
प्रिय सुप्रिया, श्रद्धासुमन।
तिम्रो हृदयको ढोकामा मेरो मुटुले ढुकढुक गरेको आज ठिक पाँच वर्ष भइसकेछ।
हाम्रो मुटु अलग अलग भए पनि तिमीले मेरो प्रेम प्रस्तावलाई हरियो झण्डा फरफराउँदा ढुकढुकी एउटै भएको दिन म कसरो भुलुँ? झरी परेको त्यो बिहान कलेजको क्यान्टिनमा तिम्रो आँखामा डुबिरहँदा तातो चियाको कपमा मेरो ओठ चोपिएर च्वास्स पोलेको आज झैं लाग्छ। कैयौं युवतीहरुको भिडमा तिमी अलग थियौ।
सुन्दरताको दृष्टिकोणमा औसत भए पनि त्यो सुशील आनीबानी, चञ्चलता अनि तिख्खर हेराइमा मेरो मन तिम्रो मनको बस्तीसम्म अनायासमै सञ्चारित हुन पुगेको थियो।
लोलाएका आँखामा अनि तिम्रो मधुर ओठमा म जरुर पग्लिएको थिएँ नै र त्यो सुमधुर स्वरमा पनि। प्रेम सम्बन्धका पाँच वसन्त पार गरिसक्दाको पाँच वर्षायामहरु मध्ये म भिजेको त्यो पहिलो वर्षादीमा हो जुन दिन मेरो प्रेम स्वीकृत भएको थियो। भ्यालेन्टाइन डेको त्यो माघे झरी तिमीलाई यादै होला जब दुई थान फक्रेको गुलाफ दिँदा लाजले भुतुक्क भएकी थियौ। कसैले देख्ला भनेर अंग्रेजी किताबमा गुलाफ राखेर थिच्दा मेरो मन कम्ती दुखेको थिएन। त्यो दिन एक कपबाट शुरु भएको चिया पाँचौ कपसम्म पुग्दा हामी दुबैको धित मरेको थिएन। आखिर मरोस् पनि किन जब दुबैलाई प्रेमको सागरमा आँखाको इसारामा डुब्नु जो थियो अनि रित मिठो पिरतीको कायम गर्नु थियो।
चाँदनी शाहले सिर्जना गरेको गीत ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा’ भनेझैं तिम्रो सुमधुर मायाले पाँच वर्ष यताको दिनमा निकै फरक परेको छ मेरो जिन्दगीमा। यस्तो लाग्दछ कि प्रत्येक दिन नै फेब्रुवरी १४ हो। तिम्रै कारण म हरेक फूललाई गुलाफ नै देख्छु। वैशाखतिर काठमाडौँमा ज्याकारन्डाको रुखमा फूल्ने बैजनी रङको फूललाई पनि गुलाफ झैं देख्छु। फागुनमा फुल्ने लालीगुराँसलाई पनि गुलाफ झैँ देख्छु।
ती फूलका पत्रपत्रमा तिम्रो सुगन्ध नै महसुस गर्छु। हिउँदमा पातमा देखिने शितका थोपाहरु जब म देख्छु, तब तिम्रा केशहरुबाट खस्ने पानीका थोपाहरुलाई सम्झन्छु। कहीँ कतै हिँड्दा कसैको घरमा हल्का निलो रङ पोतिएको देख्दा हामी गएको पाल्पाको रानी महलको याद आउँछ।
प्रत्येक प्राकृतिक र अप्राकृतिक चिजमा म तिम्रै बिम्ब पाउँछु। बिहान उदाउने उषाको पहिलो किरणको न्यानो किरण म तिम्रो काखबाट पाइरहेको अनुभव गर्छु। जेठको उखरमाउलो गर्मीमा बरपीपलको चौतारीमा बस्दा लाग्छ कि छहारी तिम्रो कपालले दिइरहेको छ।
तिमी आज यस संसारमा छैनौँ तर पनि किन लाग्छ तिम्रो छायाँ मेरो हात समाउँदै हिडिँरहेको छ? महाभूकम्पमा तिम्रो भौतिक शरीरको अन्त्य भए पनि आखिर आत्माबीच निशब्द, निसंकोच प्रेम हुँदो रहेछ। जोडघटाउ कहिल्यै नभएको हाम्रो प्रेम यात्रा किन अल्पायुमै सकिन गयो?
भौतिक शरीर खरानीमा परिणत भए पनि तिमीले हरेक चिजबाट तिम्रो आभास दिइरहेकी छौ। जब प्रेम दिवस आउँछ मलाई आजकलको कस्मेटिक प्रेम देखेर पट्यार लागेर आउँछ। कहाँ कार्ड पसलमा पाइने कृत्रिम कार्डहरु अनि कहाँ तिमीले घन्टौँ लगाएर आफ्नै हातले बनाएको प्रेमिल कार्ड। तिमीले मेरो जन्मदिनमा आफ्नै हातले बनाएको केकको स्वाद आज पनि सम्झन्छु।
फूलहरु टिप्नको लागि होइन, हेर्नका लागि हो भन्ने मान्यता राख्ने तिमीले दिएको गमला सहितको गुलाफको बोट अझै मेरो बरण्डामा छ। थाहा छ, अहिले त्यसमा तीन वटा गुलाफ फक्रिएका छन्, अनि चारवटा कोपिलाहरु हुर्कँदै छन्। तिमीले नै फूल टिप्न हुँदैन भनेकीले तिम्रो तस्बिरमा फूल चढाउँदिन, बरु तिम्रै तस्विर गुलाफको बोटमुनि राखेको छु। हरेक बिहान गुलाफको बोटमा हालेको पानीले तिम्रो तस्विरमा छिटा लाग्दा लाग्छ कि ती पानीका थोपाहरु तिम्रै केशबाट झरिरहेका छन्।
धरहरा चढिरहँदा अचानक आएको भूकम्पले हल्लाउँदा तिमी मेरो अँगालोमा आएको नै अन्तिम आलिंगन थियो। अचानक अस्पतालको शैयामा होस खुल्दा तिमी म र तिम्रो परिवारबाट सधैँका लागि टाढा गएकी थियौ। आज यही ठूटो धराहारामुनि तिम्रो सम्झनामा गुलाफको बोट राख्दा भन्न मन लागेको छ, कसैको प्रेम यसरी अन्त्य नहोस्।
हामी साथ नरहे पनि म सधैं यही दिन धरहराको ठूटो फेदमा आएर एउटा गुलाफको बोट रोप्नेछु हाम्रो र प्रत्येक प्रेमिल जोडीको नाममा।
अलबिदा सुप्रिया।
उही तिम्रो,
सुरज ।