
पोखरा– पोखरामा हुँदै आएको नियमित गजल वाचनको शृंखलामा शनिबार डेढ दर्जन गजल सुनिएका छन्। वाचनको १ सय ८७ औं शृंखलामा विभिन्न गजलकारले आफ्ना गजलहरु सुनाएका हुन्।
गजल सन्ध्या पोखराले महिनाको दोस्रो शनिबार ‘गजलको उत्थानः हाम्रो अभियान’ नारास सहित डेढ दशकभन्दा लामो समयदेखि नियमित गजल वाचनको शृंखला चलाउँदै आएको छ। गजलमा कलम चलाइरहेका पुराना पुस्तादेखि भर्खर कलम दौडाउन सुरु गरेका गजलकारसम्म शनिबारको वाचनमा सहभागी बने।
गजलकारले सरकारमाथि व्याङ्ग्यमात्रै गरेनन्, खबरदारी पनि गरे। निर्मला हत्याकाण्डदेखि समासामायिक विषयमा लेखिएका गजल एकै मञ्चमा गुञ्चियो। कार्यक्रममा काठमाडौंदेखि पोखराको गजल वाचनमा सहभागी भएका बाबु त्रिपाठीले ३ गजल सुनाएका थिए। उनले ताली र वाहवाही बटुले।
डा. वसन्त गौतम, लक्ष्मण थापा, सञ्जीव पौडेल, कपील शर्मा, अल्पज्ञानीका गजलले उस्तै माया मात्रै पाएनन्, हाँसो र माहोललाई रोमाञ्चक बनायो। कार्यक्रममा रुपिन्द्र प्रभावीले बाल गजल सुनाए। बालिका अभिलासी, देवी त्रिपाठी, शिव शंकल्प, अनिका सापकोटा, कमलराज रेग्मी, ईश्वर सुवेदी, सरोज केसी लगायतले गजल वाचन गरे।
गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले गजल सन्ध्याले चलाउँदै आएको गजल वाचनको शृङ्खला एक पाठशालामात्रै नभएर निरन्तर चल्ने अभियान भएको बताए।
सन्ध्याका सचिव वसन्त विनोदले सन्ध्याले गर्ने गजल वाचनको शृङ्खला सिक्ने, वाचन गर्ने र सुन्ने साझा थलो भएको बताए। सन्ध्या र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्रा यसपाली स्याङ्जामा हुने आयोजकले जानकारी दिएको छ।
‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर माघको शृंखलामा स्याङ्जाको कोल्माबहाकोटसम्म पोखरा, तनहुँ र आसपासका अक्षरयात्री जाने अध्यक्ष सुवेदीले बताए। कोल्माका होमस्टे गाउँमा पुगेर अक्षरयात्रीले सिर्जना सुनाउने छन्।