
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ।
डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो।
हाल मन्त्रालयले मिर्गौला रोगका बिरामीलाई उपचारसेवा गरेवापत रु चार हजार, प्रत्यारोपणका लागि रु चार लाख, प्रत्यारोपण पश्चात औषधि सेवनका लागि रु एक लाख प्रदान गर्दै आएको छ। सातवटै प्रदेशमा गरी हाल चार हजार ५०० बिरामीले मिर्गौला उपचार सेवा लिइराखेको मन्त्रालयले जनाएको छ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले सो जानकारी दिँदै मिर्गौला रोगको उपचार सेवाका लागि आर्थिक अभाव रहेको बताए। उनले मिर्गौला रोगका बारेमा जनचेतना जगाउन मन्त्रालयले ध्यान दिएको बताए।
बैठकमा समितिका सदस्य खगराज अधिकारीले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारले ध्यान दिनुपर्ने बताए। समितिका सदस्य मानबहादुर विश्वकर्माले मिर्गौला रोग लाग्न नदिन के गर्नुपर्छ भन्ने बारेमा समुदायमा जनचेतना फैलाउनु पर्नेमा जोड दिए।
अर्का सदस्य उमेश श्रेष्ठले मिर्गौलाका रोगी बढ्ने तर रोग रोकथामका लागि बजेट घट्ने प्रवृत्तिलाई अन्त्य गर्न सुझाव दिए। समितिका सदस्य दिलबहादुर महतले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउन ध्यान दिन माग गरे।