
काठमाडौँ – ललितपुर पाटनमा रहेको एक गेस्ट हाउसको आँगनमा शनिबार दिन ढल्किँदै जाँदा केही जमात युवाहरुको जमघट हुँदै गयो ।
आउनेहरु आफ्नो सुरमा थिए, झण्डै साढे चार बजेतिर सबै एउटै सुरमा मिसिए ।
युगल गुरुङ्गले आफ्ना गीतहरुमार्फत सबैलाई समेटे एक स्वरमा ।
बेलायतमा बस्दै आएका युगल गुरुङ्ग संगीत उत्पादक हुन् । संगीत उत्पादक यो अर्थमा कि उनले गाउँछन् मात्रै होइन, गीत लेख्छन्, रेकर्ड गर्छन् र मिक्सिङ्ग पनि आफैले गर्छन् । गीतमा पूर्णरुपले प्राण भर्छन् ।
समग्रताका एक रुप, युगलले दुई वर्ष लगाएर तयार पारेका गीतहरुको संग्रह ‘आफ्नो संसार’ को नेपालमा औपचारिक प्रस्तुति शनिबार बेलुका पाटनमा रहेको हिरण्ड गेस्ट हाउसमा एक कार्यक्रमकाबिच भयो । युगलका गीत सुन्न भेला भएकाहरु उनले गाउँदै गर्दा त्यसमै बग्दै गएका जस्ता देखिन्थे ।
युगलले आफ्नो संसारलाई एल्बमको रुप दिएका छैनन्, अर्थात सिडी वा डिभिडीमा संग्रहित गरेका छैनन् । तर डिजिटल प्ल्याटफर्ममा उनका गीतहरु सुन्न पाइन्छ ।
गीत गाउँदै गर्दा बिचबिचमा सिर्जना–गर्भ भन्दै गरेका युगलले आफ्नो संसारमा रहेका गीतहरु चाँडै युट्युबमा राख्ने जानकारी दिए । अहिले उनका गीतहरु आइट्युन्ससहितका डिजिटल माध्यममा छन्।
एल्बमको रुप नदिएका उनले आफ्नो संसारको इपी रिलिज गरेका हुन् । शनिबार बेलुका औपचारिक रुपमा आफ्नो संसारका गीतहरु प्रत्यक्ष रुपमा उनको गीतको ‘स्वाद’ मनपराउनेहरुले लिए ।
ठमेलबाट आएका सचेत दास तुलाधरले आफू युगलका गीतमा रमेको बताए । युगलको गीत सुन्नकै लागि र उनलाई प्रत्यक्ष भेट्का लागि सचेत एक्लै आएका थिए । उनी भन्दै थिए, ‘साथीहरु आउँछु भन्दै थिए, तर आएनन् ।
जाउँ भनेर कर गर्नु पनि भएन, सबैको म्युजिक टेस्ट उस्तै हुँदैन ।’ यसको अर्थ सचेतलाई युगलका गीतहरुको स्वाद मात्रै होइन समग्रता नै मनपरेको थियो । सचेतजस्तै अरुहरु पनि थिए ।
युगलले आफ्नो संसारसहित मिति, सँगै, कोठासहितका गीत प्रस्तुत गरे । गीतका शब्दहरुमा जीवन्तता थिए र सबैलाई सजीव बनाइरहेका थिए ।
एउटा गीतमा युगललाई संगीतकर्मी बर्तिका इयाम राईले साथ दिइन्, बसाईँ नामको गीतमा स्मृति र विस्मृतिहरु, दूर रहेकाहरुले गरेको नजिकको सम्झना अनि गाउँघरको बाध्यता तथा खबरहरुको चित्र सग्लो रुपमा उतारिएको छ । बर्तिकाले गीतको गर्भ बताउँदै गाइन्, युगलले गिटार बजाए र स्वरमा साथ दिए ।
चाँडै युगललाई बेलायत फर्कनु छ, तर शनिबारको साँझ आफ्ना शुभचिन्तकसँग सहज रुपमा प्रस्तुत भए, युगलमा हतारो कत्ति थिएन ।