अत्यधिक ठूलो सङ्ख्यामा आम नेपाली जनता त नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ र हिन्दु राष्ट्र नै रहिरहनु पर्दछ भन्नेमा नै थिए। तर मुलुकले उनीहरूको भावना र मतको नेतृत्व गर्न सकिरहेको थिएन र छैन।
मुलुक हिन्दु राष्ट्र नहुनु र नरहनुको अर्थ मुलुकको एकता, अखण्डता र अस्तित्वसँग नै गाँसिएको सवाल रहेछ भनेर अब मूलधारको राजनीतिक नेतृत्वमा रहेका नेता र कार्यकर्ताले समेत अनुभव गर्न थालेका छन्।
उनीहरूले त्यसलाई सार्वजनिक रूपमा स्वीकार्ने हिम्मत गर्न नसकिरहेको मात्रै हो। निश्चितरूपमा मुलुक हिन्दु राष्ट्र नहुँदा राष्ट्रको स्वाभिमान र सम्मानको अवमूल्यन भइरहेको अनुभव आम जनता, वुद्धिजीवी र राजनीतिक क्षेत्रले गरिरहेका छन् भनेर अनुभव गर्न सकिन्छ। आफ्नो आत्मसम्मानमाथि बारम्बार प्रहार भइरहेको अनुभव पनि उनीहरूसँग छ। त्यसैले हिन्दु राष्ट्र चाहिन्छ भन्ने आवाज बाक्लो र संगठित हुँदै गइरहेको बुझ्न सकिन्छ।
यो कसैको निजी आग्रह वा स्वार्थरक्षाको सवाल होइन, राष्ट्रिय पहिचान, हित र सुरक्षाको सवाल हो भन्ने पनि प्रष्ट भइसकेको छ। तर हिन्दु राष्ट्रको आवश्यकतालाई सजिलै स्वीकार गर्नेहरू हिन्दु राजाको अपरिहार्यतालाई अनुभव गर्न सकिरहेका छैनन्। त्यसलाई सार्वजनिक रूपमा भन्ने साहस गर्न सकिरहेका छैनन्।
मुलुक हिन्दु राष्ट्र नहुनु र नरहनुको अर्थ मुलुकको एकता, अखण्डता र अस्तित्वसँग नै गाँसिएको सवाल रहेछ भनेर अब मूलधारको राजनीतिक नेतृत्वमा रहेका नेता र कार्यकर्ताले समेत अनुभव गर्न थालेका छन्।
नेपालका राजा राज्यका आधिकारिक प्रतिनिधि मात्र थिएनन् आम जनताका धार्मिक, सामाजिक र सांस्कृतिक चेतनाका प्रतिनिधि पनि थिए। राजनीतिकरूपमा भन्दा आफ्ना धार्मिक, सामाजिक र सांस्कृतिक भावनाका प्रतिनिधिको रूपमा राजा जनता माझ अझ स्थापित र सवल थिए।
उनी धर्म र संस्कृतिका अविभाज्य अङ्ग थिए , संरक्षक र प्रवक्ता थिए। धार्मिक र सांस्कृतिक सवालहरूमा धर्मगुरू , साधु-सन्त,महन्त र विद्वानहरूसँग परामर्श गरेर उनले दिने निर्णय अन्तिमरूपमा सबैलाई मान्य हुन्थ्यो।
हिन्दु राष्ट्र चाहिन्छ भनेर भन्ने तर हिन्दु राजाको पुनर्स्थापनालाई स्विकार्ने नैतिक र राजनीतिक साहस नभएकाहरूले जवाफ दिनु पर्दछ-राजा विनाको हिन्दु राष्ट्रको प्रवक्ता को हो ? संरक्षक को हो ?
धार्मिक सवालहरूमा अन्तिम निर्णय दिने प्राधिकार को हो? इस्लामिक राष्ट्र भन्नुको अर्थ एउटा त त्यहाँ मुलुकको सर्वोच्च संवैधानिक र राजनीतिक अङ्गको प्रमुख इस्लाम धर्मावलम्बी नै हुनुपर्दछ। त्यहाँका धर्म गुरू वा धार्मिक नेता राष्ट्र र सरकार प्रमुखलाई राजनीतिक र धार्मिक सवालमा परामर्श र निर्देशन दिने समेत हैसियत राख्दछन्। आफ्ना आस्थामा इस्लाम धर्ममा दीक्षित धर्मावलम्वीहरूको तलैदेखि उठेको राष्ट्रव्यापी सञ्जालको नेतृत्व गरेका हुन्छन् उनीहरूले।
इसाईहरूको त्यस्तै संगठन संजाल हुन्छ। भारतमा चार शंकराचार्य छन् -उनीहरूले पनि राष्ट्र व्यापीसंजालको नेतृत्व गरिरहेका हुन्छन्। भारतका हिन्दु मठ मन्दिरहरूका धर्माधिकारीहरू पनि धार्मिक सवालमा स्थानीय जनतामा ठूलो प्रभाव र शक्ति राख्दछन् र ती सवालमा जनतालाई नेतृत्व गर्दछन्।उनीहरू आफैंमा धार्मिक प्राधिकारको रूपमा रहेका हुन्छन्। सताव्दियौंसम्म भारतमा फरक धार्मिक विश्वासका मुसलमान र अङ्ग्रेजहरूको शासन रहेकोले हिन्दु समाज, मठ-मन्दिरहरूका प्रमुख र शंकराचार्यहरूले आफ्नै स्वतन्त्र र स्वायत्त सत्ता र शक्ति आर्जन गरे र त्यसको प्रचलन गरे।
सताव्दियौं सम्मको त्यो अभ्यासहरूले ती मठ-मन्दिर र त्यहाँका साधु-सन्त र पुजारीहरू र शंकराचार्यहरू धार्मिक आचार, विचार व्यवहारका मानक बने, प्राधिकार बने, संस्था बने।
उनीहरूका राजा थिएनन्, भएका अधिकांश राजाहरू मुसलमान र अङ्ग्रेज शासकहरूका अनुयायी तथा सेवकको जस्तो भूमिकामा रहन पुगेकाले भारतीय हिन्दुहरूले त्यस्ता राजाहरूमा विश्वास नगरी सयौं बर्ष लगाएर आफ्नै स्वतन्त्र र स्वायत्त धार्मिक संस्था र संरचना निर्माण गरे र तिनीहरूको संरक्षणमा आफ्ना धार्मिक आस्था, विश्वास र परम्पराहरूको अभ्यास गरिरहे । आफ्ना धार्मिक संस्था र संरचनाहरूलाई शक्तिशाली र समर्थ बनाइरहे।
नेपालसँग कुनै शंकाराचार्य छैनन्। त्यस्ता शक्ति र प्रभावका साधु -सन्त र महन्त पनि छैनन्। मुसलमान र इसाईहरूको जस्तो व्यापक सञ्जाल भएका धार्मिक सँस्था र संरचना पनि छैनन्।
अधिकांश जनता हिन्दु भएकाले मात्रै नेपाल हिन्दु राष्ट्र थिएन, यहाँका राजा पनि हिन्दु थिए। हिन्दु धार्मिक विश्वास र परम्पराको निर्वाह गर्दथे। हिन्दु धर्मका संरक्षक त थिए नै इस्लाम, इसाई धर्मावलम्वी को स्वतन्त्र धार्मिक आचरण गर्ने अधिकारको संरक्षक पनि उनै थिए। वौद्ध धर्मावलम्वीहरूका सम्यक पुजामा नेपालका राजाको नै पूजा हुन्थ्यो।
अनुपम धार्मिक सहिष्णुताको परिचय बनेको थियो नेपाल। हिन्दु राजाको निवास र कार्यालय र हिन्दु राष्ट्रको मूख्य प्रशासनिक केन्द्रको केही सय मिटरको दूरीमा सयौं बर्ष देखि दुई ठूला मस्जिद रहनु भनेको राजाले तिनको समेत संरक्षकत्व लिएका थिए भन्ने कुराको प्रमाण हो। राजधानीको मुटुमा नै इसाई मूल्य र भावनाबाट अनुप्राणित स्कूल -कलेज र अस्पतालहरू संचालन गर्नमा हिन्दु राजाले नै सहयोग र समर्थन प्रदान गरेका थिए। धार्मिक सहिष्णुता र उदारताको यो अनुपम उदाहरण हिन्दु राजाको नेतृत्वको हिन्दु राष्ट्र भएकैले मात्र सम्भव भएको थियो।
नेपालमा कसैलाई आफ्नो परम्परागत धार्मिक आचरण र अभ्यास गर्नमा कहिल्यै कसैलाई रोक भएन। रौतहट, कपिलवस्तु , सिराहा वा सप्तरीका मुसलमानको कुरा छोडौं, गोर्खा, लमजुङ, नुवाकोट वा काठमाडौँ उपत्यकामा सयौं बर्षदेखि रहिरहेका मुसलमानहरूले पनि कहिल्यै धार्मिक आधारमा दमन वा भेदभाव भएको अनुभव गर्दैनन् । कसैमाथि धार्मिक आधारमा भेदभाव भएन। शोषण र दमन भएन। सीमापारीको धार्मिक द्वन्द्व यदाकदा नेपाल प्रवेश गरेपनि नेपाली भूमिले त्यस्तो अनुभव गराएन।
राजाको शासनमा मुलुकको मूख्य र अत्यन्त शक्तिशाली राजनीतिक संरचनाको रूपमा रहेको गाउँ फर्क राष्ट्रिय अभियानको मूख्य कार्यकारी अधिकारीकोरूपमा राजाले डा. मोहम्मद मोहसिनलाई नियुक्त गरेका थिए। रौतहटका शेख इद्रिस काङ्ग्रेसका अत्यन्त शक्तिशाली नेतामा गनिन्थे।
आफ्नो परम्परागत धार्मिक र सामाजिक अभ्यास गर्न कसैमाथि कुनै दवाव र हस्तक्षेप थिएन। केवल बलपूर्वक वा वा लोभ लालचमा पारेर धर्म परिवर्तन गराउन मात्रै निषेध थियो। हिन्दु राष्ट्र चाहिने तर हिन्दु राजा नचाहिनेहरूसँग !
अब नेपाल पुन हिन्दु राष्ट्रमा फर्किनु पर्दछ भन्ने तर राजसँस्थाको पुनर्स्थापना हुनुपर्दछ भनेर छाती ठोकेर भन्न नसक्नेहरूले भन्न सक्नु पर्यो – हिन्दु राष्ट्रको रूपमा नेपालका मूख्य धर्माधिकारी को हुन्छन् ? मूल प्रतिनिधि र प्रवक्ता को हुन्छन् ?
मूल धार्मिक सवालहरूमा निर्णय कसले दिन्छ ? आम हिन्दु जनताका धार्मिक आस्था, मूल्य, विश्वास र सम्मानहरूको संरक्षक को हुन्छन् ? उनीहरूले भनेको जस्तो हिन्दु राष्ट्रमा कुनै इसाई वा इस्लाम धार्मिक विश्वासका व्यक्तिहरू नेपालको प्रधानमंत्री वा राष्ट्रपति हुन सक्दछन् कि सक्दैनन् ? त्यस्ता इसाई वा इस्लाम धर्मका व्यक्तिलेनै नेपालको प्रधानमंत्री वा राष्ट्रपतिको साथसाथै हिन्दु राष्ट्र नेपालको प्रतिनिधित्व गर्ने हुन् ? हिन्दु धर्म, मठ, मन्दिर, मूल्य र विश्वासहरूको संरक्षकको भूमिकामा उनीहरू नै रहने हुन् ? हालै काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय भनिएको इसाई सम्मेलनमा पवित्र जल ? र प्रसाद ग्रहण गर्ने , छातीभरीको सुनको तक्मा र लाखौं रकम पुरस्कार
थाप्नेहरू नै हिन्दु राष्ट्र नेपालका प्राधिकार बन्ने हुन् ?
देव र पितृ कार्यहरूमा लगाइने राजाको भाग कसको नाउमा समर्पण गर्ने ? नेपाल हिन्दु राष्ट्र बन्नु पर्दछ भने हिन्दु राजा पनि अपरिहार्य बन्न पुग्दछन्। हिन्दु राष्ट्र र हिन्दु राजाको अनुपस्थितिले नेपालका एकता र विश्वासका आधारहरूलाई मात्र खण्डित गरेको छैन, वर्तमान विश्वको इसाई र इस्लाम धर्म र सभ्यतावीचको द्वन्द्वमा नेपाल नराम्ररी झोसिदैं आइरहेको छ। नेपालका उत्तरी र दक्षिणी सीमा क्षेत्रहरू त्यस्तो द्वन्द्व र तनावका क्षेत्र बन्दै गइरहेका छन् र वर्तमान राज्य र सत्ता संरचनाका मूख्य हस्तीहरू नै त्यस्तो तनाव र द्वन्द्वको खेतीमा संलग्न भइरहेको अवस्था पनि कसैबाट छिपेको छैन।
मुलुकको हिन्दु मत प्रताडित हुने, उपेक्षित हुने, लाञ्छित र अपमानित हुने अनि विश्वमा जताततै द्वन्द्वमा संलग्न इसाई र इस्लाम मतका बलियो अन्तर्राष्ट्रिय राजनीतिक, धार्मिक र आर्थिक शक्ति, दवाव र प्रभाव सहितका पक्षहरू नेपालमा हस्तक्षेपकारी सामर्थ्य आर्जन गर्दै जाने अवस्थामा त्यसबाट हिन्दु बहुल भारत र असन्तुष्ट बौद्ध मतको तिब्बत र त्यस्तै असन्तुष्ट इस्लामिक मतको तिब्बतसँगै जोडिएको चीनको सिञ्जियाङ्मा पर्न जाने र पारिने रणनीतिक दवाव र असरलाई भारत र चीन दुबैले सहजताका साथ स्विकार्न सम्भव छैन।
त्यस अवस्थामा छिट्टै नै नेपाल धार्मिक द्वन्द्वमा मात्र नभएर धर्मको नाउमा विभिन्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको रणनीतिक चलखेलको समेत भूभाग बन्न जाने र त्यो नेपालको स्वतन्त्रता र प्रभुसत्ताको सङ्कटमा समेत रुपान्तरित हुन जाने आधारहरू स्पष्ट भैसकेका सन्दर्भमा हिन्दु राजा सहितको हिन्दु राष्ट्र नेपालको मात्र नभएर हाम्रा दुई विशाल छिमेकीहरूको समेत अपरिहार्य आवश्यकता बनिसकेको छ। भारत र चीन जस्ता दुई विराट फरक सभ्यताका मुलुकहरूबीच वास्तविक असंलग्नताताको अभ्यास कुनै राजनीतिक दललाई प्रतिनिधित्व गरेर राष्ट्र प्रमुखको पदमा पुग्ने व्यक्तिको तुलनामा दलहरूबीचको सत्ता संघर्षको चरित्र र स्तरबाट माथि उठेको राजसँस्थाले नै गर्न सक्दछ।
मुलुकको शान्ति, एकता र अखण्डता राजनीतिक दलहरूको अभिष्ठ हो भने , मुलुकको वृहत्तर हितको लागि मात्र नभएर स्वयम् राजनीतिक दलका नेताहरूको सुरक्षाका लागि पनि र उनीहरूका सुरक्षा कवचकोरूपमा राजसँस्था अपरिहार्य भैसकेको छ। अहिले मुलुकका राजनीतिक दलका नेताहरू, सरकार र सत्तारूढ दलका नेताहरू आम जनता माझ जुन हदमा अप्रिय छन्, हिजोका हिंसा र मारकाटमा उनीहरूका भूमिकाका कारण मुलुक भित्र र बाहिर उनीहरूले जुन स्तरको असुरक्षाको अनुभूति गरिरहेका छन् त्यसबाट उनीहरूलाई संरक्षण दिन पनि राजसँस्थाले मात्रै सक्दछ।
यहाँ एउटा कुरा के विचारणीय छ भने ६२-६३ को राजतन्त्रबाट गणतन्त्रमा पदार्पण गर्ने जन आन्दोलनमा अर्थात राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा १९ जना व्यक्तिको मात्रै हत्या भएको हो।
राजा ज्ञानेन्द्रको शासनकाल अघि वा पछि मुलुकमा भएका हत्या अथवा राजाको शासन वा राजाको नेतृत्वको व्यवस्था परिवर्तन हुँदा भएका व्यक्तिहरूका मृत्युको सङ्ख्या सँग राजनीतिक दलको नेतृत्वका सरकार हुँदा र माओवादी जस्ता राजनीतिक दलले संचालन गरेका विद्रोहमा उनीहरूले मच्चाएका हत्या र हिंसाबाट भएको मृत्युको संख्यालाई जोडेर जो कसैले निष्कर्ष निकाले हुन्छ।
त्यसैले राजसँस्थाको पुनर्स्थापना भनेको राजा ज्ञानेन्द्र कोही अरू वा राजपरिवारको निजी सवाल होइन र उनीहरूप्रति व्यक्तिगतरूपमा निकट रहेका वा मोह वा स्वार्थ रहेकाहरूले यो विषय उठाइरहेका छैनन् भन्ने पनि घाम जस्तै छर्लङ्ग भइसकेको छ। त्यसैले जीवनभर राजा निकट रहेर , राजाबाट प्रचूर लाभ लिनेहरू रातारात राजा र राजसँस्था विरूद्ध लाग्दा र लागिरहँदा राजाहरू र राजपरिवारसँग कहिल्यै कुनै स्वार्थ, सरोकार र सम्वन्ध नभएका र राजाहरूका निरंकुशता विरुद्ध लामो समयसम्म क्रियाशील व्यक्तिहरू निर्धक्क भएर राजसँस्थाको पक्षमा उभिने स्थिति निर्माण हुनुले पनि यसलाई प्रष्ट परेको छ।
अन्त्यमा एउटा प्रश्न उठ्छ नै ! राजसँस्थाको पुनर्स्थापनामा स्वयम् राजा ज्ञानेन्द्र कत्तिको रुचि राख्लान ? मुलुक उठ्नै नसक्ने गरी अशान्ति, अराजकता, हिंसा विघटन र विखण्डनको स्थितिमा नपुगुन्जेल र स्वयम् राजनीतिक दलहरू र दलका नेताहरू चरम संकट र असुरक्षाको भासमा उठ्ने नसक्ने गरी नभासियुन्जेल उनीहरू राजसँस्थाको पुनर्स्थापनामा सहमत हुने अवस्थामा पुग्लान ? पुग्न सक्लान ? अनि त्यतिन्जेलसम्म राजा ज्ञानेन्द्रको आयु, उमेर र स्वास्थ्यले कत्तिको साथ देला ? साथ दिए पनि अवस्था सम्हालिनै नसक्ने देखिएपछि अफगानिस्तानका राजा जहिर शाहले अस्विकारगरे जस्तै राजा ज्ञानेन्द्रले पनि राजगद्दीको प्रस्ताव आफू र आफ्ना नातीका लागि अस्विकार पो किन नगर्लान र ?
त्यसैले राजसँस्थाको पुनर्स्थापनाको सवाललाई कसैको स्वार्थ, राजा वा राज परिवारप्रतिको कुनै मोह वा आग्रहकालागि नभएर, मुलुक र जनता ढुक्क भएर आफ्नो एकता, अखण्डता, शान्ति र समृद्धिको मार्गमा लाग्ने वातावरण निर्माण हुन्छ कि ? नेपालका छिमेकीहरूले खोजेको रणनीतिक आश्वासन राजा सहितको नेपालले मात्रै दिनसक्ने र त्यसपछि उनीहरू र अन्य अन्तर्राष्ट्रिय शक्तिकेन्द्र मार्फत नेपालको आन्तरिक राजनीतिमा हुने हस्तक्षेपलाई स्थायीरूपमा निषेध गर्न सकिन्छ कि ?
नेपालका राजनीतिक दलहरूको राजनीतिक दुस्साहस वा उन्मादको समेत परिणामले नेपालको भूभाग भित्र ठूला शक्ति राष्ट्रहरूको रणनीतिक स्वार्थहरूको टकराहटले आमन्त्रण गर्ने दुर्भाग्यपूर्ण अवस्थालाई कहिल्यै आउन नदिने गरी रोक्न सकिन्छ कि ? त्यसबाट नेपालका राजनीतिक दलहरूले आफ्नो राजनीतिक भविश्य र सुरक्षालाई नेपाली जनतामाझ नै खोज्ने अभ्यास आरम्भ गर्दछन कि ? सबै नेपाली जनताले साझा र आफ्नो मान्न सक्ने सँस्था पाउँछन कि ? भन्ने मात्रै हो भन्ने पनि बुझ्नु पर्नेले बुझे हुन्छ।

भर्खरै
लोकप्रिय






































































































































































































