
धनगढी – कैलालीबाट वैदेशिक रोजगारीमा जाने अधिकांश महिलाहरु गैर कानुनी रुपमा जाने गरेको खुलेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट राहदानी (पासपोर्ट) लिएका ५ हजार ९ सय ५६ जना मध्ये वैदेशिक रोजगारीका लागि ८ सय सातजनाले मात्रै नेपाल सरकारबाट श्रम स्वीकृति लिएका छन् । जबकी पासपोर्ट लिएका मध्ये ७० प्रतिशत महिला कामका लागि विदेशिएका छन् ।
पढ्ने उद्देश्यले विदेश जानका लागि फाट्टफुट्ट रुपमा पहिले पनि पासपोर्ट लिने गरे पनि २०७० सालदेखि पासपोर्ट लिने महिलाहरुको संख्या बढेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । पासपोर्ट लिएका अधिकांश महिलाहरु वैदेशिक रोजगारीमा रहेको बताइन्छ ।
आफ्नो परिवारको सदस्य भन्दा पनि दलालसितै प्रशासन कार्यालय पुगेर पासपोर्ट लिने र सुटुक्क जाने चलनले महिलाहरु जोखिममा पर्दै आएका छन् ।
नेपालको बाटो भएर जाँदा श्रम स्वीकृति आवश्यक हुने भएपछि महिलाहरुलाई दलालहरुले भारतीय बाटोबाट तेस्रो मुलुक पु¥याउने गरेका छन् ।
लामो समयदेखि आप्रवासी कामदारको क्षेत्रमा काम गर्दै आएका हेल्भेटासको सामी परियोजनाका कैलाली संयोजक पञ्चराम चौधरीले दलालकै सहयोगमा पासपोर्ट लिएर उसले पठाए अनुसार नै जाने गरेका महिलाहरु जोखिममा परेको बताए ।
श्रम स्वीकृति नलिएरै जाने महिलाहरु समस्यामा पर्दा उद्धारमा समेत समस्या हुने गरेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका अध्यक्ष नारायण बिकले बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांक हेर्दा २०७० मा ५ सय ६२, २०७१ मा १ हजार १ सय ५७, २०७२ मा ८ सय ७२, २०७३ मा १ हजार ६८, २०७४ मा १ हजार २ सय ८२ र गत आर्थिक बर्षको फागुनदेखि असारसम्ममा १ हजार २ सय ६६ महिलाले पासपोर्ट लिएका छन् ।
पासपोर्ट लिएका अधिकांश महिला वैदेशिक रोजगारीमा गएको भए पनि श्रम स्वीकृति लिएर नेपालको बाटोबाट जानेहरु जम्मा ८ सय ७ छन् ।
पासपोर्ट लिनेहरुको घर परिवारसित बुझ्दा उनीहरु वैदेशिक रोजगारीमा रहेको पाइएको सामी परियोजनाका संयोजक चौधरीले जनाए । गैर कानुनी रुपमा जाने महिला कामदारहरु जोखिम परिरहेको भए पनि उद्धारमा समस्या भइरहेको समेत उनले बताए ।