विश्वको कुनै ‘मल्टी बिलियनर’ले मलाई हजार करोड रुपैयाँ ‘गिफ्ट’ गरे भने म के गर्छु होला? के तपाईँलाई लाग्छ म परम्परागत शैलीको काम बाहेक केही रचनात्मक/सिर्जनात्मक काम गर्न सक्छु!?
वर्तमानमा म सन्यासी हो । मनग्गे पैसा पाए आलीशान आश्रम बनाएर तथानामका स्वयम्भू स्वामीहरु जस्तै लावा लस्कर खडा गरी मठाधीश धर्माधिकारी बन्न सक्छु।
अथवा पूर्व पत्रकार भएका नाताले ‘ब्रोडसिट’ को नयाँ दैनिक पत्रिका सञ्चालनमा ल्याई एउटा शक्ति केन्द्र बन्न सक्छु।
अथवा नयाँ केही गर्छु भन्ने दम्भमा कुनै फ्याक्ट्री, हाइड्रोपावर, बैंक, सिनेमा निर्माण लगायतका यावत काम गर्न सक्छु।
के तपाईँलाई लाग्छ मैले गरेका उपरोक्त कुनै पनि काममा केही रचनात्मकता, सिर्जनात्मकता हुन्छ? अहँ म सहमत छैन। मसँग अकस्मात ठूलो धनराशी आउँदैमा म बाट केही ‘क्रिएटिभ’ काम हुन सक्छ?
मित्र हो, हैरान नहुनुस, मसँग जीवनमा कहिल्यै यति पैसा हुँदैन। मैले मेरो मस्तिष्क वा कल्पनाको परीक्षण गर्ने अवसर यो जुनीमा पाउँदिन र अर्को जुनीमा विश्वास राख्ने व्यक्ति म हुँदै होइन।
मैले उपर्युक्त प्रसंग हालै प्रदर्शनमा आएको हिन्दी सिनेमा दुई दशमलव शून्यका निर्माता निर्देशकहरुका लागि लेखेको हुँ।
पैसा खर्च गरेर राम्रो सिनेमा बनाउन सकिन्छ भन्ने लागेको होला ‘दुई’ वाला टिमलाई। तर ‘रिजल्ट’ भने उही मुम्वैया फर्मूला फिल्मभन्दा पृथक हुन सकेन।
‘साइ फाइ’ भनी प्रचारित गरिएकाले फिल्म हेर्ने लोभ संवरण गर्न सकिएन। तर, फिल्म हेरेपछि भन्न करै लाग्यो— भारतीय फिल्म इन्डस्ट्रीको भारी भरकम भीड संस्कृत नाट्य परम्परा मृच्छकटिकम र पर्सियन ड्रामा भन्दा फरक विकसित हुनै सकेन। यो पूरा इन्डस्ट्री ड्रामेबाज छ र ड्रामाभन्दा फरक ‘भैया छोडदो तुमसे ना हो पाएगा’ भन्नुको विकल्प छैन।
पाँचसय करोड रुपैयाँ खर्चेर बाल कार्टुन जत्तिको फिल्म पनि बनाउन सक्दैनौ? पैसा खर्चेर ‘टेक्नोलोजी’ त आयात गर्न सकिन्छ तर यस मानेमा प्रकृतिको ‘म्याट्रिक्स’ लाई धन्यवाद स्वरुप एक शब्द खर्चिनै पर्छ ‘पैसाले बुद्धि विवेक सृजनात्मकता किन्न सकिंदैन।’
फिल्म मेकिङको ‘कन्सेप्ट’ ले दमदार मात्रै होइन अत्यन्त रोचक एवं दूरगामी प्रभावकारिता राख्छ भन्नुमा दुई मत हुन सक्दैन। तर मुम्वैया फिल्म इण्डस्ट्रीको तथाकथित ‘स्लोगन’ फिल्म मेकिङको उद्देश्य इन्टरटेनमेन्ट, इन्टरटेनमेन्ट र इन्टरटेनमेन्टको चक्रव्यूहमा फसी यस्तो महत्वपूर्ण ‘कन्सेप्ट’ पनि ढर्रा फिल्ममा रुपान्तरित हुन गयो।
मोबाइल हामी सबै प्रयोग गर्छौं, मोबाइलले पर्यावरणमा के कस्तो प्रभाव पर्छ/पर्न सक्छ, यही नै फिल्मको मूल कथावस्तु हो।
एकजना चराप्रेमी मोवाइलको विरोधमा छन्। उनको भनाइ छ, मोबाइल प्रयोगमा उत्सर्जित विकिरणले चराचुरुङ्गी मरिरहेका छन्। उनले यस सम्बन्धमा अनेकौं प्रयास गर्छन्, मन्त्रीसम्मलाई भेटेर मोवाइलको प्रयोग र मोवाइल टावर निर्माणलाई निरुत्साहित गर्न माग गर्छन्। कहीं कतै सुनुवाइ नभएपछि टावरमा झुण्डिएर आत्महत्या गर्छन्।
अब शुरु हुन्छ विशुद्ध मुम्वैया शैलीको भाँडगिरी। आत्महत्या गरेका पंक्षीप्रेमी चराको रुपमा प्रकट भएर हातहातमा रहेका मोवाइल खोस्न थाल्छन्। यो फिल्म रामसे बन्धुहरुले बनाएर भूतिहा फिल्मको रुपमा प्रचार प्रसार गरेको भए आलोचना गर्नेे न ‘स्पेस’ हुन्थ्यो, न आवश्यक नै पर्थ्यो।
शहरभरीका मानिसका हातमा रहेका मोवाइल उडेर भूतिहा चराको शरीरमा टाँस्सिएर चरा भिमकाय बन्छ। चराले मोवाइल टावर, आर्मी ट्यांक पल्टाइदिन्छ। चरालाई मार्न मानिसको शक्तिले सम्भव नभएर भारतीय फिल्म जगतका महान वैज्ञानिक रजनीकान्त पुनः आफ्नो रोबोट चिट्टीलाई व्युँताउँछन्। बकवास कथाको बकवास पटकथामा रजनीकान्त किरलियान फोटोग्राफी सम्मको साक्ष्य राखेर ‘पोजिटिभ रेडिएसन मेसिन’ निर्माण गरी चरालाई शक्तिहीन बनाइ दिन्छन्।
कथालाई लम्व्याउन पुनः खलपात्र ल्याइन्छ। उसले फेरि चरालाई शक्तिशाली बनाइदिन्छ। यसपटक चरा आतंक समाप्त पार्न नैनो रोबोटको प्रयोग गरिन्छ। साइन्सको कुन थ्योरी अनुसार मानिस आत्महत्या गरेर दानव चराको रुपमा प्रकट हुन सक्छ? शायद यो मुम्वैया फिल्म इण्डस्ट्रीको ‘इन्टरटेनमेण्ट थ्योरी’ कै कमाल हुनुपर्छ।
अतीतको गौरव गायनको आत्मविमुग्धतामा रस लिइरहेको जाति–समुदाय–देशको भविष्य अरु क्षेत्रमा के कस्तो होला त्यसको भविष्यवाणी नयाँ पुस्ताको क्वाण्टम कम्प्युटरले गर्न सक्छ वा सक्दैन त्यो भविष्यकै गर्भमा छ। तर, यति पिक्चर भने ‘क्रिष्टल क्लियर’ छ, त्यो देशले विज्ञान प्राद्योगिकीको क्षेत्रमा भने एक सिन्को पनि भाँचिदैन। भर्खरै कतै सुनें, हाम्रा स्वनामधन्य यशस्वी प्रधानमन्त्रीले गुरुत्वाकर्षणको खोज न्युटनले होइन भाष्कराचार्यले गरेको जिकिर गर्नु भयो।
चार खण्डमा लेखिएको ‘सिद्धान्त शिरोमणि’ (१.पारी गणित, २. बीज गणित, ३.गणिताध्याय, ४.गोलाध्याय) को गोलाध्याय खण्डमा भाष्कराचार्यले लेख्नुभएको छ।
मरुच्लो भूरचला स्वभावतो यतो विचित्रावतवस्तु शक्तयः।। आकृष्टि शक्तिश्च मही तया यत स्वस्थं गुरुस्वाभिमुखं स्वशक्त्या।। आकृष्यते तत्पततीव भाति समेसमन्वात क्व पतत्वियं खे।।
आशय– पृथ्वीमा आकर्षण शक्ति छ। पृथ्वीले आफ्नो आकर्षण शक्तिले ग्रहुँगो वस्तुलाई आफूतिर तान्छ र यही आकर्षणले गर्दा ती वस्तु पृथ्वीमा खस्छन्।
महोदय प्रधानमन्त्री यति भन्दैमा गुरुत्वाकर्षणबारे व्याख्या हुँदैन। र अब त न्युटनले गरेको गुरुत्वाकर्षणको सिद्धान्त पनि अपूर्ण भैसक्यो। विज्ञान निरन्तरको खोज र चिन्तन हो, अतीतप्रतिको आत्मविमुग्धता होइन।
महोदय तपाईँको माफिक आर्यभट्ट, ब्रम्हगुप्त भाष्कराचार्यको भजन भक्तिमा लम्पसार भइरहेको भए विज्ञानलाई यो थाहा हुने थिएन। चार ‘फण्डामेण्टल फोर्स’ मा गुरुत्वाकर्षण सबैभन्दा कमजोर बल हो। अणुको संरचनामा निहित ‘स्ट्रांग न्युक्लियर फोर्स’ भन्दा १०३८ गुना कमजोर, ‘विक न्युक्लियर फोर्स’ भन्दा १०३६ गुना कमजोर र ‘इलेक्ट्रोम्याग्नेटिक फोर्स’ भन्दा १०२९ गुना कमजोर।
सम्माननीय प्रधानमन्त्रीज्यू गुरुत्वाकर्षणले ‘इनर्जी’ उत्पादनको गफ गर्नु सट्टा हाइड्रोपावरकै समुचित उपयोग गरेर २०/२५ हजार मेगावाट विद्युत उत्पादनतिर ध्यान दिनेमा बोली वचन खर्च गरे देशको कल्याण हुन्थ्यो।
दुई दशमलव शून्यलाई साइन्स फिक्सन फिल्म भन्नु र प्रधानमन्त्रीले गुरुत्वाकर्षणबारे रहस्योद्घाटन गर्नु उस्तै उस्तै हो। दुई दशमलव शून्य भूतिहा फिल्म भन्दा पृथक नभए जस्तै प्रधानमन्त्रीज्यूको भनाई उखान टुक्का मात्र हो। दुबैको विज्ञानसँग गोरु बेचेको साइनो पनि छैन।

ज्ञान मित्र।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































