दुनियाँकाे व्याकरण खाेटाे छ, प्रिय!

दुनियाँकाे व्याकरण खाेटाे छ, प्रिय!
+
-

प्रिय तिमी,

तिमी र म पूरै अपरिचित छौं। न मैले तिमीलाई देखेकी छु, न तिमीले नै मलाई चिन्छौ। तर, म तिम्रा लागि प्रेमपत्र लेख्दैछु।

तिमी जहाँ छौ, जुन अवस्थामा छौ- यो हावा अनि यो कायनातले मेरो सन्देश तिमीसामू पक्कै पुर्‍याउनेछ।

जीवनको यो शिशिरसम्म आइपुग्दा नि मैलै कैले तिम्रो खोजी गरिन।

किन थाहा छ तिमीलाई? किनकि मलाई विश्वास छ तिमी आउनेछौ एक दिन मेरा लागि, मेरो जिजिविषा बनेर।

मलाई थाहा छैन तिमी कुन स्वरुपमा मेरो जीवनमा प्रवेश गर्नेछौ? मेरो प्रेमी बनेर या फेरि मेरो पति? म तिम्रो न्यानो मायालाई स्वीकार गर्दै तिमीसँग बाँधिनेछु वा विवाहपश्चात हामी प्रेम गर्न थाल्नेछौं? यी सबै कुरा मैले समयलाई छोडिदिएकी छु।

तिमी कस्तो होलाउ या छौ भनेर मैले कहिले कल्पना गरिन।

म चाहन्छु मलाई तिम्रो स्वरुपसँग हैन, तिम्रो आत्मासँग प्रेम होस्, तिम्रो नयनसँग हैन, तिम्रो दृष्टिकोणसँग प्रेम होस्, तिम्रो ओठसँग हैन, तिम्रो मुस्कानसँग प्रेम होस्। मलाई तिम्रो स्पर्शसँग हैन तिम्रो कोमलतासँग प्रेम होस्।

तिम्रो हृदयको शुद्धता, निर्मलता, आत्मीयता, पवित्रता, शाश्वतताका निम्ति पागल बनूँ मन कि तिम्रो बाहिरी आवरणसँग।

लाखौं नयनबीच खोज्दैछु तिमीलाई। पहाडको कुनामा रहेको त्यो अमिट दृश्य तिम्रै परिदृश्य हो कि भनि नियाल्छु म अचेल।

के तिमीलाई मेरो पर्खाइ र मेरो व्यग्रताको आभास हुँदैन? के यो हावाको झोंकाले मेरा एहसासहरु तिमीमाझ पुर्‍याउँदैनन् र? के रातमा पिलपिलाउने ताराहरुले म तिमीलाई कुरिरहेही छु भन्ने कुरा कहिले बताउँदैनन्र? हरेक दिन शितका थोपाहरुले तिमीलाई चुम्दा तिमी केही महसुस गर्दैनौ र? म ती हावाको प्रत्येक झोंकाहरुमा छु, म घामको त्यो न्यानोपनमा छु, म त्यो झरीको स्पर्शमा पनि छु, म तिमीले फेर्ने प्रत्येक श्वासमा छु, तिमीले महसुस गर्ने हरेक एहसासमा छु। मलाई विश्वास छ, एक दिन तिमीले मलाई पक्कै चिन्नेछौ।

मलाई एकतमासले प्रकृति बन्न मन छ तिम्रो प्रेममा। कतै ज्वालामुखी अटाउन मन छ अनि भासिन मन छ।छातीमा तिम्रो प्रेमको महासागर अटाउन मन छ जहाँ तिमी मेरो मायामा पौडिन सक्नेछौ, फैलेर पोखिन सक्नेछौ।  कति स्वर्णिम छ मेरो कल्पना, कति सुन्दर छ मेरो चाहना।एकपल्ट नापी हेर त मेरो मनको धड्कनलाई। मायाले प्रतिफल खोज्दैन, मायाले अरुको मनको विवेचना गर्नेसम्मको पर्खाइ पनि गर्दैन।

माया त भावनाको गहिराइको आँकलन हो जहाँ मनसँगमात्र मनको सम्बन्ध नाप्ने गरिन्छ।तिमी मेरो मनलाई नाप्नु, म तिम्रो मनलाई नापुँला, हाम्रो मायालाई केन्द्रविन्दुमा राखेर।

प्रेमको सगरमा विचरण गर्दै प्रेमको उडान भरौंला हामी। हामी आफ्नै संसारमा रमाउँला यो दुनियाँ भुलेर।

तिमी मलाई मैले तिमीलाई गर्ने मायाभन्दा थोरै बढी माया गर्नु। म तिमीले मलाई गर्ने मायाभन्दा धेरै बढी माया गर्नेछु।

हामी एकअर्कालाई धेरैधेरै माया गरौंला।

तिमी मलाई तिम्रो ढु‌गा, वालुवा बनाउनु। म ती किनार हुँदै तिम्रो सागरसम्मको बाटो पत्ता लगाउँला।

अनि त्यो पहिलोपटकको सविनय भेटमा ममनमनै मौन भई तिम्रो माया आफ्नो जीवनमा भित्र्याउँला।

ती भेटहरुलाई हामी मायाको अभिछिन्न पलका रुपमा सँगालेर राखौंला।

मायाको फाँटमा तिम्रो आत्मीय सहयात्री भई तिम्रो मायालाई निल्ने प्रयास गर्नेछु म।

म तिमीलाई कदापि पनि आफ्नो नियन्त्रणमा राख्नेछैन। तिमी तिमी हुन स्वतन्त्र छौ।

तिमी व्यस्त रहनु तर व्यस्ततामा पनि “म तिमीलाई सम्झिरहेको छु” भनिदियौ भने म पक्कै खुसीले उफ्रिनेछु।

मलाई खुसी हुन ठूला कारण चाहिँदैन। म साना कुरामा नै रमाउँछु। म दुःखी भएकी छु भने तिमी मेरा हात समाई निधारमा चुमिदिनु।

मेरो आँखामा आँसु टिलपिलाएको छ भने तिमी सुस्तरी अँगालोमा बेर्नु मलाई।

मेरो मनले तिम्रो सामिप्यता चाहेको छ भने मेरो शिर अड्याउन आफ्नो काँध दिनु तिमी।

मेरो आँखामा आँसु टिलपिलाएको छ भने तिमी सुस्तरी अँगालोमा बेर्नु मलाई।

मेरो मनले तिम्रो सामिप्यता चाहेको छ भने मेरो शिर अड्याउन आफ्नो काँध दिनु तिमी।

अनि म जिद्धी गर्दैछु, तिमीले भनेको पटक्कै नमानी अटेरी बन्दैछु भने केही नभनी मेरो ओठमा आफ्नो ओठले स्पर्श गरिदिनू, म शान्त हुनेछु बस् तिम्रो लागि…

मैलै बारम्बार तिमी सामु मेरा सन्देश पुर्‍याउने कोशिस गरें।

माघको यो ठण्डीमा आफ्ना भावनाको छालमा पौडिएर मैले तिम्रो गहिराइसम्म यो परिणाम पुर्‍याउन प्रयास गरें।

तिमीले पढ्नु, राम्रोसँग पढ्नु अनि मेरा भावाञ्जलीलाई बेवास्ता नगर्नु। तिमीले बेवास्ता पक्कै गर्नेछैनौ, मलाई यस्तै लाग्छ।

मेरो पत्रको जवाफ लेख्छौ होला।धेरै नलेख। नलेख सुझावका वुँदाहरु, नलेख जिज्ञासाका अनुच्छेदहरु, नलेख दुनियाँका रितका कथाहरु।ती सुझावदेखि म आजित छु। हैरान छु ती जिज्ञासाका अनुच्छेददेखि। पढेकि छु इतिहासदेखिका दुनियाँका रितका कथाहरु। सक्छौ भने यति लेख।सम्वोधनको कष्ट नगर। दुनियाँले बनाएको व्याकरणको नियम खोटो छ, नअल्मलिए हुन्छ। मात्र हृदयको भाषा लेख। यति लेख, मलाई पुग्छ।

हो प्रिय, मात्र हृदयको भाषा लेख।

उही,

तिम्री प्रिया

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?