
काठमाडौँ– नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई जापान सरकारले उपकरण सहयोग गरेको छ। क्यान्सर उपचारको लागि जापान सरकारले सहयोग गरेको उपकरण ८७ लाख नेपाली रूपैयाँ बराबर रहेको अस्पतालले जनाएको छ।
नेपालका लागि जापानी राजदूतकी पत्नी एरिको साइगोले बिहिबार उपकरण लगायतका सामग्री सम्झौतापत्र सहित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठलाई हस्तान्तरण गरेकी थिइन्।
उपकरणहरूमा अल्ट्रासाउण्डसहितको पोर्टेबल इको कार्डियोग्राम (इसिजि) मेसिन, सानो आन्द्राको क्यान्सर पत्ता लगाउने इआरसिपी मेसिन र फोक्सोको क्यान्सर पत्ता लगाउने ब्रोन्कोस्कोपी मेसिन रहेका छन्।