
काठमाडौँ- डा. गाविन्द केसीको मागलाई बेवास्ता गर्दै प्रतिनिधि र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएको भन्दै त्यसको विरोधमा चिकित्सकहरुले शुक्रबारबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएका छन्।
नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रर्दशनमा उत्रने निर्णय गरेको हो।
संघले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘ शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको जानकारी गराउँदछौ- ।’
संघले केसीको जीवन रक्षार्थ देशभरका शाखा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा सञ्चालन गरेको रिले अनसशन लगायतका कार्यक्रमलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ।
यसका साथै डा. केसीको सत्याग्रहको २३ औं दिन भईसक्दा समेत सरकारले उनको जीवन रक्षाका निम्ती कुनै पनि चासो व्यक्त नगर्ने, आफ्नो शान्तिपूर्ण विरोधका कार्यक्रमहरुमा समेत घुसपैठ गर्दै वातावरणलाई खलल पुर्याउने कार्यप्रति संघले भर्त्सना गरेको छ।
आम सर्वसाधारण नागरिकको सस्तो, सुलभ र गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका लागि निरन्तर लडिरहेका सत्याग्राहीका सम्बन्धमा सरकार मौन रहनुलाई विडम्बनापूर्ण भनेको छ।
डा. के.सी.को जीवन रक्षार्थ आधारभूत मानव अधिकारको समेत पालना नगरिएको हुनाले आकस्मिक बाहेकका सेवा बन्द गर्न बाध्य भएको संघले बताएको छ।