एक कलाकारको जीवन बिम्ब

एउटा म्यूजिक भिडियोले मोडेको जीवनको पाटो

एउटा म्यूजिक भिडियोले मोडेको जीवनको पाटो
+
-

कालो वर्ण, आँखासम्म आउने कालो कपाल, अनुहारमा झ्याप्प दाह्री, पहिरन पनि कालै। मण्डला थियटरको पार्किङ्गमा फोनमा कुरा गर्दै गरेका प्रमोद अग्रहरि चलचित्रको पर्दामा भन्दा फरक देखिएनन्। ‘अलि अलि भिलेन लुक्स’।

असोज १२ गते प्रर्दशनमा आएको चलचित्र ‘कथा काठमाडौँ’ मा उनले नेगेटिभ रोल गरेका छन्। चलचित्रको गीत ‘रातको कुरा शहरभरि’ मा उनी प्रियंकासँग देखिएका छन्। उनको भूमिका धेरैको मनमा गडेको थियो। ‘मैले धेरै जनाको प्रतिक्रिया पाए। नराम्रो पनि भने, मलाई लाग्यो राम्रै भएछ।’

प्रमोद भन्छन्, ‘चलचित्रमा जस्तो भूमिका निभाए पनि त्यसले प्रभाव पार्न सक्यो भने कलाकार सफल हुन्छन्। कथा काठमाडौँको पात्र, सिनको धेरै चर्चा, बहस भए। यो नै कलाकारको पनि सफलता हो।’ उनले हरेक पल्ट भन्दै आएको कुरा हो, ‘समाजमा भएका कुरीति, नराम्रा प्रवृत्तिलाई बाहिर ल्याउन चाहे हजार नेगेटिभ रोल गर्न परोस्, म तयार छु।’

नवलपरासीको पसारीमा उनको जन्म भयो, घरमा सबैभन्दा कान्छा। बुबा, तीन दाजु भाउजु छन्। पाँच दिदीहरुको विवाह भइसकेको छ। उनको पढाई व्यवस्थापन सम्बन्धी भयो। तर पछि उनी कलाकारीतामा रमाए। उनलाई लाग्छ, ‘जे भयो राम्रै भयो।’ ६ वर्षमा १५ वटा चलचित्रमा काम गरिसकेका छन्। लाग्छ गर्न धेरै बाँकी छ।

कुरा गर्दागर्दै उनी बेलाबेलामा आफ्नो दाह्री सुमसुम्याइरहन्छन्। हाँस्दै दाह्री पाल्नुको कारण सुनाए उनले, ‘पात्रका लागि हो। भोलि कस्तो खालको भूमिकामा देखिन पर्ने हो थाहा छैन। दाह्री भएको पात्र बन्नु पर्‍यो भने दाह्री बढ्ने बेलासम्म पाल्नुपर्‍यो।’

म्यूजिक भिडियोले बदलेको जीवनको गोरेटो


स्कूल पढ्दा पढाइमा राम्रै विद्यार्थी हुन् प्रमोद, खेलमा पनि राम्रो सरहरुले साथीहरुले पनि ‘हिरो छस् हिरो’ भन्थे। कलेज पढ्न काठमाडौँ आएपछि एउटा म्युजिक भिडियोमा काम गर्ने अवसर पाए। त्यसपछि उनी त्यतै खिचिए। अनुप बरालको एक्टर स्टूडियोको छैठौँ व्याच हुन् प्रमोद। उनले दिल्लीमा गएर पनि अभिनय सिकेका छन्।

‘मलाई जुन काम गर्दा पनि जानेर गर्नुपर्छ भन्ने लाग्थ्यो। पढ्नु पर्छ, खोज्नु पर्छ भन्ने लाग्थ्यो। त्यसपछि मैले अभिनय नै गर्ने सोचेर पढेँ।’ उनलाई आफूले जे सिकेर आए, त्यही गरे। उनलाई महत्वपूर्ण कुरा भनेको पात्र हो जस्तो लाग्छ।

पाँच बजे घर जान्छन् प्रमोद


प्रमोदको बसुन्धरा बसाई छ। उनी अपार्टमेन्टमा एक्लै बस्छन्। भान्छामा रमाइलो लाग्छ रे । उनी भेज हुन्। ठट्टामा उनले भन्छन्, ‘ननभेज खायो भने मलाई देउता आउँछ।’

सुटिङ्ग, मिटिङ्ग केही छैन भने पाँच बजे घरभित्र गइसक्ने उनको बानी छ। ‘मलाई सानोमा मेरो माइलो दाजुले घरको ढोका बाहिर खुट्टा राखेको देख्नुभयो भने कुटिहाल्नुहुन्थ्यो। म फुटबल खेल्न पनि पल्लो घरको कौसीमा फाल हालेर भागेर जान्थे।’ घरमा कडा वातावरणमा हुर्केका प्रमोदले त्यहि अनुसासन पालन गरिरहेका छन् ।

मार्सलआर्टमा राम्रो खेलाडि थिए प्रमोद, ब्ल्याक बेल्ट पाएका थिए। सानोमा स्वाभाव अलि रिसालु थियो। बाहिर बाहिर स साना झै झगडा गरेर मान्छे कुटेर नै हिँडेको नै हो तर घरमा अहिले सम्म पनि दाईहरुको अगाडि चुइक्क आवाज आउँदैन।

अभिनयमा धेरै जीवन बाँच्न पाइन्छ


अभिनय गर्दा कथाले जे माग्छ, त्यहि अनुसार आफूलाई पस्कनु पर्छ। प्रमोदले आफ्नो भन्दा फरक पात्र, जीवन अनुभव जीउन पाईने भएकोले यो क्षेत्रमा रमाइरहेका छन्। ‘यसमा धेरै जीवन बाँच्न पाइन्छ।’

सुश्री सम्पत्ति


अहिले उनी चलचित्र ‘सुश्री सम्पत्ति’ को प्रमोसनमा छन्। मिडियालाई भेट्ने, कुराकानी गर्ने, फोटो खिच्ने यस्तै भइरहेको छ। मंसिर २८ मा चलचित्र प्रदर्शन आउँदै छन्। यो चलचित्रमा काम गर्दा फरक खालको अनुभव पनि गर्न पाएका थिए।

उनी बारको मालिकको भूमिकामा देखिएका छन्। सुटिङ्गमा निर्देशक सुब्रतराज आचार्यले उनलाई दरबार मार्ग अनि पोखराको नाइट क्ल्बमा पनि लगेका थिए। जो उनको दैनिकी भन्दा एकदमै फरक वातावरण हो।

इन्डस्ट्रिले नाम, दाम, दुःख, सुखको अनुभूतिसँगै केही मिल्ने साथी पनि दिएको छ। सौगात मल्ल, प्रविन खतिवडासँग उनको भेट हुन्छ। पहिलो चलचित्र उमाको विनित यादवदेखि सुश्री सम्पत्तिको बार मालिकसम्मको भूमिकामा प्रमोद रमाएका छन्। अगाडि पनि रमाइरहन चाहन्छन्।

करियरको सुरुवातमा उनले धेरै उतारचढाव देखेका छन्। बाबा, दाइहरु व्यवसायी छन्। तर उनी त्यता लागेनन्। यो मेहेनत गर्ने पेशा हो। खोजी महत्वपूर्ण छ। जीवनभर यहि तल्लिन हुन चाहन्छन्। ‘जब सम्म अफर आउँछ, त्यतिबेला सम्म अभिनय गर्ने।’ उनलाई फरक फरक विद्यामा काम गरेर पनि यहि क्षेत्रमा लाग्न मन छ।

जाडोमा भुईको चिसो अनि भोकले पेटको आन्द्रा बटारिएको भोगाई पनि उनीसँग छ। अहिले काम पाइन थालेको छ। पारिश्रमिक पाइएको छ। उमेर ३० काटेका प्रमोद विवाहको प्रसंगमा भन्छन्, ‘समय आउँछ, मेरो अलि बेला भएको छैन।’

सबै तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?