
काठमाडौं–चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औँ अनसनको क्रममा रहेका डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न नागरिक अगुवाहरुले अपिल गरेका छन्। नागरिक अगुवाको अपिलपछि डा. केसीले अहिले ७ बजे पत्रकार सम्मेलन गर्दैछन्। यसअघि उनी आफ्नो टिमका सदस्य तथा नागरिक अगुवाहरुसँग बैठक बसिरहेका छन्।
२४ दिन देखि आमरण अनसनमा रहेका डा. केसीलाई उनीहरुले आज एक विज्ञप्ती जारी गर्दै सरकार असहिष्णु रुपमा प्रस्तुत भएको हुँदा अनसन अन्त्य गर्न अपिल गरेका हुन्।
उनीहरुले सरकारले लोकतान्त्रिक पद्धतिमा अपनाउनु पर्ने संवाद र शिष्टता समेत नअपनाई सत्याग्रहको बलपूर्वक प्रतिकार गर्ने तथा हिंसात्मक प्रवृतिलाई बढावा दिने कार्य गरेको आरोप लगाएका छन्।
अपिलमा उनीहरुले भनेका छन् ‘सरकार छद्मभेषी अनसनकारी खडा गर्ने जस्तो कार्यमा लागेको छ। यसले सत्याग्रह जस्तो अहिंसात्मक आन्दोलन माथि हिलो छ्याप्ने डरलाग्दो प्रवृति देखाउँछ। सत्याग्रह त्यस्तो समाज र अवस्थामा प्रभावकारी हुन्छ जहाँ राज्य संस्थापनमा न्युनतम इमानदारीता हुन्छ।’
डा. गोविन्द केसीको अभियानको आफूहरुले र नेपाली जनताले उच्च मुल्यांकन गरेको भन्दै यो अभियानलाई निष्कर्षमा पुर्याउन पनि उनको आवश्यकता भएको हुँदा आफ्नो स्वस्थ्यलाई ख्याल गरेर अनसन तोड्न उनीहरुले अपिल गरेका छन्।
अपिलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना लगायत भोजराज पोखरेल, सुरेन्द्रप्रसाद चौधरी, प्रभु बुढाथोकी, डा. दिनेश प्रसाई र रवीन्द्रसिंह बानियाँले हस्ताक्षर गरेका छन्।