
काठमाडौँ – डाक्टर गोविन्द केसीको १६ औँ सत्याग्रह गम्भीर दुर्घटनामा जाने खतरा बढ्दै गएको छ । ११ दिनदेखि १६ औँ अनशनमा रहेका केसी आफ्ना मागमा दृढ र सरकार उनका माग पूरा गर्नमा उदासिन भएपछि अनशन आन्दोलन दुर्घटनामा जाने खतरा बढेको हो ।
अनशनकै क्रममा डा. केसीको स्वास्थ्यमा तलमाथि हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । तर शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सर्वोच्चता स्वीकार गर्न डा. केसीलाई आग्रह गरेका छन् ।
कांग्रेस सांसद गगन थापाले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसदको आदेश आफूले मान्ने तर आदेश दिन नसक्ने बताएका थिए । सांसद थापाले ‘डा. केसीसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक प्रधानमन्त्रीले चाहनु भयो भने अघि बढ्छ । प्रधानमन्त्रीप्रतिको विश्वासलाई ढल्न दिने वा कार्यान्व्यन गर्ने ?’ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
सांसद थापाको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसद जनप्रतिनिधिको थलो भएकोले संसदको सर्वोच्चताप्रति आफू नतमस्तक रहेको बताए । उनले ‘एकजना व्यक्ति अनशन बसेपछि संविधान र कानुनले काम नगर्ने कुरा लोकतन्त्रमा हुन्छ ?’ भन्दै प्रश्न गरेका थिए । बहुमत छ भन्दैमा संसदको गरिमा र सर्वोच्चतालाई थिचोमिचो गर्न नसक्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले अब सरकार डा. केसीका मागबारे लचिलो नबन्ने पक्षमा रहेको प्रष्ट पार्छ ।
तर डा. केसी समर्थकहरु भने सरकार उनका माग पूरा गर्न बाध्य हुने कुरामा ढुक्क छन् । अन्तिम सयममा सत्ता नै ढल्ने अवस्थामा पुगेपछि सरकार घुडा टेक्न बाध्य हुने डा. केसीको आन्दोलनका सहयोगी किशोर केसीले बताए ।
चिकित्शा शिक्षा सुधारको माग राख्दै यसअघि १५ औँ अनशन बसेका बेला सरकारले उनका माग पूरा गर्ने गरी चिकित्शा शिक्षा विधेयक संसदमा पठाउने सम्झौता गरेको थियो । आफूसँग गरिएको सम्झौता तोडमोड गरेर विधेयक संसदमा पेश पठाइएको भन्दै डा. केसीले १६ औँ अनशन सुरु गरेका हुन् । तर संसद भन्दा ठूलो व्यक्ति हुन नसक्ने भन्दै सरकारले उनका माग पूरा गर्ने सामथ्र्य अब सरकारसँग नरहेको तर्क गरिरहेको छ ।
डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बनेपछि उनलाई उपचारका लागि इलामबाट काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिएको छ । इलामका डाक्टरहरुले केसीको अवस्था अत्यन्त चिन्ताजनक रहेको र जुनसुकै बेला गम्भीर दुर्घटना हुन सक्ने बताएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत रातारात काठमाडौँ ल्याएर शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।
तर सरकार डा. केसीले उठाएका माग पूरा गर्नमा उदासिन देखिएपछि अनशन आन्दोलन गम्भीर दुर्घटनामा जाने खतरा टरेको छैन । विभिन्न जिल्लामा डा. केसीको समर्थनमा मानिसहरु सडकमा उत्रने क्रम सुरु भएको छ भने प्रमुख विपक्षी कांग्रेस केसीका मागलाई प्रमुख मुद्दा बनाएर संसदमा उभिएको छ ।
डा.केसी आफ्नो अडानमा अडिग र सरकार उनका मागबारे उदासिन रहेका अवस्थामा अब के हुन्छ भन्ने प्रश्न अहिले आम चासोको विषय बनेको छ ।