
पोखरा- हजारौँ युवाले विदेशको सपना देख्दा सुदिप दवाडीले पनि नदेखेका होइनन्। उनका आफन्त इष्टमित्रले पनि विदेशको सपनाहरु नदेखाएका होइनन्। तर उनले सपनाको देश भनेर लोभ्याउनेसँग कहिल्यै आफ्नो देश दाँजेनन्। न त राजनीतिक पार्टीलाई गाली गरेर बसे, न त नेपालमा अवसर छैन भन्दै आक्रोश नै पोखे। नेपालको माटो हात लिएर देश नियाले र अवसरको खोजीमा जुटे। एक असल नागरिक हुनुको नाताले देशभित्रको समृद्धिको सपना भने उनले हरेक दिन देखे।
देखेका उधारा सपनालाई नगदमा परिणत गर्नु थियो। अवसरको खोजी गरे। भेटे आफूजस्तै देशभित्रै सम्भावना देख्ने युवा साथीहरु। जुट्यो हात र बढ्यो उनको साहस। सिर्जनशीलतामा अक्सर जोडिन चाहने दवाडी प्रविधिमैत्री ब्यवसायमा बढी रुचि राख्छन्।
एउटा ब्यवसायसँग जोडिरहँदा अर्को ब्यवसायको कन्सेप्टले उनलाई काम गर्न निकै ऊर्जा थप्छ। उनी भन्छन्, ‘काम गरेपछि नै आइडियाहरु आउँछन्। हात बाँधेर बस्ने हो भने निराशाको परिधिभित्र परिन्छ।’ मेहनतले आशाको दियो बाल्न सकिने बताउने उनी ब्यवसायमा आत्मविश्वास महत्वपूर्ण ठान्छन्।
पोखरा मासबार निवासी यी २६ वर्षीय युवाले सफ्टवेयर इन्जिनियरिङमा ब्याचलर गरेका छन्। पढ्दा पढ्दै जेनेक्स सफ्टवेयर सोलुसन कम्पनी खोले। मिन्ट फेब्रिक क्लोथिङ स्टोरको अनलाइन व्यवसायमा जोडिए। त्यसैगरी स्पेक्स फोरटिन एडभरटाइजिङ्ग एजेन्सी सञ्चालन गरे, दवाडी विजनेस म्यानेजमेण्ट कन्सल्टिङ कम्पनिका संस्थापक कार्यकारी अधिकृत हुन् भने पोखरा ग्रिन मार्ट प्रा.लिका पनि कार्यकारी अधिकृत हुन्।
झण्डै आधा दर्जन बढी ब्यवसायमा संलग्न रहेर सफलता हासिल गरिरहेका उनले जति काम गर्दै गयो, उति नयाँ नयाँ सोचको विकास पनि हुँदै गएको बताउँछन्। ब्यवसायमा खारिँदै गएको अनुभवलाई अझै सशक्त बनाउन उनी सहितको एउटा युवा समूहले पोखराको भाटभटेनीको टप फ्लोरमा पोखरा स्काइ स्पोर्टससमेत सञ्चालन गरिरहेका छन्।
पोखरा स्काइ स्पोर्टसका दवाडी कार्यकारी अधिकृत हुन। ‘देश समृद्धिको लागि हामी सबै युवाहरुले देखेको यो साझा सपना हो’, दवाडी भन्छन्, ‘यो सबैले गरिरहेको ब्यवसाय नै हो, तर हामीले अलि फरक तरिकाले सोच्यौँ।’ ७ जनाको युवा समूह अहिले यस ब्यवसायमा जुटेको छ ।
झण्डै ६ करोडको लगानीमा अत्याधुनिक सुविधा सहित प्रविधिमैत्री वातावरणमा सञ्चालित पोखरा स्काइ स्पोर्टसले पोखराको खेल पर्यटनमा पनि सघाउ पुर्याउने उनको विश्वास छ। दवाडी भन्छन्, ‘मध्य न्युरोडको यो स्थानमा हामीले खेलकुदका लागि थुप्रै विकल्पहरु अगाडि सारेका छौँ।’ शहरका मानिसहरुको स्वस्थ्य जीवनशैलीलाई मध्यनजर गरेर पोखरा स्काइ स्पोटर्स सञ्चालनमा ल्याएको उनको भनाइ छ।
एउटै छानामुनि फुटसल, लन टेनिस, जुम्बा, कार्डियो, साउना स्टिम, ज्याक्युजी, पुलसँगै भर्चुअल रियालिटी र प्ले स्टेशनको सुविधा सहित निर्माण गरिएको यो नेपालमै पहिलो कन्सेप्ट भएको उनले दाबी गरे।
ग्राहकलाई नै लक्षित गरि विशेष हाइजेनिक फुड उपलब्ध गराउन रेष्टुरेण्ट, बार र क्याफेलाई पनि सँगै सञ्चालनमा ल्याएको उनले बताए। उनले स्काइ स्पोर्टसमा ८ सय देखि एक लाख ५० हजार रुपैयाँ सम्मको प्याकेज रहेको बताए। ग्राहकहरुको लागि सिल्भर, गोल्ड र प्लाटिनम गरि तीनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज बनाएको दवाडीले बताए।
ग्राहको सुविधालाई मध्यनजर गरेर छुट्टै लिफ्टको सुविधा सहित हाइ टेक प्रविधिको प्रयोगबाट सञ्चालित यस स्काइ स्पोट्सले देशभित्रै केहि गर्न चाहने युवाको सपनालाई पूरा गर्ने विश्वास उनको छ।
उनले थपे, ‘यतिबेला देशले समृद्धिको सपना देखिरहेको छ यो सपना पुरा गर्न अब हाम्रो पनि विशेष भूमिका छ। यो सपनामा हामी सात जनाको मात्रै होइन देशभित्र सम्भावना देख्न र देशको समृद्धि चाहान हजारौ युवाहरुको साझा सपना पनि छ।’
उनले गण्डकी प्रदेशको राजधानी पोखरालाई प्रदेश सरकारले खेलकुदको हवको रुपमा विकास गर्ने उदेश्य राखेकोमा निजीक्षेत्रबाट आफुहरुको पहलले पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरे। उनले भने, ‘निजीस्तरबाट ब्यवसायिक रुपमा खेलकुदको हव निर्माण गरेर पर्यटनको सम्भावानालाई थप विस्तार गर्ने हाम्रो प्रयास हो।’
‘अ प्लेस फर एभरिवन’ अर्थात सबैका लागि यो ठाउँ भन्ने लक्ष्यका साथ खोलिएको स्काइ स्पोर्टसमा प्रविधिमैत्री वातावरणमा एनएफसी कार्ड सिष्टम प्रयोगबाट यसको सेवा सुविधा प्रयोग गर्न सकिने बताए।
ड्रिम प्रोजेक्टको रुपमा युवाको समुहले ल्याएको यस ब्यवसाय बनाउन सबैको साथ आवश्यक रहेको भन्दै उनी भन्छन्, ‘हामीलाई साथ दिनुस्, देशभित्रै हामी रोजगारको वातावरण सृजना गर्छौँ।’