
म घरकी जेठी सन्तान। हजुरबुवा हजुरआमा, बाबा ममी अनि काका काकी सबैबाट माया पाएकी। सानैबाट बानी अलि चुलबुले थियो। नक्कल पनि पार्नु पर्ने थियो मलाई। मैले पढाईसँगै मेरो चाहनालाई अगाडि बढाएँ।
नाच्ने सानैबाट हो म, तर कक्षा ३ मा हुँदा नाँचेको भन्दा अगाडिको कुरा याद छैन। गीत पनि सम्झिएको छु, ‘ओढनी ओढके नाँचू।’
मैले चार्टर्ड एकान्टेन्ट पढिरहेकी छु, चौथो वर्ष स्नातक चलिरहेको छ। मेरो परिवारले मलाई यो क्षेत्रमा लाग नलाग केही सिकाउनु भएन। तर उहाँहरुलाई जब मैले रणवीरमा काम गर्ने कुरा सुनाएँ, उहाँ छक्क पर्नुभयो। सानोमा ज्योतिषले म ५ दिनको हुँदा हिरोइन बन्छिन् भन्नुभएको रहेछ म २२ वर्ष हुँदा उहाँको भविष्यवाणी मिल्यो।
संयोग यही बेलामा ‘रणवीर’ मा अभिनय गर्ने मौका जुर्यो। अभिनयको शोख कसरी कसरी मनमा बसेछ, नक्कल पार्न पनि अलि अलि जानेको नै रैछु। अभिनयको क्षेत्र मैले रुचाएकै क्षेत्र परेछ, किनभने रणवीरको सुटिङ्मा मलाई त्यति अफ्ठेरो परेन।
कलाकार प्रशान्त ताम्राकारले मलाई फिल्म नगरीमा आउने खुड्किला बनाइदिनुभयो। मैले आँट गरे र आज रणवीर प्रदर्शनको हुन लागेको छ।
मैले सोचेको भन्दा फरक पाएँ, मेरो चलचित्र निर्माण टिम एकदमै रमाइलो लाग्यो। हामी धरानमा एक महिना सुटिङको लागि बस्यौँ, तर मलाई टूर गएकोजस्तो लाग्यो। धनगढीको गर्मी पनि रमाइलो भयो।
गर्न नै सक्दिनकी जस्तो लागेको थियो तर हेर्दा हेर्दै चलचित्र प्रदर्शन हुन लागेको छ।
दिनहुँ प्रमोशनमा हिड्दा अन्तवार्ता दिइरहदाँ मलाई आफैलाई ‘के भईरहेको यो’ जस्तो पनि लाग्छ। पहिलो पटक दिएको अन्तवार्ता त म सम्झन पनि सक्दिन । हा हा..
मलाई त मेरो अन्तवार्ता पनि हेर्न डर लाग्छ, तर हरेक पल्ट म आफ्नै अन्तवार्ताबाट सिक्छु।
मैले मेरो काम सकेसम्म राम्रो गरको छुँ, दर्शकबाट आउने प्रतिक्रिया बाँकि छ।