
अहिले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेनमा रहेका गोलरक्षक जियानलुइजी बुफोनले आफू इटालियन क्लब युभेन्टसमा रहेका बेला डिप्रेसन र पेनिक अट्याकबाट गुज्रिएको खुलाएका छन् ।
४० वर्षका बुफोनले सिनियर खेल जीवनको १७ वर्ष इटालियन क्लब युभेन्टसमा बिताएका हुन् । उनले युभेन्टसबाट ६५६ खेल खेलेका छन् भने ९ पटक सिरी ए फुटबलको उपाधि जितेका छन् । उनी सन् २०१८ मा पिएसजीमा अनुबन्धित भएका हुन् ।
भ्यानिटी फेयरसँगको अन्तर्वार्ताको क्रममा बुफोनले इटालियन जाइन्ट युभेन्टसमा आफूले सुरुका वर्षमा निकै संघर्ष गरेको बताएका हुन् ।
उनले भनेका छन्, ‘केही महिना त सबै चिजको अर्थ समाप्त भए जस्तो थियो । कसैले मेराबारेमा वास्ता गर्दैनन् जस्तो लाग्यो, मात्रै ख्याल हुन्थ्यो त म कस्तो फुटबलर हुँ भन्ने ।’
बुफोनले अघि भनेका छन्, ‘यस्तो लाग्थ्यो कि सबैले बुफोनलाई खोजिरहेका छन्, कसैले पनि जिजीलाई सोधेका पनि छैनन् ।’
सन् २००६ मा इटालीका लागि विश्वकपको उपाधि जितेका बुफोनका अनुसार उनी २५ वर्षको हुँदा ‘टर्निङ्ग प्वाइन्ट’ आयो । उनले त्यो बेला युभेन्टसका गोलकिपिङ्ग कोचसँग आफूले सिरी ए को खेल खेल्न नसक्ने बताए ।
बुफोनले भनेका छन्, ‘म गोलकिपिङ्ग कोच इभानो बोर्डोनकोमा गएँ र भनेँ–इभानो गोलकिपर एन्टोनियोलाई वार्म अपका लागि ल्याउनुस् र खेल्न लगाउनुस् । म खेल्न सक्छु जस्तो लागेको छैन।’
बुफोनले खुलाए, ‘म पेनिक अट्याकबाट ग्रस्त भएको थिएँ र खेल्न सक्ने अवस्थामा थिइनँ ।’
बुफोनले आफू यो अवस्थाबाट नगुज्रिएको भए शायद यसले अरुहरुलाई पनि मानसिक उथलपुथलको अवस्थामा ल्याउने थियो र म यसबाट कहिले बाहिर निस्कन सक्ने थिइनँ ।’