
पोखरा-थाइल्याण्डमा आयोजना हुने एसियाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा पोखरामा निर्माण गरिएको ‘टु द एभरेष्ट एण्ड वियोन्ड’ छनोट भएको छ।
सगरमाथा आरोहण अभियानलाई केन्द्रित गरी बनाइएको वृत्तचित्र विभिन्न चार चरणको छनोट प्रकृयापछि अन्तिम १२ मा पर्न सफल भएको हो।
लागु पदार्थ प्रयोगकर्ताहरुको एशियाली सञ्जाल (एएनपियुडी)ले आयोजना गरेको प्रतियोगितामा नेपाल लगायत १६ एसियाली मुलुकहरुको सहभागिता रहने प्रतिस्पर्धाको सहआयोजक पोखरा फिल्म सोसाइटीले जानकारी दिएको छ।
पूर्वराष्ट्रिय फुटबल खेलाडि तथा एचआइभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण अभियानलाई फोकस गरी ‘टु द एभरेष्ट एण्ड वियोन्ड’ निर्माण गरिएको वृत्तचित्रका निर्माता/निर्देशक विष्णुप्रसाद गौतमले जानकारी दिए।
विश्व चलचित्र प्रतिस्पर्धामा पछिल्लो समय सामाजिक यथार्थमा आधारित विषय वस्तुहरुलाई बढी प्राथमिकता दिने हुँदा वृत्तचित्रले सहजै स्थान पाएको उनले सुनाए। ‘यो काम प्रतिस्पर्धाका लागि भन्दा पनि गोपाल दाईको सगरमाथा अभियानको लागि पनि हो,’ उनले भने।
विसं २०४२ सालको राष्ट्रिय फुटबल टिमका प्रमुख डिफेन्डर गोपाल लागुपदार्थ प्रयोगका कारण टिम र लिग गेमबाट समेत निस्काशित भएका थिए। त्यसपछि उनी पोखरा फर्किए।
परिवार समाज र आफन्त सबैले लागुपदार्थ प्रयोगकर्तालाई तेश्रो दर्जाको रुपमा हेरेपछि उनमा मानसिक रोगको समस्या बढ्यो र बजारमा पाइने सबै खाले लागुपदार्थ प्रयोग गरे। अन्ततः एचआइभी संक्रमित भए ।
२५ वर्ष पहिला डक्टरले तीन महिना भित्र मर्ने दाबी गरिएका गोपाल यही आउँदो वैशाखमा सगरमाथा आरोहण गर्ने अभियानमा छन्। यही कथामा वास्तविक दृश्यहरुको संमायोजना गरी वृत्तचित्र निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।
श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको वृत्तचित्रमा घनश्याम लामिछाने, पुष्कर नन्दन अधिकारी र शेखर गौतमको लगानी रहेको छ। छायांकन र सम्पादनमा घनश्याम लामिछाने रहेका छन् भने रंग संयोजन नेत्र गुरुङको हो। वृत्तचित्रको पाश्र्व संगीत रञ्जन गायकको रहेको छ भने, कथा तथा निर्देशन विष्णुप्रसाद गौतमको रहेको छ।