
मोरङ- खुट्टाको नशाबाट बेलुन छिराएर विराटनगरमा एक विरामीको मुटुको भल्भ खोलिएको छ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आइतबार लामोसमयदेखि मुटु सम्बन्धि समस्याबाट पीडित सुनसरी सोनापुरका ४५ वर्षीय मोहम्मद करिमुद्दिन मियाँको मुटुको भल्भ खोलिएको हो।
मुटुको भल्ब साँगुरिएका मियाँको खुट्टाको नसाबाट बेलुन छिराएर भल्ब खोलिएको मुटु रोग विशेषज्ञ डा. राजीव नेपालले जानकारी दिए।
‘यसक्रममा विरामीलाई बेहोस नबनाइकन भल्ब खोल्न मिल्छ जसले बिरामीलाई पनि धेरै कठिनाइ हुन्न,’ अस्पतालका निर्देशकसमेत रहेका डा. नेपालले भन्छन् ‘विना अप्रेसन गरिने यस प्रकारको उपचारले मुटु सम्बन्धी समस्या भएका धेरै बिरामीलाई राहत मिलेको छ।’
डा. नेपालले मिया“को उपचार पिटिएमसी पद्धतिबाट भएको बताएकाछन्। विगत १५ वर्षदेखि मियाँको मुटुमा समस्या देखा परेको थियो। राम्रो उपचारको खोजिमा काठमाडौंदेखि भारतका विभिन्न अस्पतालपनि पुगेका थिए। अस्पताल शैयामा हर्षित मुद्रामा देखिएको मियाँले भने, ‘विभिन्न अस्पतालमा धाउँदा र धेरै खर्च गर्दा पनि समस्या ज्यूँका त्यूँ थियो, तर लामो समयपछि यहींको नोबेल अस्पतालबाटै उपचार पाइयो।’
उपचारकै क्रममा काठमाडौंको एक अस्पतालले ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्छ भनेपछि निराश हुदैं उनी घर फर्किएका थिए। ‘छाती चिर्नुपर्छ भनेर धेरै डर लागेको थियो।तर विना चिरफार उपचार पाएपछि पीडाबाट मुक्ती मिलेको छ,’ मियाँले भने।