
‘अनलाइन मेला’ कस्तो होला भन्ने उत्सुकताले मेरा हातका औँलालाई मोबाइलको किबोर्डमा ‘फुडमाण्डु’ टाइप गर्न बाध्य बनायो। ‘फुडमाण्डु’सँगै फुड फेस्टिवल के हो भनेर आयो।
के हो त फुड फेस्टिवल? फुड फेस्टिबलका बारेमा जान्न फुडमाण्डुका म्यानेजर श्यामरत्न मालीसँग कुराकानी गर्न म नक्सालमा रहेको फुडमाण्डुको कार्यालय पुगें।
फुड फेस्टिवल भनेको के हो?
मालीले भने, ‘खानाको मेला हो। फुड फेस्टिवल हामीले अनलाइनमार्फत आयोजना गरेका छौं। अहिलेसम्म अनलाइन मार्फत कसैले गरेका छैनन्, हामीले नै यसको सुरुवात गरेका हौँ।’
फुडमाण्डुको अनलाइन फुड फेस्टिवल पहिलोपटक २०१७ डिसेम्बर २२ देखि जनवरी ५ सम्म भएको थियो। मालीले भने, ‘गतवर्ष फुडमाण्डुको अनलाइन पेज मार्फत आफूलाई मन पर्ने खानेकुरा अर्डर गर्न सकिन्थ्यो तर यसपालि फुडमाण्डुको नयाँ एप बनाएका छौँ। फुडमान्डुको एप डाउनलोड गरेर अर्डर गर्न सकिन्छ।’
मोबाइल एपका अलावा अनलाइन पेजबाट पनि अर्डर गर्न सकिने मालीले बताए। अनलाइन फुड फेस्टिबलमा ३० वटा रेष्टुरेन्टले स्टल राखेका छन्। फेस्टिवलमा विभिन्न प्रकारका खानेकुरा पाइन्छन्।
अनलाइन फुड फेस्टिवलमा ‘फ्याल्स सेल’को स्टल दिनमा दुई पटक खुल्छ। दिउँसो १ बजे देखि २ बजेसम्म र साँझ ७ बजे देखि ८ बजेसम्म। ग्राहकले यही समयभित्र खाना अर्डर गरिसक्नुपर्छ। अरु समयमा बन्द रहन्छ। त्यस्तै ‘सबै रु.एकमा’ स्टलबाट भने जुनसुकै खाना एक रुपैयाँमा अर्डर गर्न सकिन्छ।
अर्को ‘मिस्ट्री ब्याग’ स्टलमा ग्राहकले खाना अर्डर गर्छन् तर त्यसमा कुन खानेकुरा छ भन्ने कुरा ग्राहकलाई थाहा नहुने म्यानेजर माली बताउँछन्। मिस्ट्री ब्यागमा ‘भेज आइटम’ मात्र पाइन्छ।
उनी भन्छन्, ‘यस फेस्टिवलमा अनलाइन गेम खेलेर उपहार जित्न सकिने र फ्री होम डेलेबरीको समेत व्यवस्था छ।’ रेष्टुरेण्टमा पाइने मूल्यभन्दा कम मूल्यका खानेकुरा पाइने यो फेस्टिवल जनवरी १५ देखि २४ सम्म चल्ने छ।