धनगढी- कैलालीको कैलारी गाउँपालिकाका तीन गाउँ लालपूर्जाविहीन छन् । गाउँपालिकाको भारतसँग सीमा जोडिएको वडा नम्बर ३ को हौसलपुर र शिवरत्नपुर तथा वडा नम्बर ७ मोहनपुरमा बसोबास गर्ने नागरिक करीब ४० वर्षदेखि लालपूर्जाविहीन छन्।
करिब ४० वर्ष अघि २०३५ सालदेखि बसोबास गर्दै आएका वडा नम्बर ३ को हौसलपुरका २३, शिवरत्नपुरका ४५ र वडा नम्बर ७ मोहनपुरमा बसोबास गर्ने ७६ घरपरिवार लालपूर्जाविहीन छन्।
‘लालपूर्जा नहुँदा सरकारी सेवाबाट बञ्चित’
लालपूर्जाका लागि विभिन्न निकायमा धाउँदा समेत लालपूर्जा पाउन नसकेको बताएका हौसलपुर, शिवरत्नपुर र मोहनपुरका नागरिकले लालपूर्जा नहुँदा सरकारी सेवा सुविधा उपभोग गर्न नपाएको गुनासो गरेका छन्।
‘२०३५ सालतिर जङगल काटेर शिवलाल डाँगी भन्ने एक नेताले बस्ती बसालेका हुन। अझैसम्म लालपूर्जा पाउन सकेका छैनौ ।’ लालरत्नपुरका कमल प्रसाद चौधरीले भने, ‘लालपूर्जा नहुँदा सरकारले दिने सेवा सुविधा समेत पाउँदैनौँ । हामीसँग नेपाली भएको प्रमाण नागरिकता मात्रै छ।’
‘ऋण निकालेर केही व्यवसाय गरौँ भने पनि बैकले जग्गाको लालपूर्जा खोज्छ। कृषि क्षेत्रमा अनुदान आउँछ तर, लालपूर्जा नभएका हामीलाई दिदैनन् । सिचाईका लागि वोरिङ सहयोग माग्दा पनि पाइएन ।’ चौधरीले लालपूर्जा नहुँदाका पीडा सुनाए।
‘लालपूर्जा दिन आएका बेपत्ता भए’
दुई वर्षअघि तत्कालीन हसुलिया गाविस हुँदा हालको कैलारी गाउँपालिकाका तिन गाउँ हौसलपुर, शिवरत्नपुर र मोहनपुरका लालपूर्जा विहिन डेढ सय परिवारलाई लालपूर्जा वितरण गर्ने भन्दै नाप नक्सा र कित्ताकाट भयो।
हरेक घरबाट १० वर्ष जगाको करबापत एकमुष्ट रकम सङ्कलन गरियो । तर, लालपूर्जा दिने प्रक्रिया कहाँ पुग्यो केही अत्तोपत्तो छैन। जग्गाको नाप नक्सा र कित्ताकाट भएपछि लालपूर्जा पाइने आशामा बसेका सीमाका तिन गाउँका घरपरिवार निराश भएका छन्।
‘नाप नक्सा र कित्ताकाटपछि त लालपूर्जा पाइने भयो भन्दै खुसी भयौ । सुकुम्वासी आयोग, बसोबास आयोग लगायतमा धाउँदा पनि प्रक्रिया कहाँ पुग्यो भन्नेबारे पनि केही जानकारी छैन ।’ हौसलपुरका लाहुराम डगौरा थारुले भने ।
‘घर नेपाल, भर भारत’
कैलारी गाउँपालिकाका तिन गाउँ हौसलपुर, शिवरत्नपुर र मोहनपुर मोहना नदी पारी छन् । भारतीय सीमा क्षेत्र घर आँगनमै छ तर, गाउँपालिकाका अन्य बस्ती भने २ किलोमिटर टाढा ।
उनीहरूले गाउँपालिका आउन मोहना नदी तर्नुपर्छ । हिउँदमै तर्न नसकिने नदी वर्षाको बेला तर्न सकिने कुरै भएन । हिजो आज पनि उक्त नदीमा चार वटा काठे पुल छन् । वर्षामा डुङगा चढ्नुपर्छ । मोहनपुरका रामचरण चौधरीले भने, ‘घर मात्रै नेपालमा छ । नुनदेखि सुनसम्म किन्न नजिकै रहेको भारतीय बजार चन्दन चौकी जान्छौ ।’
ती गाउँमा कक्षा ५ सम्म पढाई हुने विद्यालयत छन् तर अस्पताल छैनन् । ६ कक्षा माथि पढ्न दैनिक ४ किलोमिटर टाढा रहेको विद्यालयमा डुङगा चढेर आउनुपर्ने बाध्यता ।वर्षाको समयमा ठुला बाढी आएमा डुङगा चल्दैनन् । विद्यार्थीको पढाइदेखि परीक्षा पनि छुट्छन् । बिरामीलाई उपचारका लागि ल्याउने क्रममा डुङगा नचल्दा मृत्यु भएका घटना पनि छन् ।
‘एसएसबीको सधैँ दादागिरी’
राज्यबाट उपेक्षित हौसलपुर, शिवरत्नपुर र मोहनपुरबासि भारतीय एसएसविको ज्यादतीले हैरान छन्।प्राय बन्दुक सहित ड्रेसमा भारतीय प्रहरी गाउँमा आइरहन्छन्। विना कारण पनि कुट पिट गर्ने गरेका छन्।
मोहनपुरका दयाशंकर चौधरी भन्छन, ‘भारतीय जङगलबाट कहिलेकाहीँ दाउरा ल्याए बापत र गाईबस्तु चराए बापत वनका कर्मचारीलाई एक परिवारले वर्षमा नेपाली दुई ४० रुपैयाँ बुझाउनुपर्छ । कम्तीमा चार दिन जङगलमा हिँड्न बनाइएका बाटो सफा गरिदिनुपर्छ ।’
‘दैनिक ज्यालादारी समेत भारतमै’
राज्यबाट उपेक्षित हौसलपुर, शिवरत्नपुर र मोहनपुर पुग्दा तिन वटै गाउँ सुनसान थिए।गाउँमा केवल बालकालिका र बुद्धबुद्धा थिए । १८ देखि ५० वर्षसम्मका कमै देखिए। त्यसका अधिकांश मानिसहरू कामका लागि भारत जाँदा गरेका छन् । दैनिक मजदुरीका लागि समेत भारतमा जाने गरेको उक्त गाउँका मानिसहरू बताउँछन्।
‘अधिकांश पढेलेखेका छैनन् । अशिक्षित छन् । बैकबाट ऋण निकालेर केही व्यापार व्यवसाय गरौँ भने लालपूर्जा छैन । आफुसग व्यापारका लागि पैसा छैन।’ एक जना स्थानीय जीत बहादुर चौधरीले भने, ‘मुख्य समस्या लालपूर्जा छ । लालपूर्जा भइदिएको भए व्यापारदेखि कृषि गर्न समेत मिल्ने थियो ।’
‘नेताले भोट मात्रै मागे, लालपूर्जा दिएनन’
हालसम्म भएका प्रत्येक चुनावमा ती गाउँमा मुख्य चुनावी एजेन्डा बन्यो, ‘लालपूर्जा’।‘चुनावमा नेताले गाउँलेलाई भेला पार्दै ठुलो ठुलो स्वरमा माइकमा भने तपाईँ हामीलाई हामी तपाईँलाई लालपूर्जा दिलाउँछौ।’ चुनावका दिन सम्झिँदै सञ्जीव कुमार चौधरी भन्छन, ‘नेताले भोट मात्रै मागे, लालपूर्जा दिएनन् ।’ नेता भन्छन, ‘अव तथ्याङक लिन्छौ’।
लालपूर्जा दिलाउने भन्दै चुनावमा भोट मागेर विजयी जनप्रतिनिधिले भने लालपूर्जा दिलाउनका लागि प्रयास गरिरहेको भए पनि समस्या भइरहेको बताएका छन् ।
प्रदेश सरकारले भूमि सम्बन्धी ऐन नबनाउँदा लालपूर्जा वितरण गर्नमा अड्चन भइरहेको उनीहरूको भनाई छ।
‘लालपूर्जा्विहिन गाउँमा लालपूर्जा वितरण गर्ने अधिकार हामीलाई छैन। लालपूर्जा वितरण गर्नका लागि प्रदेश सरकारले बनाउने भूमि सम्बन्धी कानुनलाई पर्खिरहेका छौ ।’ कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी भन्छन, ‘हौसलपुर, शिवरत्नपुर र मोहनपुरमा बसोबास गर्ने लालपूर्जा विहीन एक सय ५० बढी घरपरिवारको तथ्याङक सकलनको कार्य सुरु गर्न लागेका छौ।’
मोहनापारिका बस्तीका लागि मोहना नदीमा झुलुङगे पुल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ६० लाख छुट्याईसकेको र डिपिआर तयार गर्ने काई भईरहेको उनले बताए। मोहनापारिका हौसलपुर, शिवरत्नपुर र मोहनपुरका नागरिकले नेपाली नागरिक भएको महसुस गर्न सकेका छैनन्। उनीहरूलाई नेपाली भएको महसुस गराउनका लागि गाउँपालिकाले सडक, बिजुली लगायत विकाश निर्माणका कार्यमा प्राथमिकतामा राखेको छु।’ अध्यक्ष चौधरीले भने।