
दाङ – रम्बी जिसी ७२ वर्षकी भइन् । उमेर बढ्दै गएपछि बिसञ्चो महसुस गराउन थालेको छ । भर्खरै गोठबाट मल फालेर पानी लिन पँधेरा तिर जानै लाग्दा डाक्टरसँग घरमै भेट भयो । आगनमा बसेर डाक्टरलाई समस्या बताउँदै गइन् । पहिलो पटक गाउँमा डाक्टर आएपछि उनले ढाड दुख्ने, स्वास फेर्न कठिन हुने, खुट्टा दुख्ने समस्या सुनाइन् ।
राप्ती गाउँपालिकाले नियुक्त गरेका डाक्टर पुष्प भुसाल औषधी बोकेर बिरामीको उपचार गर्न विकट बस्ती पसेपछि रोग लुकाएर बसेकाहरुले उपचार पाएका छन् ।
पवित्रा घर्तीकी चार महिनाकी छोरी छन् । तर, चिसोले भेटाएको छ । ‘घोक्छे । स्वास फेर्न धौ मान्छे’,उनले भनिन् ‘खोप लगाउन लगेको हुँ । त्यस पछि अस्पताल लगेको छैन ।’ घर्तीलाई डाक्टरले बच्चालाई न्यानो पारी राख्न सल्लाह दिए ।
घर घरमा पुगेर बिरामीको जाँच हुन थालेपछि राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटका स्थानीय बासिन्दा खुसी भएका छन् ।
‘सामान्य ज्वरो आउँदा गाउँमा खुलेको स्वास्थ्य चौकीमा जान्छौं । डाक्टरको सेवा लिन कि त लमही, कि त बुटवल जान्छौं । तर, हाम्रो गाउँमा डाक्टर आएपछि धेरै खुसि लाग्यो’ स्थानीय उमा घर्तीले भनिन्, ‘बेला बेलामा डाक्टर गाउँ पसे हामी गरिब दुखीलाई सजिलो हुने थियो ।’