
अस्ट्रेलियाको सबैभन्दा ठूलो धन राशी रहेको तथा प्रतिष्ठित साहित्य पुरस्कारका विजेताले पुरस्कार वितरण समारोहमा सहभागिता जनाएनन् ।
उनको अनुपस्थिति रोजाइका कारण भने होइन अर्थात उनले नचाहेर समारोहमा उपस्थिति नजनाएका होइनन् ।
बेहरुज बूचानीले आफ्नो पहिलो पुस्तक, ‘नो फ्रेण्ड बट द माउन्टेन्सः राइटिङ्ग फ्रम मानुस प्रिजन’ ले एक लाख अमेरिकी डलर राशीको भिक्टोरियन साहित्य पुरस्कार जितेको हो । यस्तै उनको यो पुस्तकले २५ हजार अमेरिकी डलर राशीको गैर आख्यान विधाको अवार्ड पनि जितेको छ ।
अवार्ड वितरण समारोह बिहीबार राति भयो, तर लेखक बूचानी उपस्थित भएनन् । किनकी उनलाई अस्ट्रेलिया प्रवेश गर्न अनुमति दिइएन ।
कुर्दिस–इरानी लेखक तथा पत्रकार बूचानी आश्रयको खोजीमा थिए । शरण खोजीको यात्रामा रहेका बेला उनलाई पपुवा न्यु गिनीको मानुस आइल्याण्डको पुर्गाटोरीमा जेलमा राखियो ।
उनलाई आइल्याण्डको विवादास्पद बन्दीगृहमा सन् २०१७ को अन्त्यसम्म राखियो । अरु सयौँ व्यक्तिसँगै ६ वर्षसम्म त्यहा रहेका उनलाई त्यसपछि अर्को क्षेत्रमा सारिएको छ ।
जलमार्ग हुँदै अर्थात डुंगाको सहायतामा आश्रय खोज्दै आउनेहरुका लागि अस्ट्रेलियाको कडा नियम छ । यसरी आउनेहरु कहिल्यै पनि अस्ट्रेलियामा पुनर्स्थापित हुन सक्दैनन् भन्ने दाबी गरिन्छ । समुद्रको जोखिमपूर्ण बाटो हुँदै आउनेहरुलाई रोक्नका लागि नियम आवश्यक रहेको अस्ट्रेलिया सरकारको दाबी छ ।
बूचानीले यो पुस्तक आफू जेलमा रहेकै बेला मोबाइल म्यासेज मार्फत लेखेका हुन् । उनले ह्वाट्सएप म्यासेजका रुपमा पूरै पुस्तक लेखेका हुन् । उनले बिबिसीसँग भनेका छन्, ‘मैले कागजमा लेखिन किनकी सुरक्षा गार्डले रहेक हप्ता वा महिनामा हाम्रो कोठामा छापा मार्थे र हाम्रा चिजहरु लैजान्थे । लेखेका चिज गुमाउँछु भन्ने चिन्ता थियो, त्यसैले मैले ह्वाट्सएपमा लेख्दै पठाउँदै गरेँ ।’
उनी सन् २०१३ मा डुंगा मार्फत अस्ट्रेलिया जानका लागि पपुवा न्यु गिनी पुगेका हुन् । त्यसपछि उनी बन्धक बनाए र उनी बिस्तारै बन्दीगृहमा बुलन्द आवाज भएका व्यक्तिका रुपमा परिचित भए ।
उनले बेलायतको द गार्जियन पत्रिकाका लागि नियमित रुपमा लेख्छन् । यस्तै उनले आफ्नो मोबाइल फोनको प्रयोग गरेर डकुमेन्ट्री पनि बनाए ।
गएको वर्ष मानुस र आइल्याण्ड देश नाउरुबाट अमेरिकाले १०० सय भन्दा बढी आप्रवासीलाई आफ्नो देशमा शरण दियो । तर त्यसमा बूचानी परेनन् । उनले पपुवा न्यु गिनीमा शरणार्थीको पहिचान पाएका छन् तर त्यहाँ बस्न चाहँदैनन् । उनी आफ्नो पत्रकारिताका कारण स्थानीय सरकारी अधिकारीसँग तनाव भएपछि इरानबाट विस्थापित भएका थिए ।