सेक्सको भोक र सेक्सको रोग

सेक्सको भोक र सेक्सको रोग
+
-

‘सृष्टि’ धार्मिक मान्यताअनुसार ब्रहमले वा तत्तत् धर्मसम्बन्धी ईश्वरले गरेका हुन् अथवा आधुनिक विज्ञानको अवधारणा ‘बिग बैंग’ बाट ‘सृष्टि’ प्रारम्भ भयो, यसको छिनोफानो पृथ्वीको अन्तिम दिनको अन्तिम प्रहरसम्म हुनसक्ने सम्भावना छैन।

विज्ञान ‘बिग बैंग’ भएको 1x 10‾43 सेकेण्डपश्चात मात्रै सृष्टि विषयक अवधारणा बनाउन सक्छ। यो समयपूर्व के भयो, ‘बिग बैंग’ भन्दा पहिला के थियो ? विज्ञानका लागि यस्ता प्रश्न औचित्यहीन हुन्। यी प्रश्नमा मनोविवाद गर्ने, अन्तहीन निश्कर्षविहीन चर्चा परिचर्चा गर्ने जस्ता अनौचित्य कृत्यमा दर्शन क्षेत्रको एकाधिकार कायमै रहन्छ।

सृष्टि प्रारम्भ भयो, सृष्टिचक्र मनुष्यसम्म आइपुग्यो। मनुष्यलाई ईश्वरले आफ्नै हातले बनायो वा अर्बौ वर्षमा करोडौं चरण पार गर्दै मनुष्यको विकास भयो, यसको निर्क्यौल पनि ‘कयामत का दिन’ सम्म हुन सम्भव छैन।

तर त्यसपछिका कुरा भने निर्विवादरुपले स्थापित भइसकेका छन्। मानिसको उत्पत्ति जसरी भएपनि ‘ऊ नाङ्गै थियो, सुविधाहीन थियो, ज्ञान, विज्ञानहीन थियो, इन्टरनेट त छाड्नुस्, आगो बाल्नेबारे पनि अनभिज्ञ थियो।’

जुनसुकै धर्मको ईश्वर पनि सर्वगुण सम्पन्न, ऐश्वर्यधारी तथा समस्त कलायुक्त चित्रण गरेको पाइन्छ। प्रश्न उठ्छ, ईश्वरजस्तो करुणावानले आफ्नो प्रतिकृतिलाई पृथ्वीमा पठाउँदा पूर्णतया गुणरहित, तन्नम् कसरी पठाउन सक्यो होला?

न भोजनको व्यवस्था, न आवासको ठेगान, न वस्त्रबारे ज्ञान ! अनि पठाइदियो, जाऊ छोरा, पृथ्वीको साम्राज्य भोग गर!!

धार्मिक महानुभावहरुलाई असहज लागे पनि, चित्त दुखे पनि यस विहङ्गम सत्यलाई अस्वीकार गर्न सकिन्न, ‘मनुष्य आफ्नो पौरख, ज्ञान, विज्ञानले मनुष्य बनेको हो, अन्यथा सृष्टिमा उसको उत्पत्ति जनावर सरह नै भएको थियो।’

हो, अनेकौं नङ्ग्रा खियाउँदा खियाउँदा नङ्मा सीमित पारेर केही हजार वर्ष पहिला मात्रै त्यो जनावर मनुष्य बनेको हो।

बलात्कार
बलात्कारको शाब्दिक अर्थ शब्दकोशमा जे पारिभाषित गरिए पनि वर्तमान युगमा यसको प्रचलन बिनासहमति बलपूर्वक गरिने यौनक्रिया हो।

आधुनिक सभ्य मनुष्य समाजका लागि बलात्कार घृणित, जघन्य, निन्दनीय, पाशविक आपराधिक कृत्य हो भन्नुमा शायदै कसैको विमति होला।

हामीले जति निन्दा गरे पनि हाम्रो समाज यस अमानवीय वृत्तिबाट मुक्त हुन सकेको छैन र पृथ्वीको कुनै पनि कुनाकाप्चामा जबसम्म यस्तो पाशविक वृत्तिको पुनरावृत्ति भइरहन्छ, हामीले आफूलार्ई मनुष्य भनाउनु सार्थक हुन सक्दैन।

स्मरण रहोस्, काम अथवा यौन जन्मजात गुण होइन। यससम्बन्धी अंग, अवयव, रसायन (हार्मोन्स्) को विकास जन्मेको धेरै वर्ष पछि मात्र हुने गर्छ।

अचेल प्रायःजसो प्रत्येक दिन बलात्कारका घटना सुन्न पाइन्छ। तर, बलात्कारका घटनामा अहिले आएर वृद्धि भएको हो भन्नुमा सत्यता होइन, यो कुरीति जुनसुकै देशकालमा पनि व्याप्त थियो।

अहिले आएर विभिन्न मिडिया, सोसल मिडिया र नारीहरुमा विकास भएको चेतना, आत्मविश्वास र जुझारुपनाले यी घटना प्रकाशमा आउने वातावरण बन्दै गइरहेका हो। कल्पना गर्नुस्, आजभन्दा ५० वर्ष पहिला हाम्रा दिदीबहिनीसँग यस्ता दुर्घटना घटेमा के नै पो उपाय थियो र।
समाजले यौनसम्बन्धलाई प्रतिष्ठाको विषय किन बनायो? कुनै बलात्कृत नारी हाम्रो करुणा र संवेदनाको पात्र नबनी हाम्रो तुच्छ दृष्टि र मानसिकताको हेय पात्र किन हुन्छे? यो प्रश्न हामी सबैले आफैंसँग सोध्नुपर्ने होइन र?

सरकार, प्रशासन यन्त्र, समाजशास्त्री, मनोविद्, सामाजिक अभियन्ता, शिक्षाविद्, सबै संयन्त्र बलात्कार रोक्न आ–आफ्नो ठाउँबाट प्रयासरत नरहेको होइन। तर, परिणाम भने ‘भ्यागुताको धार्नी’ सरह नै शून्य।

अब त बलात्कारपछि पीडितको हत्या गर्ने प्रचलन बढ्दै गइरहेको छ।

के हामी आफ्ना सबै मानवीय प्रयासले बलात्कार रोक्न सक्छौं? सबै विद्धत्वर्गले आफ्ना अभीष्ट ईश्वरको प्रतिमामा छोएर सत्य सम्भाषण गरुन्, के हाम्रा सबै कठोर भन्दा कठोर प्रयास (मृत्युदण्डसम्म) ले बलात्कारका घटना रोकिन्छ र?

बलात्कारी के हामीभन्दा पृथक ग्रहबाट आएको प्राणी हो, जसको आगमनमा निषेध गरी हामी आफू बसोवास गर्ने पृथ्वीलाई बलात्कार शून्य बनाउन सक्छौं?

तपाईं ईश्वरको कुन प्रारुपमा विश्वास गर्नुहुन्छ, तपाईंको व्यक्तिगत अभिरुचि! म ईश्वरको कुनै पनि छाँयाछविमा विश्वास नगर्ने ‘अहं ब्रहमास्मी’ को अहंकारबाट उद्घोष गर्छु, हाम्रा कुनै पनि प्रयास बलात्कार रोक्ने दिशामा प्रभावी हुन सक्दैन।’

बलात्कारी के हामीभन्दा पृथक ग्रहबाट आएको प्राणी हो, जसको आगमनमा निषेध गरी हामी आफू बसोवास गर्ने पृथ्वीलाई बलात्कार शून्य बनाउन सक्छौं?

सरकार, प्रशासन, सामाजिक, धार्मिक क्षेत्र, शिक्षा क्षेत्रको जमातमा के बलात्कारी छैनन् र?

यौनको कीमिया नबुझेसम्म मानव समाजलाई बलात्कारबाट मुक्त बनाउन सम्भव छैन।

यौन प्रबल शारीरिक ऊर्जा हो, यसको प्रवेग कुनै पनि गंगाभन्दा तीव्र हुन्छ।

कुनै एकोहोरो र एकतर्फी प्रयासले ‘यौनेच्छा प्रवेगले भत्काउने गरेका सामाजिक तटबन्ध’ जोगाउन सकिन्न। नैतिकताका समाज निर्मित तटबन्ध छड र सिमेन्टले बनाइएका हुन्नन्। यी त सुगमता र सहजतामा आत्मप्रवंचनाको दोहोरी गाउने मेलो मात्र हुन्।

बलात्कारका घटना दोहोरिन नदिन घटनापछि जुलुस, विरोध प्रदर्शन, न्यायको माग गर्नु सोह्रैआना उचित भएपनि पर्याप्त होइन। समाजका सबै वर्गले यस सम्बन्धमा इमान्दार प्रयास नगरेसम्म यसको अन्त्य हुुनसक्दैन।

एउटा दृष्टान्त हेरौं, समाजका विज्ञ तथा सरकारले बिहेको उमेर (उनीहरुको मान्यतामा यौनसम्बन्ध राख्ने उमेर) २०–२१ वर्ष तोकेको छ।
प्राकृतिक रुपमा १३–१४ वर्ष टेक्दा केटाकेटीको शरीरमा ‘केमिकल लोच्चा’ प्रारम्भ भइसक्छ। र, झन् अब त खानपान, रहनसहन, टीभी, सिनेमा, हातहातमा मोबाइल, इन्टरनेटका प्रभावले यो उमेर सीमा झन् छोट्ट्याएको छ। ए विद्धतजन! यस प्रवेगलाई नियमन वा व्यवस्थापन गर्ने उपाय के? तिमीहरुको धार्मिक, सामाजिक, मान्यतामा त हस्तमैथुन पनि पाप र अपराध हो।

यौनलाई हेर्ने सामाजिक दृष्किोणमा परिवर्तन नआएसम्म बलात्कारका घटना रोक्न सकिन्न।

यौन विषयक शिक्षा व्यापक नभएसम्म यो विकृति थाम्न सकिन्न।

यौन ऊर्जालाई ‘प्रभोक’ गर्ने समस्त बाह्यसाधनमाथि बन्देज नगरेसम्म सारा प्रयास धुमिल नै रहन्छन्।

कडा कानुन मात्र होइन, कानुनले अपराधीको संरक्षण गरे सम्म अपराध बिहीन समाज बन्न सक्दैन।

बलात्कारका मुद्दाका लागि ‘फास्ट ट्रैक’ अदालतको अवधारणा ल्याई तोकिएको समयमा न्याय सम्पादन गर्ने परिपाटीको विकास गर्नुपर्छ।
आपसी सहमतिमा हुने यौनजन्य क्रियाकलापमा प्रहरी प्रशासन, समाजको टाउको दुखाइको अन्त्य हुन आवश्यक छ।

अश्लील, छाडा, कामोत्तेजक पहिरन, सामाग्री (लेखन),सिनेमा, गीत आदिको प्रचारप्रसारमा बन्देज लगाउनुपर्छ।

विद्यालयस्तरबाटै यौनशिक्षा, मानव शरीर, नर्भस सिस्टम, इन्डोक्राइन सिस्टम, कार्डियोभैस्कुलर सिस्टम, लिम्प्याथिक सिस्टम, रिप्रोडक्टिभ सिस्टमबारे पढाइनु पर्छ।

प्रकृतिले विकासक्रममा जुन एउटा जनावर बनायो, मष्तिष्कको प्रयोगले त्यो जनावर आदि यावतका शृंखलामा (भोजन, तकनीक, औषध, आवास, मनोरञ्जन आदि आदि) सबै अन्य जनावरभन्दा कुशल हुँदै मानव बन्ने दिशामा उन्मुख छ। धर्म, समाज, अनुशासन, राजनीति, सबैले यस कार्यमा भरपुर योगदान गरेका छन्। तर अब यी सबको उपयोगिता गौण हुँदै गैरहेको छ। मानवोन्मुख यस प्रजातिलाई पूर्ण मानव बनाउने अभिभारा अब विज्ञानको काँधमा छ। विज्ञानले बलात्कारजस्तो जघन्य वृत्तिबाट छिट्टै नै समाजलाई मुक्त बनाउने छ भन्ने आशा राख्नु दीवास्वप्न लागेपनि यो असम्भव छैन। आशा गरौं, आउने ५० वर्षभित्र विज्ञान प्रद्योगीकीले हामीलाई बलात्कारमुक्त समाज बनाउन सहयोग गर्नेछ।

२०१७

ज्ञान मित्र।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’