
सहिदका सपना सहिदसँगै सहिद भएको धेरैपछिको सहिद दिवसको भोलिपल्ट माघ १७ गते सन्त सत्याग्रही चिकित्सक गोविन्द केसीको आमरण अनसन तथा चिकित्सक केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न पेशागत संघ संगठन तथा विभिन्न पेशाकर्मीले आयोजना गरेको वृहत र्यालीमा म पनि बबरमहलबाट सहभागी भएँ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर गोविन्द केसीको अनसन र उहाँका मागहरूप्रति चासो राख्ने एक सचेत नागरिकका हैसियतले सधैंका अनसनलाई जस्तै यसपटकको सोह्रौं अनसनलाई पनि उत्तिकै चासोका साथ हेरिरहेकी छु। सम्भव भए जति भौतिक उपस्थिति पनि जनाइरहेकी छु। आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर बहुजन हितायका निम्ति कोही सोह्र/सोह्रपटक भोकै सुत्छ भने म सहस्रपटक भन्न सक्छु कि आजको दिनमा मेरो पुस्ताले देखेको सर्वाधिक सुन्दर दृश्य यही नै हो।
राजनीति बढो ढोंगी हुँदोरहेछ। स्वार्थी त कति कति!!
जब डाक्टर केसीको अनसनमा लोकमानसिंह कार्की, तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली तथा सुशीला कार्कीका विषय जोडिएर आए, त्यसबेला तत्कालीन नेकपा एमाले केसीकै पक्षमा उभियो। जब तत्कालीन डिआइजी नवराज सिलवालका विषयमा सर्वोच्चमा बहसपैरवी भइरहेको थियो, जब आइजिपी बनाउने खेलमा कांग्रेसले सिंगो पार्टी राजनीतिलाई दाउमा लगाइरहेको थियो, त्यतिखेर तत्कालीन नेकपा एमाले केसीसँगै थियो। यी तमाम परिदृश्यहरूका बीच तत्कालीन एमालेका कतिपय साथीहरूसँगै माइतीघर मण्डला र बानेश्वर सँगै हिंडेको सम्झिन्छु। कांग्रेस माओवादी गठबन्धन भएकाले सत्ता बाहिर रहेको एमालेले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीका विरुद्ध बढो उत्साही भएर केसीसँगै एकै लहरमा उभिने काम गर्यो।
कांग्रेसका पनि त आफ्नै स्वार्थ थिए। दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालाले पनि डाक्टर केसी मरे पनि फरक पर्दैन त भनेकै थिए।
आफ्नो स्वार्थमा तलमाथि हुँदा नेपाली कांग्रेसले पनि डाक्टर केसीको समर्थनबाट आफूलाई अलग्याएकै हो। तथापि सर्वसुलभ स्वास्थ्य शिक्षा र स्वास्थ्योपचारमा सबैको पहुँचका सम्बन्धमा भने डाक्टर केसीका मागप्रति कांग्रेसले फरक मत राखेको पाइँदैन। गगन थापा स्वास्थ्य मन्त्री भएपछि अध्यादेश ल्याएर केसीका सबै माग पूरा गर्न तयार भए पनि अध्यादेश पास गर्न पुग्ने मतको अभाव भएकाले यो काम हुन सकेको थिएन। त्यसपछिका केसीको अनसनमा माउ पार्टीले समर्थन नगरे पनि गगन थापाले केसीका मागप्रति आफ्नो ऐक्यवद्धता जाहेर गरिरहे। त्यतिखेर पास नभएको त्यही विधेयक अहिले पास त भयो तर केसीका मागको चुरो अलपत्रै पारेर पास भयो। वाचा गरे अनुरूप विधेयक पास नहुने आशंकाकै कारण त त्यस अगावै चिकित्सक केसी सोह्रौं अनसनमा बस्नुभयो।

शिक्षक तथा लेखिका सविता विमली एउटा चिर्कट्टो बोकेको निहुँमा बिहीबार केही घन्टा प्रहरी दुर्व्यवहारको सिकार बनिन्।
सोह्रौं अनसनको तेइसौं दिन अर्थात सहिदका सपना सहिदसँगै सहिद भएको धेरैपछिको सहिद दिवसको भोलिपल्ट माघ १७ गते सन्त सत्याग्रही चिकित्सक गोविन्द केसीको आमरण अनसन तथा चिकित्सक केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न पेशागत संघ संगठन तथा विभिन्न पेशाकर्मीले आयोजना गरेको वृहत र्यालीमा म पनि बबरमहलबाट सहभागी भएँ।
कार्यक्रम सकिन लागेको थियो। पकेट मनी पनि लगभग निख्रेको थियो। नजिकैको बैंक ताकेर म सलमा अल्झाएको पर्चाको पिन निकाल्दै निस्किदै थिएँ। पर्चामा लेखिएको थियो, ‘डा. गोविन्द केसीका माग पूरा गर।’ उक्त पर्चा पट्याएर त्यही पिनले खिपेर राखुँला भन्ने थियो।
निषेधित क्षेत्रका लागि घेरिएको तार राम्रोसँग कट्न नभ्याउँदै एक प्रहरी देखा परे र हातको पर्चा च्यात्न भने। बिचरो पर्चै च्यात्न पर्ने के पो थियो र त्यस्तो? ती सन्तको माग पूरा गर्दा के नै पो बिग्रिंन्छ र? र, त्यो आधाभन्दा बढी पट्टिसकेको कागज एकैछिनमा ब्यागको खल्तीमै त पस्ने थियो। बैंक बन्द हुने समय नापेर हिंडेकी म! म त्यो कागज बोकेर के नै पो गर्थें र? त्यो कागजले के गर्थ्यो? मैले कागज च्यात्न मानिनँ र उक्त कागज मैले प्रहरीलाई पनि दिइनँ। प्रहरीले जबरजस्ती गरेपछि मैले भनें कि अब म यो कागज टाउकामा लगाएर हिंड्छु।
त्यहाँ खटिएका प्रहरीका कमान्डरमध्येका एक आइपुगे डिएसपी काजीकुमार आचार्य। अनि उनकै आदेशमा प्रहरीले मलाई भ्यानमा हाल्यो र पुर्यायो तीनकुने प्रहरी चौकी। सबैभन्दा कुनामा रहेकी मेरो सबै निस्किएपछि नै झर्ने पालो आउँथ्यो। सँगैका प्रहरी नओर्लिंदै प्रहरी हबल्दार टि. चौलागाईंले भने –‘त्यसलाई तानेर झार्!’
‘मुस्कानसहितको सेवा’– प्रहरी सेवामा हाल सुनिएको सर्वाधिक लोकप्रिय नारा। प्रहरी हबल्दार चौलागाईंलाई हेर्दा लाग्यो कि यो एक दशकको शिक्षण अवधिमा मैले पढाएका कतिपय विद्यार्थी उनी जस्तै थिए। कक्षा कोठामा मैले पढाइरहेका कतिपय विद्यार्थीका उमेरका उनी अझै भन्दै थिए– पागल आइमाई! तैंले म को हो चिनेकी छेस्? तँ कहाँ आइपुगिस् थाहा छ तँलाई ? तँजस्ता धेरै देख्या छ ? यसले हाम्रो डिएसपी सापले भनेको पनि मानिन, झार् यसलाई, हान् भाँटो, थुन यसलाई भित्र!!’ उनका आँखा पनि बढो फाट्टिँदै गएका थिए ठूला ठूला भएर।
म नझर्दै मसँगै आएका दुई महिला प्रहरी र तिनै टि.चौलागाईंले घाँटीमा बेरेको सलले घाँटी कस्दै र कपाल तान्दै मलाई प्रहरी परिसरको उजुरी फाँटमा पुर्याए। कानुन व्यवसायी जीवन सुरु भएको केही समय भयो। मलाई सधैं लागिरहन्थ्यो कि प्रहरीले अनुसन्धान गर्छ, प्रतिवेदन लेख्छ, सरकारी वकिललाई बुझाउँछ, प्रहरीले तयार गरेको प्रतिवेदनभित्र रहेर सरकारी वकिलले मुद्दा दायर गर्छ। अन्ततः सरकारवादी मुद्दा किनारा भइञ्जेलसम्ममा सरकारको अभियोग प्रमाणित हुँदैन। अधिकांश सरकारवादी मुद्दामा हार्छ सरकार। सरकार हार्नु भनेको सिंगो प्रहरी प्रशासनको समग्र संरचना हार्नु पनि हो। प्रहरीले गर्ने अनुसन्धानमा त्यस्तो कुन छिद्र हुन्छ? केको अभाव हुन्छ? जसले प्रहरीले लगाएका तमाम आरोपलाई पुष्टि हुन दिँदैन। मलाई सधैं सधैं यही प्रश्ने लखेटिरहन्छ!!
हबल्दार चौलागाईंसहितका महिला प्रहरीले दुर्व्यहारका लागि क्षमायाचना गर्नुपर्ने मेरो मागलाई तीनकुने परिसरका डिएसपी गोविन्दराज काफ्लेले अहिले एसएसपी साबलाई जानकारी गराइएको र पछि संगठनभित्रकै ब्रिफिङमा यी कुरा राख्ने र प्रहरीले आफूलाई सुधार गर्नुपर्ने कुरामा थप सचेत हुने कुरा बताएपछि करिब २ः०० मा तीनकुने प्रहरी परिसर पुर्याएकी म यसरी करिब चार बजे प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाको रोहबरमा प्रहरीको कब्जाबाट मुक्त भएँ।
र, लागिरहेछ कि प्रहरीले समातेका कति अभियुक्त चाहिँ साँच्चै दोषी हुन्छन्? मुस्कानसहितको सेवा भन्ने प्रहरीले समात्ने बित्तिकै जो कसैलाई कति भोल्टको मुस्कान बाँड्दो हो?
यसको जवाफ आइजी सर्वेन्द्र खनालले दिने हो वा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले?
(लेखिका विमली पद्मकन्यालगायत केही कलेजहरुमा अध्यापन गर्छिन्।)