
मोरङ– नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखाले डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । संघका अध्यक्ष डा. फरवार्ड सिलवालले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीसँग सरकारले गरेका सम्झौताको अविलम्ब र अक्षरश पालना गर्दै जीवन रक्षाको माग गरेका हुन।
केसी १६औं पटक अनसनमा बसेको १२ औं दिन वितिसक्दा पनि नेपाल सरकारले कुनै चासो नदेखाएको र केसीसँग गरिएका सम्झौतालाई सरकारले आफू अनुकूल व्याख्या गरेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
विज्ञप्तिमा सरकारको अग्रसरतामा भएका सम्झौता कार्यान्वयनतर्फ चासो नदेखाइ सम्झौता उल्लंघन गर्नतर्फ सरकार आफैँले अग्रसर भएको भन्दै दुःख व्यक्त गरिएको छ।
यस्ता परिपाटीले नेपाल सरकारको गरिमा र छविमाथि गम्भीर शंका उत्पन्न गराउँदा नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखा स्तब्ध बन्नु परेको जनाएको छ।