
काठमाडौँ–सरकारले गरेको एसएसपी बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्रप्रसाद उप्रेतीले राजीनामा दिएका छन्। शनिबार एसपीबाट एसएसपीमा बढुवा सिफारिस गर्दा उप्रेती परेका थिएनन् । उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यलयमा राजीनामा बुझाएका हुन्।
राजीनामा दिएपछि देश सञ्चारसँग उप्रेतीले भने, ‘आज आएर मलाई काम नलाग्ने, गएगुज्रेको अफिसर रहेछु भन्ने महशुस भयो, अनि यत्रो गरिमामय पदमा किन बसिरहुँ भनेर राजीनामा बुझाएको हुँ। मैले छाडिसकेपछि राम्रो मान्छे आउँछ, संगठनको अहित, सरकारको अहित गरेर बस्नुभन्दा योग्य मान्छेका लागि ठाउँ खाली गरिदिएको हुँ।’
२०५१ सालमा प्रहरी इन्सपेक्टरबाट सेवा सुरु गरेका उप्रेती २०६३ सालमा डिएसपीमा बढुवा भएका थिए । २०७१ सालमा एसपी भए पनि यस पटकको बढुवा सिफारिसमा नअटाएपछि उनी असन्तुष्ट बनेका हुन्।
एसपी उप्रेतीभन्दा पछि २०५२ सालमा सेवा सुरु गरेका टेकबहादुर तामाङ, दीपक थापा र भीम ढकाल भने एसएसपीको लागि बढुवा सिफारिसमा परेका छन्।
एसपी उप्रेतीले भने, ‘को हुनु पर्थ्यो, को हुनुहुननुथ्यो त्यो मैले भन्ने होइन, सरकारले जे गरेको छ ठीक गरेको छ। मैले आफैलाई हेरेर यो निर्णय लिएको हुँ।’