
पोखरा – चिकित्सा शिक्षा विधेयक, २०७५ सरकारले आफूसँग गरेको सम्झौता विपरित रहेको भन्दै अनशनरत डा. गोविन्द केसीलाई नेपाली कांग्रेसले अनशन छोड्न आग्रह गरेको छ ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. केसीका मागलाई वर्तमान सरकारले सम्बोधन नगर्ने भन्दै अनसन छोड्न अनुरोध गरेको बताए ।
‘मुद्दा छोड्नुस् भनेको होइन । अनशन छोड्नुस भन्ने हाम्रो आग्रह हो’, उनले भने, ‘भविष्यमा बन्ने कांग्रेस सरकारले डा. केसीले उठाएका माग पूरा गर्छ ।’ डा. केसीले उठाएका माग उनका मात्रै नभई समग्र जनताले उठाएको माग भएको उनको भनाई थियो । जिम्मेवार प्रतिपक्षीका हैसियतले कांग्रेसले फरक ढंगबाट डा. केसीका माग सम्बोधन समेत गरिने प्रवक्ता शर्माले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीसँग गरेको सम्झौता कार्यान्वयन गरियोस् र उनको जीवन रक्षा होस् भन्दै कांग्रेस संसद अवरुद्ध गर्न बाध्य भएको शर्माले स्पष्ट पारे ।
‘डा.केसी अनशन बस्नुभाछ, उहाँको अनशनबाट सरकारले विधेयक परिर्वतन गरेन भने बुढा गइजालान् भनेर प्रतिपक्षीले त सोच्नु भएन’, उनले भने, ‘सरकारले संवादसम्म पनि गरेन भने कांग्रेसले दुईवटा कुरामा ख्याल गर्नुपर्छ । एउटा तपाईको मुद्दा जीवन्त छ, हामी साथमा छौँ भनेर आश्वास्त पार्ने । अर्को तपाईको स्वास्थ्य कमजोर छ, अनसन तोडौँ । तपाईँका मुद्दालाई हामी सँगसँगै लैजान्छौँ भन्ने ।’ चिकित्सा शिक्षा विधेयक संसदका दुवै सदनबाट पारित भइसकेको छ । डा. केसीको १६ औँ पटकको अनशनको शुक्रबार २४ दिन भएको छ ।
मार्सल लगाएर पारित गरिएको चिकित्सा विधेयक राष्ट्रहित विपरित भएको बताउँदै प्रवक्ता शर्माले संसदीय अभ्यासमा नेकपा सरकारले गलत अभ्यास गरेको आरोप लगाए ।
प्रधानमन्त्री वलीले आफूले गरेको गल्ती रियालाइज नगर्ने प्रवृत्ति भएका कारण समस्या आएको शर्माले बताए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गरेका गल्ति स्विकार गर्ने बानी बसिसकेकोले प्रधानमन्त्री वलीले आफ्ना आधा अध्यक्षसँग केही सिक्न सुझाव दिए ।
‘प्रचण्डले स्विकारेका दुई गल्ति छन्, एक सेना प्रकरणमा हात हाल्नु, अर्को गिरिजाबाबुलाई राष्ट्रपति नबनाउनु,’ उनले भने । बाँकी आधा अध्यक्ष वलीले प्रचण्डबाट गल्ति रियालाइज गर्न सिक्नुपर्ने प्रवक्ता शर्माको भनाई थियो ।
सम्पन्न महासमिति बैठकबाट कांग्रेसले नयाँ योजनाका साथ आफूलाई रुपान्तरणको बाटोमा हिडाइसकेको समेत प्रवक्ता शर्माले सुनाए ।