
पोखरा- कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले पोखरामा आगामी फागुन १८ गतेदेखि क्यान इन्फोटेक मेला–२०१९ को आयोजना गर्ने भएको छ।
विश्वमा पछिल्लो समय प्रयोगमा आइरहेका सूचना प्रविधिको वृहत ज्ञान दिने उद्देश्यले प्रदेश स्तरीय क्यान इन्फोटेक मेला आयोजना गरिएको क्यान कास्कीका अध्यक्ष एवं मेला संयोजक युवराज पौडेलले जानकारी दिए।
इन्फोटेकमा वृहत सूचना प्रविधि प्रदर्शनीका साथै प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट सञ्चालन गरिने क्यान सचिव विकास भुर्तेलले बताए । सो अवसरमा कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर प्रदान गरिने भएको छ।
आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादन प्रदर्शनी तथा अन्य आइसिटीसँग नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी, मोबाइल प्रदर्शनी एवं बिक्री गरिनेछ।
यस पटकको मेलामा क्यानले दृष्टिविहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ । गत वर्षको मेलामा गृहिणीहरुलाई निःशुल्क तालिमको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ।
मेलामा सूचना प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढि स्टल रहने बताइएको छ।
मेलालाई भायनेटले मुख्य प्रायोजन गरेको छ भने इन एसोसिएसन विथमा आइएमई पे, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक ट्रेडर्सले सहकार्य गर्ने भएको अध्यक्ष पौडेलले जानकारी दिए। मेला फागुन २४ गतेसम्म चल्ने छ।