
विश्वमा अहिलेसम्म थाहा भएका कफीका १२४ प्रजाति मध्ये ६० प्रतिशत लोप हुने अवस्था पुगेको पछिल्लो अनुसन्धानले देखाएको छ । १०० भन्दा बढी प्रजातिका कफी प्राकृतिक रुपमै जंगलमै उम्रने र फल्ने गरेका छन् ।
हामीले पिउने गरेका दुई प्रकारका कफीहरु पनि जंगलबाट ल्याएर पछि खेती गर्न थालिएको हो । जंगली कफीको अवस्था चिन्ताजनक रहेको वैज्ञानिकले बताएका छन् ।
हरेक पाँचमा एक प्रजातिका कफी लोप हुने अवस्थामा पुगेको र त्यसका ६० प्रतिशत अति नै जोखिममा रहेको वैज्ञानिकले बताएका छन् । अनुसन्धानमा संलग्न वैज्ञानिक डा. आरोन डेविसका अनुसार जंगली कफी नभएमा विश्वमा पिउनका लागि कफीको अभाव हुनेछ ।
इतिहास हेर्दा कफीका बिरुवालाई दीगो बनाउनका लागि जंगली कफीको भूमिका रहने गरेको डा. डेविसले बताए ।
साइन्स एड्भान्स जर्नलमा प्रकाशित भएको अध्ययन प्रतिवेदनमा जंगली कफी संरक्षणका लागि तत्काल प्रयासको खाँचो रहेको उल्लेख गरिएको छ । तत्काल काम नगरिए कफी उत्पादनमा दीर्घकालीन असर पर्नेछ ।
जंगली कफीका ७५ प्रजाति लोप हुने जोखिममा छन् । ३५ प्रजाति भने जोखिममा छैनन् । बाँकी १४ प्रजातिका कफीबारे निकै कममात्रै जानकारी रहेको अनुसन्धानमा उल्लेख छ ।
जंगली कफीका २४ प्रतिशत प्रजातिका बिरुवा संरक्षण क्षेत्र भन्दा बाहिर छन् । यस्तै ग्लोबल चेन्ज बायोलोजीमा प्रकाशित भएको अर्को अनुसन्धानमा जंगली अरेबिका कफी जोखिमको अवस्थामा पुगेको आइयुसिएनको रेड लिस्टमा उल्लेख गरिएको छ ।
अहिले प्रयोग हुँदै आएका कफी अरेबिका र रोबाुस्ता प्रजातिका कफी हुन् । यी कफी नै विश्वव्यापी रुपमा खेती गरेर उत्पादन हुने गरेका छन् । बाँकी १२२ प्रजातिका कफी जंगलमा फल्ने गरेका छन् ।
कफीको बिउ जोगाउन र विश्वको मागलाई धान्नका लागि जंगली कफीको भूमिका महत्वपूर्ण छ । जंगली कफीको स्वाद त्यति मिठो हुँदैन तर कफीका बिरुवालाई जोगाइराख्ने जिन त्यसमा हुने गरेका छन् ।
विभिन्न रोगले कफीका बिरुवालाई आक्रमण गर्दै आएकाले जंगली कफीको संरक्षण खाँचो रहेको वैज्ञानिकले बताएका छन् ।