहरु पनि हेरिरहेका हुन्छन्। उनलाई छोरी कहाँकहाँ पुग्छिन्, त्यो हेर्न मन लाग्छ। नछुटाई सबै हेर्छन्।
छोरीले बोलेका डायलग पनि कण्ठ छ उनलाई, ‘हामी नेपाली त सबैलाई माया गर्ने स्वाभावका हौँ, सानो र नराम्रो कुरालाई लिएर बस्नु हुँदैन।’ उनले एक अन्तवार्तामा दिएको उत्तर थियो यो। आफ्नो प्रतिस्पर्धीको सम्मान गर्नु, कुटनीतिक बोल्नु र सकारात्मक सोच्नु श्रृंखलाको राम्रो बानी भन्छन् बिरोध।
अहिले साथीभाइ सर्कलमा राजनीतिको गफमात्र हुँदैन, छोरीको खोजखबर हुन्छ। ‘मैले पनि भोट गरिरहेको छु, छोरीको के हुँदैछ, बधाई छ।’ ले बिरोधका कान गुञ्जिन्छन्। उनी डिसेम्बर ८ मा हुने फाइनलका लागि चीन जाँदैछन्।
छोरीलाई छिट्टो भेट्न मन लागेको छ। छोरी जन्मेको खबर पाउँदा बिरोध संसदमा थिए रे। अहिले पनि सांसद नै छन्। सानी छोरीलाई कपडामा बेरेर हातमा उठाएका थिए विरोधले। अब भने छोरीले विश्व सुन्दरीको ताज पहिरिएको हेर्न र स्वागत गर्न मन लागेको छ।
भिडियो पनि हेर्नुहोस्: