
काठमाडौँ– पुस ९ गते सुनाकोठीका राजबहादुर राउतका आफ्नो ४५ दिनको कान्छो छोरा गुमाए। बिहानसम्म काखमा हाँसे-खेलेको छोरा बेलुका शान्त भयो र भोलिपल्ट बिहानै बित्यो। श्रीमतीले छोरालाई खोप लगाउन दिउँसो पाटन अस्पतालमा छोरा लिएर गएको र १ बजे खोप लगाएको जानकारी दिए।
‘४५ दिनको डिपीटी खोप लगाइयो। यो पाली तीनखोटा सुई लगाउनुपर्ने थियो, पोलियो थोपा पनि खुवाएको श्रीमतीले बताइन्’ राउतले देश सञ्चारसँग भने, ‘त्यसपछि बाबुलाई सञ्चो भएन, राति दूध खान मानेन, भोलिपल्ट बिहान बच्चालाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरे।’
राउतले बताएअनुसार देब्रे तिघ्रा सामान्य भन्दा धेरै सुन्निएको थियो। बच्चाले आँखा बन्द गरिरहेको थियो, राम्ररी खाएको थिएन। तर ४५ दिनमा लगाइने खोपले बच्चालाई गाह्रो हुन्छ।
तर……
राउतले बच्चालाई खोप लगाएपछि समस्या भएकोले अस्पतालको लापरबाही भएको बताए। उनले जावलाखेलको महानगरीय प्रहरी परिसमा किटानी जाहेर गरे। तर कार्यलयले किटानी लिन मानेन। राउतले बच्चाको पोस्टमार्टम गरेपछि दोष देखिएमा कारवाहि गर्ने भनेपछि शिशुको शवलाई शिक्षण अस्पतालमा लगियो।
प्रारम्भिक अनुसन्धानले के कारणले बच्चाको मृत्यु भएको बताउन नसकिने बतायो। त्यसपछि राउतले पाटन अस्पतालको इमर्जेन्सीमा गएर बच्चाको मृत्युको विरोध गरे। सिनियर स्टाफ नर्स आशा गिरी श्रेष्ठका अनुसार बिहान उनले तीन ओटा नेबुलाइजर (बाफ दिने मेशिन) भुईमा बजारे, यी मेशिन काम नलाग्ने भएको छ।
शव अस्पतालको शव गृहमा राखिएको छ। त्यसपछि राउतका साथीहरु अस्पतालमा आएपछि अस्पतालमा तनावग्रस्त थियो। महानगरीय प्रहरी परिसर जावलाखेलमा ९ जनालाई पक्राउ गरेर लगियो। राउतका साथी लालबहादुर जिसीले उनीहरुलाई अस्पतालमा केही नगरी लगेको बताए। अस्पतालका कर्मचारीले सुई लगाउँदा गल्ती गरेको उनीहरुले आरोप लगाए। बिहीबार बिहानबाटै अस्पतालमा तनाव स्रिजना नहोस् भनेर प्रहरी समेत परिचालन गरियो।
यता, पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले उक्त विषयमा पोष्टमार्टमको रिपोर्ट नहेरी केही भन्न नसकिने बताए। ‘सरकारले उपलब्ध गराउँदै आएको खोप लगाएका हौँ,’ उनले भने, ‘अरुलाई पनि दिएका छौँ।’
रेकर्ड शाखाका अनुसार पुस ९ गते ७४ ओटा बच्चालाई खोप लगाइएको थियो। अस्पतालमा अरु बच्चाहरु समस्या लिएर आएका छैनन्।
तर, परिवारले खोप लगाउने व्यक्तिलाई कारबाहीको माग राखेका थिए,ललितपुर प्रहरी परिसरमा अस्पतालका पदाधिकारी सहित पोर्ट मार्टमको रिपोर्ट आएपछि अस्पतालको गल्ति देखिएमा दोषिलाई कारबाही गर्ने सम्झौता भएको छ।
मृत शिशुका बुवा राउतले आफूलाई क्षतिपूर्ति नचाहिएको बताए, ‘मलाई अरु बच्चाको ज्यान नजाओस् भन्ने हो। रिपोर्ट आउन ६ दिन लाग्छ भन्नुभएको छ। दोषीलाई कारवाही होस् मेरो माग त्यति मात्रै हो।’
मृत शिशु राउतको छोरा र छोरी पछिका तेस्रो सन्तान थिए। शिशुको शव शुक्रबार बिहान ९ बजे बुझ्ने राउतले बताएका छन्।