
प्रिय!
यी सुल्टा र सिधा मनुष्यको लोकमा म उल्टो छु, म तिमीलाई उल्टो प्रेम गर्छु। म सँधै विपरित हुने गर्छु धारको, मूल प्रवाहको। कुनै समय म बग्न चाहन्छु अनन्ततामा। यति तल पुग्न चाहन्छु कि त्यो नै अन्तिम बिन्दु होस् अन्तिम गहिराइ होस्।
मलाई गहिराइसँग प्रेम छ, म तपाईंलाई गहिरो प्रेम गर्छु। उचाइमा हुनेहरुलाई हमेशा गिर्ने डर हुन्छ तर म यति गहिराइमा छु कि म गहिराइबाट डराउँदिन, किनकि मलाई त्यहाँबाट तल खसाल्न कुनै ठाउँ छैन।
प्रिय! तिम्रो आँखाको गहिराइमा म छु। प्रिय! तिम्रो मुस्कानको गहिराइमा म छु, प्रिय तिम्रो स्निग्धताको गहिराइमा म छु। प्रिय, तिम्रो सुन्दरताको गहिराइमा म छु, प्रिय तिम्रो पवित्रताको गहिराइमा म छु। प्रिय! तिम्रो समग्रताको अन्तिममा म छु।
प्रिय! हररात म कल्पनाको गहिराइमा हुन्छु। तपाईँको चन्द्रसमान मुहार निद्राको वशमा रहँदा म त्यसलाई अपलक निहारिरहेको हुन्छु।
अनुहारमा क्रिडा गरिरहेका तिम्रा सुन्दर केशहरुलाई समेटेर कानमाथि घुसारिदिँदाको आनन्दको गहिराइमा परमात्माको सौन्दर्य छ। तिम्रो सपनामा कुनै अजीव दृश्यावलीले ल्याइदिएको स्मित हास्यले ममा कुनै आदिम बिजुलीको गहिराइलाई छुन्छ।
प्रिय! तिम्रो थोरै हलचलले ममा तुफान ल्याइदिन्छ। म आँखा चिम्लेर निदाएझैँ गर्छु। फेरि पहिलेझैँ एक आँखाले हेर्छु, अनि फेरि दुवै आँखाले।
अनि पुनः सुरु हुन्छ सुन्दरताको असीम आनन्द सागरको गहिराइमा अमूल्य मोतीहरुको खोज। म तिनै गहिराइहरुमा भ्रमण गरिरहेको हुन्छु, अजीव–गरिब दृश्यावलीसँग। म तिमीलाई कमल र चन्द्रमामा देखिदिन्छु, म तिमी पवनमा अनुभव गर्छु। पृथ्वीमा म तिमीलाई स्पर्श गर्छु। म जलमा तिमीलाई रसास्वादन गर्छु, म तेजमा तिम्रो अनुभव गर्छु।
प्रिय! प्रकृतिका कणकणमा म तिमीलाई सज्दा गर्छु। म पुलकित र आपुरित हुन्छु, म उल्टिन्छु, प्रिय, म तिमीलाई जर्रा जर्रामा समाहित पाउँछु, मेरा पूजाकोठामा तिम्रा मूर्ति र तस्बिरहरुमा पाउँछु, मैले खाने शीतल, स्निग्ध दानाहरुमा पाउँछु। वर्षातका हरेक थोपामा पाउँछु, प्रिय! म तिमीलाई बिजुलीको मिलिकमिलिकमा पाउँछु, इन्द्रेणीका सातै रङ्गमा तिमीलाई पाउँछु।
क्षितिजमा, पक्षीका चिरबिर र कुहुकुहुमा, दुबोमा परेका शीतकणहरुमा, हलोका सियोहरुमा, धानका लहैलहैमा, किसानका सुस्केरा र पसिनाहरुमा, जुवाहरुमा, तीज, दशैँ र तिहारहरुमा, क्रिसमस, रोजा, अष्टमी र इदहरुमा, नागका फणाहरुमा, बाघका पञ्जाहरुमा, कानका आवाजहरुमा, काला बादलका मुटुहरुमा, कपीका सेता पन्नाहरुमा, पृथ्वीको विशालतामा, तारमा झुण्डिएका पानीका थोपाहरुमा, प्रेयसीलाई देखेर हर्षित भएको प्रेमिका मनमा केवल म तिमीलाई देख्छु। सूर्यको श्वेत किरणमा, रक्त रश्मिमा र सुष्मामा तिमीलाई पाउँछु।
दशै दिशामा प्रिय म तिमीलाई पाउँछु। कलमका निँबहरुमा, तरबारका धारहरुमा, चकका श्वेत अक्षरहरुमा, वेदका वाक्यहरुमा, घोडाका गतिहरुमा, देशको जितमा, देशको झण्डामा, मुटुका धमनीहरुमा, बाटाका पत्थरहरुमा, पुलका डन्डी र रस्सीहरुमा, जहाजका हिलियम र पंखाहरुमा, मानवका विचारमा, मालाका धागाहरुमा, सुमेरु कञ्चनज󠄕ङ्घा र सगरमाथामा।
पृथ्वीका सातै द्विपहरुमा, फलका रसहरुमा, औषधीमा, अन्तरिक्षमा, वनस्पतिहरुमा, पवन–पातका संगीतमा,वीणाका तारहरुमा, गीतका तालहरुमा, नृत्यका मुद्राहरुमा, ध्यानका विधिहरुमा, दूर्गा, काली र चण्डीमा, गोरख शिव र विष्णुमा, म तिमी र उनीहरुमा, गण्डकी कोशी र कर्णालीमा, प्रिय केवल म तिमीलाई पाउँछु। गाडीका पाङ्ग्राहरुमा, रथका चाकहरुमा, रेलको छुकछुकमा, मैनबत्तिको रोशनीमा, दियोका किरणहरुमा, तेलको तैलतामा, आँखाका ज्योतिहरुमा, नक्षत्रका चमकहरुमा, दिनको उज्यालोमा, राताको अंधेरामा, दाउराका आगोहरुमा, दूधका घ्यूहरुमा केवल म तिमी नै देख्छु।
नयाँ पुस्तकको गन्धमा, वर्षातको प्रथममा पृथ्वीबाट उठ्ने सुगन्धमा, शराबको गन्धमा, अत्तर र गुग्गुलका वासनाहरुमा, स्त्रीशरीरको वासनामा, भोकको वासनामा, कमलका परागहरुमा, चट्टानका पानीहरुमा स्त्रीका चञ्चल आँखामा, पुरुषका बलमा, वीरहरुका वीरतामा, सुन्दरीका सौन्दर्यतामा, पिताका कर्महरुमा, माताका ममता र स्नेहमा, दाइभाइका प्रेममा, प्रेयसीका अधरमा, चुम्बनमा, मोबाइलका स्क्रिनमा, हिमालका हिउँहरुमा, अबोध शिशुका मनमा, परावाणीमा, ऊनका एकएक तन्तुहरुमा, समुद्रका छालमा, किनारमा र गहिराइमा, पर्वतका फेदी र टाकुरामा, रामकी सीतामा, हनुमानका लहुमा म केवल तिमीलाई नै पाउँछु।
म सँधै कल्पनाका गहिराइहरुमा, कविका कवितामा, नाटककारका नाटकमा, आख्यानमा, कथामा, गजलमा, नुशरतका स्वरमा, वेदमा, बाइबल र कुरानमा, ज्योतिष र खगोलमा, इतिहास र कानुन तथा तर्कमा, सत्व रज र तममा, तिक्त, अम्ल र मिठासमा, मन्त्रका ध्वनीहरुमा, प्रत्येक पाइलाका पदचापमा, पूर्वीय वायुको स्पर्शमा, सूर्यको प्रथम किरणमा, हिरा, मणि, मुगा, जवाहरात र स्फटिकमा, अनाहत नादमा, गुरु शिष्यको प्रेममा म तिमी पाउँछु। म अनन्तताका गहिराइमा तिमी पाउँछु।
तिम्रा स्वतन्त्र केशहरुले मलाई बन्दी बनाएका छन्। अनारदाने दन्तलहरले एउटा दन्तेजेल बनाएका छन्। अधरहरु हावा रोकिदिन्छन्- सृष्टि थामेर, भित्रको सुरुङमार्गबाट परा, पश्यति र मध्यमा वाणीहरु मलाई कोर्रा लगाउँछन्, तिम्रा शुष्माले उष्णताले मलाई पोल्छ, म जिब्रोमा चिप्लेर लड्छु।
म तिम्रो सूक्ष्मतामै बन्दी बनेको छु। म तिम्रो यादमा नै बन्दी बनेको छु। म तिम्रो इच्छाको बन्दी बनेको छु। प्रिय! मलाई यो बन्धक अति प्यारो छ।
म सँधै बन्दी बनिरहन चाहन्छु तिम्रो। तिम्रो स्वतन्त्रताको, तिम्रो गहिराइको। धन्य हो त्यो पीडाको अश्रु भेल, धन्य हो त्यो श्रावणको रात, धन्य हो यो धन्य शब्द धन्य हो।
प्रिय! प्रेमले आफ्नो अस्तित्व गुमाएको धेरै भयो रे। जब तिमी र म पर्वतका शिखरहरुमा ध्यानमग्न थियौँ, जब तिमी र म राराका किनारमा खुट्टा डुबाएर बसेका थियौँ जब तिमी र म अप्सराका नृत्यहरुमा र गन्धर्वका गीतमा मस्त थियौँ तब प्रेमको अस्तित्व छलछलाएर जगमगाएको थियो विश्वमा।
जबसम्म केतुकीका पातमा, मन्दिरका भित्तामा, फेसबुकका पासवर्डमा, बाँसमा बाँधेका ध्वजाहरुमा, हातका ट्याटुहरुमा, किताबका प्रथम पेजहरुमा तपाईँका र मेरा नाम थिए, जबसम्म हाम्रो जवानी थियो तबसम्म प्रेमले विश्व ढाकेको थियो।
प्रिय! जब समयका छालसँगै तिम्रा गाला र निधारमा मुजा पर्न थाले, जब मेरा केशमा सेतो रंगको प्राबल्य हुँदै आयो तब प्रेम मर्दै गयो रे। प्रेम प्रेम थिएन रे। कुनै दमित वासना थियो रे। प्रेमको अन्धोपना हो रे। तर प्रिय ! म यी कुरा मान्दिन। मेरो र तिम्रो प्रेम अझै पनि शाश्वत छ, जीवन्त छ, पवित्र छ, ऊर्जावान् छ, जवान छ, अझै पनि तिमी र मेरो प्रेम छ।
अझै पनि तिमी र म छौँ, अझैसम्म हामी छौँ, तब भन्नुस् कसरी प्रेम मर्न सक्छ? हो यो खबर झुठो हो। किनकि हामीले नै प्रेमलाई जीवन्तता दिएका थियौँ। हामीसँगसँगै प्रेमले पनि अमृत पिएको थियो साथमा, ती दिनमा पनि ऊ अमर थियो, हामी अमर थियौँ, र आज पनि ऊ अमर छ, हामी पनि अमर छौँ, र सदासदा ऊ अमर रहने छ अनि प्रिय! हामी पनि सदा अमर रहने छौँ। आऊहामी अमर प्रेम गरौँ।
प्रिय! अमरताको कथनमा कतै म तिमीलाई भूल्न नसकुँ, मयका मातहरुमा तिमीलाई भुल्न नसकुँ, नदीका संगीतको मग्नतामा तिमीलाई भूल्न नसकुँ, आफ्नै कविता गजल र लेखका अनवरत दौडमा तिमीलाई भूल्न नसकुँ, शारदीय किरणका स्पर्शमा तिमीलाई भूल्न नसकुँ, असारको हिलोमा असारे गीत गाउँदै गर्दा तिमीलाई भूल्न नसकुँ, ध्यानमा ॐको उच्चारण गर्दा तिमीलाई भूल्न नसकुँ।
बरपीपलका छायाँमा तिमीलाई भूल्न नसकुँ, तिहारे पिङमा तिमीलाई भूल्न नसकुँ, मेरा दुःख र अत्यन्त खुशीका क्षणमा तिमीलाई भूल्न नसकुँ। प्रथम रजस्वलाको चौथो दिनमा आफ्ना केश धोएर घाममा बसेकी युवतीलाई देख्दा तिमीलाई भूल्न नसकुँ, नवयुवतीका सौन्दर्यमा मग्न हुँदा तिमीलाई भूल्न नसकुँ, उनीहरुको प्रेम प्रस्तावमा तिमीलाई भूल्न नसकुँ, समाधिको परम आनन्दमा म तिमीलाई भूल्न नसकुँ।
तिम्रो याद र प्रेम सधैँ मेरो साथमा रहोस्, हमेशा मसँग कानेखुशी गरिरहोस्, मसँग लुकामारी गरिरहोस्, मलाई हँसाओस् मलाई रुवाओस्, त्यो प्रेम कहिले मलाई तिमीमा खसालोस्, त कहिले हिमालमा उठाओस्, त्यो प्रेम मलाई मानव बनाओस्, त्यो प्रेम मलाई तिम्रो बनाओस्, त्यो प्रेम सबै प्रेमीलाई सबै प्रेमीको बनाओस्। मृत्युको अन्तिम श्वासमा तिम्रै याद दिलाओस्, मृत्युका अन्तिम श्रवणहरुमा तिम्रै आवाज सुनाओस्।
आदेश!