
बुटवल – बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीलाई व्यवस्थित गर्ने जिम्मा पाएको लुम्बिनी विकास कोष ५ महिनादेखि सदस्य सचिव बिहीन छ ।
गत साउन १० मा नेपाल सरकारले तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेललाई नियुक्त गरेपनि उनकाविरुद्ध उजुरी परेपछि पद रिक्त छ ।
साउन १३ मा कोषको कार्यालयमा हाजिर भएका उनी अदालतमा मुद्दा परेपछि २५ गतेदेखि कार्यालयमा गएका छैनन् ।
जसका कारण सदस्य सचिवको अनुपस्थितिमा प्रशासनिक, निर्माणाधीन आयोजनाको भुक्तानी, अनुगमनलगायतका काम रोकिएको प्रशासन प्रमुख चुडामणि भट्टराईले जानकारी दिए ।
प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्ष र संघीय सरकारले सन् २०२० नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेपनि नेपालकै महत्वपूर्ण पर्यटकीय थलोका काम अन्यौलमा छन् ।
सदस्य सचिवको अनुपस्थितिमा योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईले काम चलाएका छन् । ‘ठूला नीतिगत निर्णयहरु गर्न, अनुगमन गर्न र नियमित काम व्यवस्थित गर्न समस्या भएको छ’, उनले भने, ‘एक्लैले दुईवटा जिम्मेवारी पूरा गर्न पनि गाह्रै छ ।’
निर्माणाधीन आयोजनाहरुको भुक्तानीका लागि समस्या पर्दा काम निरन्तर हुन नसकेको उनको भनाई छ । ‘हामीले यो समयमा सबै काम तीब्र गतिमा अघि बढाउनुपर्ने हो, तर सोंचेअनुसारले काम हुन सकेका छैनन्’, उनले भने ।
लुम्बिनीमा हाल विद्युतीकरण, सभाहल निर्माण, सुरक्षा पोष्टहरुलगायतका संरचनाका काम जारी छन् ।
हालसम्म साढे ५ अर्ब खर्च भएको लुम्बिनी गुरुयोजना पूरा गर्न अरु ६ अर्ब रकम खर्चिनुपर्ने योजना प्रमुख भट्टराई बताउँछन् । चालु वर्षका लागि ५७ करोड बजेट लुम्बिनीको विकासका लागि छुट्टिएको छ ।