
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारमा अहिले भाइरल ज्वरो वा मौसमी फ्लुले दुःख दिएको छ ।
प्रचण्ड परिवारका अधिकांश सदस्य मौसमी फ्लुबाट ग्रसित भएका छन् । प्रचण्ड स्वयम् पनि मौसमी फ्लुका कारण ग्रस्त भएर उपचारमा छन् । उनको घरमै उपचार भइरहेको छ र डाक्टरले घरमै गएर स्वास्थ्यमा निगरानी गर्दै आएका छन् ।
तर प्रचण्ड परिवारका दुई सदस्य अहिले अस्पतालमा छन् । केही दिनअघि (गएको शनिबार) प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।
उनमा ज्वरो आउने तथा छातीमा संक्रमणसहितका समस्या देखिएकाले अस्पतालमा राखेर उपचार गरिएको प्राध्यापक डा. युवराज शर्माले जानकारी दिएका छन् । सीता दाहालको स्वास्थ्यमा सुधार हुँदै गएको प्रचण्ड परिवारका चिकित्सक रहेका डा. शर्माले बताए ।

सुमेरु अस्पतालमा उपचाररत खानेपानी मन्त्री बिना मगर । तस्बिर : मन्त्री बिना मगरको निजी सचिवालय
सीताको स्वास्थ्यमा सुधार भइरहेका बेला प्रचण्डकी बुहारीसमेत रहेकी खानेपानी मन्त्री बिना मगरको स्वास्थ्यमा समस्या देखिएको छ । केही दिनदेखि फ्लुले संक्रमित भएकी मन्त्री मगरको स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार अस्पताल भनाई गरियो ।
सीताको उपचार भइरहेकै धापाखेलको सुमेरु अस्पतालमा बिनालाई भर्ना गरिएको छ । सीतालाई आइसियुमा राखेर उपचार गरिएको छ भने मन्त्री मगरलाई सामान्य वार्डमा राखेर उपचार गरिएको छ।
डा. शर्माले प्रचण्ड परिवारका अरु सदस्यलाई घरमै गएर उपचार गरिरहेको बताएका छन् । प्रचण्डका नातिनातिना पनि बिरामी रहेका छन् । केही सन्चो हुने क्रममा छन् भने केहीलाई संक्रमणले दुःख दिने क्रम बढ्दो छ ।